प्रदेश २ को नाम र राजधानी तोक्न आज मतदान
काठमाडाैँ । प्रदेश २ को स्थायी राजधानी र नामाकरणका लागि आज मतदान हुँदैछ । बिहान ११ बजे बोलाइएको प्रदेशसभा बैठकमा राजधानी तथा नामाकरणसमबन्धीका प्रस्तावमाथि मतदान हुने भएकाे हाे ।
नाम र राजधानीमा सहमति जुटाउन सभामुख सरोज यादवको संयोजकत्वमा गठित संसदीय समितिले प्रदेशको नाम ४ वटा र राजधानीको नाममा ३ वटा पेस गरेपछि प्रदेशको नाम र राजधानी मतदानबाट टुङ्गो लगाउन लागिएको हो । प्रदेशसभाको आइतबार बसेको बैठकमा दलका सांसदहरूले आ-आफ्नै अडान दोहोर्याएपछि नाम र राजधानी टुङ्ग्याउन मतदान हुने भएको हो ।
आइतबारको बैठकमा प्रदेशसभा सांसदहरू बोल्ने क्रम नसकिएकाले सोमबार ११ बजे फेरि संसद् बैठक डाकिएको हो । आज सांसदको बोल्ने क्रम सकिएपछि नाम र राजधानीको छिनोफानो गर्न मतदानको समय तोकिने प्रदेशसभा संसद् सचिवालयले जनाएको छ ।
सभामुख नेतृत्वको संसदीय समितिले प्रदेशको नाम मधेस, जानकी, मिथिला-भोजपुरा र मध्य मधेस तथा राजधानी जनकपुरसहित उत्तरपूर्वमा ढल्केवर-कमला हुँदै दक्षिणमा नेपालको सीमासम्म, वीरगन्ज महानगरपालिका र वीरगन्ज, सिमरा जितपुर, निजगढ हुँदै सिम्रौनगढसम्मको भूगोल समेटिएको छ ।
प्रदेशको नाम मधेसमा जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र माओवादी (केन्द्र) को साझा प्रस्ताव हो । जानकी एमाले र नेकपा (एकीकृत समाजवादी) प्रस्ताव हो । मिथिला–भोजपुरा कांग्रेसको प्रस्ताव हो । यी सबै दलका बारा-पर्साका सांसदले भने प्रदेशको नाम मध्य मधेस भनेर छुट्टै प्रस्ताव गरेका छन् । राजधानीमा जनकपुर सबै दलको साझा प्रस्ताव रहे पनि बारा-पर्साका सबै दलका सांसदहरूले वीरगन्ज छुट्टै प्रस्ताव हालेका छन् ।
प्रदेश २ मा हाल जसपा, कांग्रेस, माओवादी (केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को संयुक्त सरकार छ । प्रदेशसभाका १ सय ७ सांसदमध्ये माओवादीले ४ सांसदलाई कारबाही गरेपछि हाल १ सय ४ सांसद छन् । प्रदेशको नाम र राजधानी टुङ्ग्याउन दुई तिहाइ मत अनिवार्य छ । यसअघि चैत २०७६ मा पनि नाम र राजधानी टुङ्ग्याउन गरिएको कुनै प्रस्तावमा दुई तिहाइ मत पुग्न सकेको थिएन ।