भोकतन्त्र नदेखिने लोकतन्त्र

एकदिन बादशाह अकबरले राजसभा बोलाएर भारदारहरूलाई प्रश्न गरे- ‘ल भन दिल्लीमा कागको सङ्ख्या कति होला ?’ बादशाहको अनपेक्षित जिज्ञासाले सबै अक्क न बक्क परे । कागको सङ्ख्या गन्नुको कुनै प्रयोजन नै नभएकाले कसैलाई हेक्का नहुनु स्वाभाविकै थियो । यतिकैमा वीरबल राजसभामा टुप्लुक्क देखा परे । उनलाई देख्नासाथ राजाले यही प्रश्न तेर्स्याए । बादशाहको प्रश्न झर्न नपाउँदै वीरबलले उत्तर दिए ‘पृथ्वीनाथ ! दिल्लीमा यत्तिखेर सबै मिलाएर तीस हजार नौ सय असी काग छन् ।’ यस्तो कठिन प्रश्नको सहजै उत्तर पाएपछि अकबरले सशंकित हुँदै सोधे- ‘तिमीले त गनेकै जस्तो गरी फ्याट्ट बतायौ । काग गनेर बस्ने फुर्सद तिमीलाई कहिले भयो ? कसरी गन्यौ ? यदि तिमीले भनेको सङ्ख्या एक मात्र तलमाथि भयो भने त्यति नै रुपियाँ दण्डित गरिने छ ।’ बादशाहको शंका निवारण गर्दै वीरबलले भने- ‘शहरमा कागको सङ्ख्या मैले भने जति नै हो । यदि सरकारले गन्दा कम या ज्यादा भए म जिम्मेवार हुने छैन किनभने कोही परदेश गए सङ्ख्या घट्न सक्छ, कतैबाट पाहुना आए भने सङ्ख्या बढ्न सक्छ । यो दुवै नभएको स्थितिमा भने मेरो गन्तीमा फरक पर्दैन ।’ वीरबलको तर्कपूर्ण उत्तरबाट राजा मौन भए ।

नेपालको संघीय गणतान्त्रिक व्यवस्था र वीरबलको काग गनाई ठ्याक्कै उस्तै भएको छ । नेपालको राजनीति दिल्ली, चीन, अमेरिका र युरोपका यस्तै प्रयोजनहीन काग गन्ने र उनीहरूको रंग खुट्याउनमै अलमलिएको दशकौं भइसक्यो । भारत र चीनलाई डिलर बनाएपछि मात्र नेपालमा खुद्रे व्यापार चल्छ भन्ने मानसिकतामा कहिल्यै परिवर्तन आएन । हिमालसम्मको उत्तरी सीमालाई आफ्नो देशको फैलावट मान्ने नेहरु डक्ट्रिन र हातका पाँचवटा औँलामध्ये एउटा औँला नेपाल ठान्ने माओत्सेतुङको कूटनीति उनीहरूकै देशमा खोटो मोहोर भइसक्दा पनि हामी भने पुछपाछ गरेर त्यसैलाई शालिग्राम मानेर पुजिरहेका छौँ । उत्तर-दक्षिणमा पानी पर्दा यहाँ छाता किन्नेहरूको सङ्ख्या बढ्नुको प्रयोजन पनि त्यही नै हो । खुर्सानी स्वभावैले पिरो हुन्छ । चिनी गुलियो हुन्छ भन्ने कुरा कसलाई थाहा नहोला । तर हाम्रो राजनीति हाँक्ने सारथिहरूले दशकौँदेखि खुर्सानी पिरो र चिनी गुलियो भनेर भाषण गर्दा पररर ताली पाइरहेका छन् । शनिबारपछि आइतबार आउँछ भन्नेहरू क्रान्तिकारी दरिए । बाउछोरा, दाजुभाइ, लोग्ने स्वास्नीले देशको कार्यकारी पद बाँडचुँड गरेर खाएको दृश्यलाई नेताहरूले ‘लोकतन्त्रको सुन्दर पक्ष’ भनेर धुलो उडाउँदा त्यही धुलो तिलक मानेर शेचन गर्नु आज्ञाकारी नागरिकको कर्तव्य बन्यो ।

भारत र चीनलाई डिलर बनाएपछि मात्र नेपालमा खुद्रे व्यापार चल्छ भन्ने मानसिकतामा कहिल्यै परिवर्तन आएन । हिमालसम्मको उत्तरी सीमालाई आफ्नो देशको फैलावट मान्ने नेहरु डक्ट्रिन र हातका पाँचवटा औँलामध्ये एउटा औँला नेपाल ठान्ने माओत्सेतुङको कूटनीति उनीहरूकै देशमा खोटो मोहोर भइसक्दा पनि हामी भने पुछपाछ गरेर त्यसैलाई शालिग्राम मानेर पुजिरहेका छौँ ।

सत्तारोहण हुँदा लोकतन्त्र फलेको फुलेको देख्ने सत्ताबाट झर्नासाथ लोकतन्त्रमा खग्रास ग्रहण लागेको भन्दै भाउन्न हुनेहरू अब्बल दर्जाका साधक भए । नेपालमा यस्तो लोकतन्त्र आयो कि चुनावमा तेस्रो स्थान प्राप्त गरेको दललाई सत्ताको चाबी लिएर पहिलो र दोस्रो स्थान पाएका दलहरू जुम्ल्याहात गर्न पुगे । पहिलो जनमत पाएको दल सत्ताको जागिर खान नसकेर उत्तानो परेर दिउँसै तारा गनेर बसेको छ । सत्ताको प्वालमा रसायन हाल्नु उसको दैनिकी बनेको छ । तेस्रो दल सत्ताको डाडु पन्यू समाएर बसेको छ । यही व्याकरण नमिलेको दृश्यभित्र संसार बदल्ने आँट र साहस लिएर मान्छेको रगत पानीमा अनुवाद गरेका प्रचण्डको राजनीति कमल थापाको राजनीतिक आदर्शमा विलीन भएको छ । अबको एक वर्षभित्र प्रचण्ड मुसा राजनीतिको यस्तो महानाइके हुनेछन्, त्यसबेला विजय गच्छदार, राजेन्द्र महतोको सत्ता लालसा फिका हुनेछ । सत्ता राजनीतिको सम्पूर्ण पेटी ठेक्का प्रचण्डले पाउनेछन् । भोग्दै जाँदा अब एउटा यस्तो घडी आउनेछ, सत्तालाई जागिर ठान्नेहरूले पेन्सनको सुविधा दिलाएर राजनीतिलाई विधिवत् जागिरमा रूपान्तरण गर्नेछन् । नेपालको राजनीतिमा अब के हुन्छ ? यही अमूर्त र त्रासदी प्रश्नको उत्तर खोज्दाखोज्दै नातिपुस्ता हजुरबामा परिणत हुँदा पनि भेउ नपाई धर्तीबाट बिदा हुनेछन् ।

स्याल कराउने र कुखुरो हराउनेको उक्ति नै हाम्रो राजनीतिको जमिन प्रमाणित हुनु नेपालीको दुर्भाग्य नियति दुखद हो । आफ्नो दलको भेलामा प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएर संविधानसभाको चुनाव स्विकार्ने प्रचण्डको उक्ति जति हावादारी लाग्थ्यो, कालान्तरमा त्यही सत्य साबित भयो । भर्खरै सम्पन्न महाधिवेशनमा उनको राजनीतिक स्वार्थको तप्केनी एमसीसीतर्फ ढल्किएको बुझ्न कठिन भएन । शपथ गर्दा ईश्वर शब्दबाट तर्सने कम्युनिस्ट नेताहरू होलिवाइन, चारधाम, चन्दन, अल्लाह हो अकबरदेखि बुद्धम् शरणम् गच्छामी सबै भ्याइदिन्छन् । यी कर्ममा निष्ठा नभएर व्यापारको प्रतिशत बढी छ । न्यायालयमा अहिले लगाइएको आगो र रमिता हेर्ने दलहरूको काइदा यस्तै व्यापारको प्रतिफल हो । फर्सीले चुलेसी, चुलेसीले फर्सी जे काटेपनि आखिर मर्ने नेपालीको न्याय हो । नेपालका हरेक अंग भुत्ते बनाउने रणनीतिमा प्रचण्डलाई शतप्रतिशत सफलता मिल्दै आएको छ । उनी त तातो ताउलोको हनबेर्नो हुन् । स्वर्ग र नर्क जाने बिच बाटोमा पसल थाप्नु उनको पहिलो र अन्तिम लक्ष्य हो ।

एकपटक भंग भएको मर्यादाले फेरि त्यही सम्मान पाउने अवस्था न्यून रहन्छ । माओवादीको नर्सरीमा हुर्किएर मधेसी दलको खरानी दलेका नेता बाबुराम भट्टराईमा माओवादी हुनुको पश्चात्तापको मात्रा बढी छ । त्यो समयलाई उनी नराम्रो सपनाका रूपमा बिर्सन चाहन्छन् । हिटलर, मुसोलिनी, इदिअमिन, विन लादेन, सद्दाम हुसेनदेखि जंगबहादुरसम्मका पात्र कुनै दिन दालभात डुकू पीडित थिए । यस्तै अवसरवादी र छाते च्याउजस्तो मनोविज्ञानका मानिसहरूको भीडले उनीहरूलाई निर्दयी शासक बनायो ।

उनीहरूलाई थाहा छैन लाखौँको ज्यान गएको क्रिमियाको युद्ध निम्त्याउने जड एउटा ताल्चा थियो । जेरुसेलमको एक कुनामा रहेको गिर्जाघरको ढोकामा ताल्चा लगाएर साँचो राखेपछि त्यही साँचो खोस्न बीभत्स युद्धको बीउ रोपिएको थियो । त्यस्तै फ्रान्सेली क्रान्तिमा राजपरिवार ढल्नुको कारण सम्राट् लुई फिलिपका छोरा ड्युक अफ अर्लियन्स बढी मदिरा खाएर लठ्ठ हुनुलाई मानिएको थियो ।

साँचो अर्थमा नेताहरू कार्यकर्तामाझ घोडाभन्दा अघि देखिएको बग्गीजस्ता भएका छन् । तर मुखुण्डो फेरेर अनुहार त किन किन फेरिन्थ्यो र ? आफ्नै चेला चपाटीहरुको नजरमा उनीहरू निर्देशित रोबर्टभन्दा माथि उठ्न सकेका छैनन् । बरु तिनीहरूको चरित्र दूधचोर बिरालाको जस्तो भएको छ । जसले दूध खाएको देखिँदैन तर कुटाई खाएको सबैले देख्छन् । यदि राजनीतिमा नैतिकता नामको कुनै पदार्थ जीवित हुन्थ्यो भने समकालीन राजनीतिका सारथिहरूले नाकका चालमा सत्ताको लालचा छोड्नु पर्थ्यो । मार्टिन लुथर किंग भन्छन्- ‘जहाँ सज्जन जान डराउँछन्, त्यहाँ मूर्खहरूको ठेलमठेल हुन्छ । यदि तिमी उड्न सक्दैनौ भने दौड, दौड्न सक्दैनौ भने हिँड, हिँड्न असमर्थ भयौ भने घस्र । चाहे जे सुकै गर तिमी अघि बढ्नुपर्छ ।’

हो, ओछ्यान लागेका, चार बिस काटेकाहरूमा कुर्सी मेनिया लागेको छ । विश्वको राजनीतिक ढाँचा कायाकल्प हुँदा एउटै व्यक्ति ढ्याक बनेर उपस्थित छ । सात दशकको अविराम संघर्षपछि प्राप्त संविधान उनीहरूका लागि कपाली तमसुक जस्तो भएको छ । राष्ट्रको जीवनमा गरिएको सानो भूल कति घातक हुन्छ भन्ने हेक्का उनीहरूले एकरत्ति राखेका छैनन् । उनीहरूलाई थाहा छैन लाखौँको ज्यान गएको क्रिमियाको युद्ध निम्त्याउने जड एउटा ताल्चा थियो । जेरुसेलमको एक कुनामा रहेको गिर्जाघरको ढोकामा ताल्चा लगाएर साँचो राखेपछि त्यही साँचो खोस्न बीभत्स युद्धको बीउ रोपिएको थियो । त्यस्तै फ्रान्सेली क्रान्तिमा राजपरिवार ढल्नुको कारण सम्राट् लुई फिलिपका छोरा ड्युक अफ अर्लियन्स बढी मदिरा खाएर लठ्ठ हुनुलाई मानिएको थियो ।

जिन्दगीमा जब ठूला ठूला बस्तुहरू मिल्छन् तब सानालाई भुल्ने गल्ती किमार्थ नगर्नु किनकि जुन काम सियोले गर्न सक्छ, त्यो काम तरबारले गर्न सक्दैन । चाल्र्स डिकेन्सले आफ्नो पुस्तक अल द इयर राउण्डमा लेखेका छन्- ‘कसैले बुद्धिमान कसलाई भन्ने सोधेमा जवाफ पाउनेछन्, जो सानोभन्दा सानो कुरामा ध्यान दिन्छ ।’ अबको युग अन्त्यहीन सीमा र अन्तरिक्षमा झण्डा गाड्नु नभएर चेतन मानव मस्तिष्कको युग हो । त्रिशूल, गाईको फोटो, धनुकाँड, जामा बोकेर संविधानमा अधिकारको सवाल उठाउनु भनेको असभ्यताको पराकाष्ठा हो । धर्म, संस्कृति भनेको व्यक्तिभित्रको सन्तुलन हो । आत्मानुशान हो । यो खैँजडी बनाउने विषय होइन । हिमाली भेगका जनता तराईमा जन्मेका बुद्धका अनुयायी छन् । तराइवासी हिमालय पर्वतमा विराजमान महादेवको पूजा आरधना गर्छन् । प्रकृतिले मिलाएको सन्तुलन बिगार्न खोज्नेहरू आफैँ खरानी हुने निश्चित छ ।

अंग्रेजकालिन भारतमा उतिबेलै नेपाली दूतहरूलाई गुप्तचरी गरेको अभियोगमा अंग्रेजहरुले देश निकाला गरेका थिए । सन् १८३९ मा सिम्लाका गभर्नर जनरल जर्जलर्ड अकनन्दले नेपालका महाराज राजेन्द्र विक्रम शाहलाई पठाएको चिट्ठीमा भनिएको छ- ‘….तपाञिका मानिसहरू बसिरहँदा मैले हाम्रा मजिष्टरहरुलाई हुकुम दी. जबर्दस्ति ती मानिसहरूलाई निकाल्नुपर्‍याे . तिनहरूले हाम्रा दुवै सर्कारको दोस्ती र षुलासां बेबाहार जो मैले सधैँ रहोस् भनी इरादा राष्याको थियो. उसैमा षतरा पारिदिया. नेपालबाट वकील् हिन्दुस्थानका दर्बार दर्बारमा जान्या मुनासिब केही थियेन.जरुरी चाहिन्या पनि केही होइन. तपाञिका दिल्ले देष्याको मक्सद् गुप्ति षवरसंग बन्दोबस्त होला. जब गुप्तिसंग गयाका तपांञिका मानीस्हरु सबै झिकायापछि तेस काम्लाई मिस्तर हाज्सन्का जवानि तपाञिलाई थाहा हुन्याछ.’

त्यही भात थालमा हुन्जेल भात हुन्छ तर थालबाट झरेपछि जुठो । निन्दावादका हात मुर्दावादमा उठ्न कतिबेर पनि लाग्दैन । नेपाली जनतालाई जनताको परिचयबाट नामेट गरेर दलका दलाल बनाउने प्रयास जुनसुकै दलले गर्दै आएका छन् । तर हेक्का रहोस्- चिकित्सक संघ हुन्छ तर रोगी संघ किमार्थ हुँदैन ।

सत्य के हो ? इतिहासकार जानुन् । तर आवश्यकताका नाममा एकपेट अन्नभन्दा माथिको सपना नदेखेका नेपालीका लागि राजनीतिको अनावश्यक प्रयोग किन हुन्छ ? बुझिनसक्नु छ । यो यही देश हो, जहाँ ००७ सालदेखि संविधानसभाको दुन्दुभि बजाइयो । यसै नाममा हजारौँ मान्छे मारिए । नभन्दै त्यो घडी पनि आयो । तर अपेक्षा गरिएअनुसार त्यसले समाजको प्रदूषण छान्न सकेन फलस्वरूप राजनीति धोका सिवाय केही ठहरिएन ।

साँचो लोकतन्त्रमा कसैको मान मर्दन हुँदैन । कसैबाट हुनु हुँदैन । सबैको विचार र भावना अटाउने वातावरण नै प्रजातन्त्रको न्यूनतम आधारशिला हो । भगवान् गौतम बुद्धले भन्नु भएको छ- ‘एकदमै निन्दित या एकदमै प्रशंसित मानिस न उहिले थियो, न आज छ ! न भोलि हुनेछ ।’ बुद्ध वाणी सम्झेर हामी उच-नीचबाट माथि उठ्नु आवश्यक छ । त्यही भात थालमा हुन्जेल भात हुन्छ तर थालबाट झरेपछि जुठो । निन्दावादका हात मुर्दावादमा उठ्न कतिबेर पनि लाग्दैन । नेपाली जनतालाई जनताको परिचयबाट नामेट गरेर दलका दलाल बनाउने प्रयास जुनसुकै दलले गर्दै आएका छन् । तर हेक्का रहोस्- चिकित्सक संघ हुन्छ तर रोगी संघ किमार्थ हुँदैन । आवरणमा जे देखिएपनि यथार्थ अलग हुन्छ । जतिसुकै प्रतिकूल परिस्थितिमा पनि आफ्नाे आकार बनाउने पानीजस्तै हो जनता । जुनबेला कुनै नागरिक एउटा नाङ्गो चक्कु बोकेर हिँड्दा प्रमुख समाचार बन्थ्यो, त्यो समय मोहनचन्द्र अधिकारीले पनि क्रान्तिका नाममा मान्छे ठुन्क्याउने खेती गरेकै हुन् । प्रकारान्तरमा उनले कस्तो नियतिमा आफूलाई ढाल्नु पर्‍याेयो ? सबैले देखेकै छ । मानिसका बोलीका तीन प्रकार हुन्छन् । एकथरि जिब्रोले बोल्छन् । अर्काथरि मनले बोल्छन् । अनि खाँटी मानिसहरू मन र मस्तिष्कले बोल्छन् । नेताहरू तेस्रो खाले हुन सके भने मात्र देशमा खाँटी लोकतन्त्रको अभ्यास हुनेछ ।

©[email protected]

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *