मृत्यु (कविता)
सूर्य उदाउँदै गर्दा बतासिएको चरोलाई
साँझसम्म ढुकेर बसेको रित्तो गुँड झैँ
वर्षौँदेखि मेरो ढोकाको अँध्यारो चेपमा
ढुकेर बसेको छ मृत्युको छायाँ,
ऊ मलाई हेर्छ
अनि सुस्तरी भन्छ
अब कति पर्खिनु पर्छ मैले
म अकमकाउँदै बोल्न खोज्छु
आवाज घाँटीबाट माथि आउँदैन
ओठहरू थर्थराउँछन्
नजरहरू धूमिल बन्छन्
आँखाहरू निस्तेज बन्दै जान्छन्
म यही बेला सोच्न थाल्छु
म को हुँ ?
कुनै बेला म आमाको काखमा लुटपुटिने बालक थिएँ,
समयले रङ थप्दै गएपछि,
म खुट्टा टेकेर हिँड्न सक्ने भएँ
स्कुले झोला समातेर पढ्न जान सक्ने भएँ
कखरा सिक्न सक्ने भएँ
दौडेर बाबासँग खेतका आलि नाप्न सक्ने भएँ
अग्ला रुख चढेर आमालाई सघाउन स्याउला झार्ने भएँ
यति हुँदाहुँदै म पनि
मान्छे बन्ने दौडमा होमिइसकेछु
समय अनि परिस्थितिले दौडाइ रह्यो
म दौडिरहेँ
मैले जति छिटो पाइला चलाए पनि
कहिल्यै भेटिनँ गन्तव्य,
थाकेर जब पाइला लर्बराउन थाले अनि पो थाहा पाएँ
जिन्दगीको दौड त लम्बेतान रेल जस्तै रहेछ,
गुडिरहने अनि गुडाइरहने
इच्छा आफैभित्र विलीन हुँदा रहेछन्
आफ्नो लागिभन्दा पनि
अरूका लागि बाँचिदिनु पर्ने रहेछ
अब म यो सब झन्झटबाट मुक्त हुँदैछु
ऊ हेर त अँध्यारो चेपमा लुकेर बसेको मृत्यु
ऊ अट्टहास गरेर हाँस्दैछ
सायद मेरो दौडको बिन्दु नजिकिँदै छ
उसले सोधेको थियो
अब मैले कति पर्खिनु पर्छ ?
उसको पर्खाइको घडी सकिएको छ,
अब, मेरो शरीर बिस्तारै चिसिँदै जाने छ…
चिसिँदै जाने छ…
धेरै राम्रो रबि✍️ 🙏अझै पर्गती गर्दै जानू तिम्ले चालेका हरेक पाएलाले एक दिन सफलता को सिखर चुमने छन।