सकेसम्म अर्कोलाई क्षति पुर्याउने रणनीतिमा ओली-नेपाल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र एमालेबाटै विभाजन भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बीच अहिले छिछि-दूरदूरको सम्बन्ध छ । आफ्नो महाधिवेशनमा सबै दललाई बोलाएपनि एकीकृत समाजवादीलाई नबोलाएर एमालेले त्यसको प्रमाण पेस गरेकै छ ।
यति मात्र होइन, यसकाे प्रकटीकरण प्रतिनिधि सभादेखि विभिन्न मञ्च, सार्वजनिक समारोह तथा विभिन्न कार्यक्रमहरूमा पनि हुँदै आएकाे छ । एमाले र एकीकृत समाजवादीको नेतृत्व गरिरहेका केपी शर्मा ओली र माधवकुमार नेपालबीचको सम्बन्ध पनि सायद राजनीतिक जीवनमै सबैभन्दा तिक्त हुन पुगेको छ । वर्षाैँ सँगै बिताएका यी दुई नेताबीचको खराब सम्बन्धको आकलन उनीहरूले सार्वजनिक स्थलमा एकअर्काविरुद्ध प्रयोग गर्ने भाषा र शैलीले पनि प्रष्ट्याउँछ ।
यसबीचमा ओली-नेपालबीच कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशनका क्रममा एउटै मञ्चमा भेट भएको थियो । तर, त्यहाँ पनि दुई नेताबीच बोलचाल भएन । बरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लामो समयको संवादहीनतालाई तोड्नै ओलीसँग ‘क्रस टक’ गरे ।
छुट्टाछुट्टै पार्टीको नेतृत्व गरेकाे ५ महिना भइसक्दा पनि ओली-नेपालबीचकाे राजनीतिक तथा व्यक्तिगत तिक्तता घटेको छैन । उनीहरूले आपसको आलोचना तथा विरोध सार्वजनिक रूपमा खुलेरै गर्ने गरेका छन् । ओली नेपाललाई कम्युनिष्ट आन्दोलनको विभाजनकारी पात्र भन्छन् भने नेपाल ओली कम्युनिष्टको नाममा कलङ्क ठान्छन्/बाेल्नछन् ।
यी दुई नेता अहिले आपसलाई कमजोर पार्ने रणनीति लिँदै चुनावकेन्द्रित भएका छन् । खासगरी आपसलाई कमजोर पार्नकै लागि पार्टी प्रवेश, सुदृढिकरण तथा अभियानसमेत सञ्चालन गरिरहेका ओली-नेपाल केन्द्र छाडेर जिल्लाकेन्द्रित भएका छन् । जहाँ उनीहरूले आसन्न निर्वाचनमा ‘पत्तासाफ गर्ने’ चुनौती दिँदै आएका छन् ।
एमाले अध्यक्ष ओली काठमाडौँ उपत्यकाबाहिरका राजनीतिक कार्यक्रममा धेरै सक्रिय हुन थालेका छन् । दशौं राष्ट्रिय महाधिवेशनबाटै ‘पार्टी प्रवेश अभियान’ सञ्चालन गर्ने घोषणा गरेका ओली एकीकृत समाजवादी र पार्टी फुटाउन सहयोग गर्ने माओवादी केन्द्रलाई संगठनात्मक क्षति पुर्याउन चाहन्छन् । दुवै नेताहरू अर्कोतिर असन्तुष्ट रहेको नेता/कार्यकर्तालाई आफूतिर तानेर राजनीतिक शक्ति आर्जन गर्ने ध्याउन्नमा देखिन्छन् ।
ओलीले एमालेका १० बुँदे नेताहरूलाई भन्दा पूर्वमाओवादी नेताहरूलाई बढी प्राथमिकता दिँदै आएका छन् ।
ओली पुस २६ गते मात्रै ८औं जिल्ला अधिवेशनको उद्घाटन र सम्बोधन गर्न संखुवासभा पुगेका थिए । त्यहाँ उनले एमालेले एक्लैले बहुमत ल्याउने दाबी गर्दै सयाैंलाई पार्टी प्रवेश पनि गराए । राष्ट्रिय राजनीतिमा सिङ्गो पाँचदलीय गठबन्धन एकातिर र आफ्नो दल एमाले अर्कोतिर समान अनुपातमा रहेको विश्लेषणसहित बसेका ओलीले आसन्न निर्वाचनमा एमालेको नेतृत्वमा सरकार बन्ने दाबी दाेहाेर्याउँदै आएका छन् । एमाले नाम र चनाव चिह्न सूर्य मात्र होइन, शुरूमा माधवकुमार नेपाल पक्षमा रहेका नेताहरू पनि एमालेमै अडिएपछि एकीकृत समाजवादीलाई झट्का लागेको छ । तर, एकीकृत समाजवादीका अध्यक्ष नेपाल एमाले अबको चुनावबाट पत्तासाफ हुने अपत्यारिलो दाबी गर्न गाह्रो मान्दैनन् ।
अर्कातिर एमाओवादीबाट नेकपा बनेका तर, विभाजनपछि एमालेमै रहेका तत्कालीन माओवादी नेताहरूमार्फत माओवादीनिकट नेता/कार्यकर्तालाई पनि सकेसम्म एमालेमा तान्ने ओलीको योजना छ । एमाले विभाजनमा ठूलो सहयोग पुर्याएकाे र त्यसलाई प्रचण्डले स्वीकारिसकेकोले माओवादीबाट जत्तिसक्दो नेता/कार्यकर्ताहरू भित्र्याउने एमालेको पछिल्लो रणनीति छ । ‘प्रवेश त जुनसुकै पार्टी छोडेका नेता/कार्यकर्ताले पनि गर्न मिल्यो, तर जत्तिसक्दो माओवादीबाटै हामीले नेता/कार्यकर्ताहरू तान्ने भनेका छौँ,’ एमालेका एक पदाधिकारी भन्छन्, ‘त्यो हामीलाई सजिलो पनि हुन्छ । किनकि हामीसँग पहिल्यै पूर्वमाओवादी नेताहरू हुनुहुन्छ ।’
त्यसो त ०७७ फागुन २३ यता रामबहादुर थापा ‘बादल’ टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापालगायतका नेताहरू एमालेमै छन् । जसमा अहिले उपाध्यक्ष (बादल) सहित ३ जना पदाधिकारी छन् ।
एमाले अध्यक्ष ओलीले माओवादीलाई कमजोर बनाउने नीतिअन्तर्गत नै १० बुँदेसहित एमालेमै बस्न राजी भएका १० भाइलाई भन्दा पूर्वमाओवादी ‘लिगेसी’ बोकेका नेताहरूलाई बढी प्राथमिकतामा राख्दै आएको विश्लेषण पनि हुने गरेको छ । यसको पुष्टि एमालेको १०औं महाधिवेशनमा पनि भयो ।
यति मात्रै होइन, ओलीले एमालेमा ठूलो पूर्वलडाकु समूहसमेत प्रवेश गर्ने दाबी गर्दै आएका छन् । पछिल्लो समय एमालेले माओवादी छाडेका व्यवसायी दुर्गा प्रसाईंलाई केन्द्रीय सदस्य बनाएको छ । माओवादीनिकट नेता/कार्यकर्तालाई ठूलो संख्यामा पार्टी पवेश गराउने योजना एमालेसामु प्रस्तुत गरेपछि केन्द्रीय सदस्यमा मनाेनीत भएका प्रसाईंले माओवादीबाट निर्वाचित पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्षसहितका दर्जनौं नेताहरूलाई पार्टी प्रवेश गराएका छन् ।
विधान महाधिवेशन चल्दै गर्दा असोज १७ गते लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा रहेका नेता राजकुमार लेखीलाई पार्टीमा प्रवेश गराएका ओलीले पुस २६ गते कविलवस्तु पुगेर जनता समाजवादी पार्टी (जसपा)मा रहेका नेता मंगलप्रसाद गुप्तालाई पार्टीमा प्रवेश गराएका थिए । यस्तै पार्टीको विभिन्न औपचारिक कार्यक्रमहरूमा पनि ओलीले अन्य दलहरूबाट आएकाहरूलाई प्रवेश गर्दै आएका छन् ।
अर्कोतिर, कम्युनिष्ट पार्टीहरूलाई साम्यवादको धागोले बाँध्ने र कम्युनिष्ट आन्दोलनलाई सफल बनाउने ध्येय बोकेर गठन भएको भनिने एकीकृत समाजवादीले पनि चुनावी तयारीलाई तीव्रता दिएकै छ । एमालेप्रतिको उसको आक्रामकपन पनि उस्तै छ । अध्यक्ष माधवकुमार नेपालले पटकपटक भन्ने गरेका छन्, ‘आगामी निर्वाचनमा एमाले पत्तासाफ हुन्छ ।’ उनको दाबी छ— ‘त्यसको सुरुआत माघ १२ मा हुने राष्ट्रिय सभाको चुनावबाट हुन्छ ।’
एमालेभित्र असन्तुष्ट रहेका नेता/कार्यकर्ताहरूलाई पार्टीमा प्रवेश गराउने र राजनीतिक शक्ति आर्जन गर्ने ठूलो धोको बोकेका नेपालको पछिल्लो राजनीतिक गतिविधि पार्टी विस्तार नै छ ।
त्यसो त नेपालले जिल्ला घुमेर धेरै एमाले नेताहरूलाई पार्टीमा प्रवेश गराएका छन् । धर्मराज निरौला, यादवकुमार रायमाझी, भानुभक्त जोशी, सुवास कर्माचार्यलगायतका एमालेका नेताहरूलाई नेपालले आफ्नो पार्टीमा प्रवेश गराइसकेका छन् ।
माओवादीसँग चुनावी तालमेल गरेरै भएपनि एमालेलाई ठेगान लगाउने सपना देखेका नेपालले पछिल्लो समय साना दलहरूलाई पनि पार्टीमा समाहित गराउँदै ल्याएका छन् । नेकपा जनवादी, साध्यबहादुर भण्डारीले नेतृत्व गरेको राष्ट्रिय जागरण अभियानलगायतका साना-साना समूहलाई पनि पार्टीमा समाहित गराएका नेपालको मुख्य लक्ष्य नै सकेसम्म एमालेलाई कमजोर बनाउने रहेको देखिन्छ ।
‘एक वडा दुई सय संगठित सदस्य र एक हजार पार्टी सदस्य’ नारा दिएर पार्टी विस्तार गर्न जुटेको एकीकृत समाजवादीले एकताका लागि वार्ता समिति नै बनाएको छ । समितिले आवश्यक काम/कारबाही गरिरहेको महासचिवसमेत रहेका समितिका संयोजक डा. बेदुराम भुसाल बताउँछन् । ‘हामीले पार्टीलाई सुदृढ तुल्याउने, कम्युनिष्ट एकतालाई एजेन्डा बनाउने र कम्युनिष्ट आन्दोलनको लागि अगुवाइ गर्ने भनेका हौँ । त्यसका लागि थप काम हुँदैछ,’ भुसालले भनेका छन् ।