धेरै देशका लागि आगामी केही हप्ता जोखिमपूर्णः डब्ल्युएचओ
काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयसेसले धेरै देशका लागि आगामी केही हप्ता निकै जोखिमपूर्ण रहेको बताएका छन् । कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन विश्वभर नै अत्यन्तै तीव्र गतिमा फैलिरहेकोले केही साता धेरै देशका स्वास्थ्यकर्मी र स्वास्थ्य प्रणालीमा ठूलो दबाब पर्ने उनको भनाइ छ ।
ओमिक्रोनको फैलिने क्रमलाई रोक्न उनले सबैलाई आ–आफ्नो स्थानबाट सकिने मद्दत गर्न अपिल पनि गरे । ओमिक्रोनबाट बच्ने सहज उपाय खोप भएकाले खोप नलगाएकाहरुलाई खोप लगाउन पनि उनले आग्रह गरेका छन् ।
उनले ओमिक्रोन पछि पनि अन्य नयाँ भेरिएन्टहरु देखिन सक्ने चेतावनी पनि दिए । ओमिक्रोन र अन्य भेरिएन्टविरुद्ध अझ बढी प्रभावकारी हुने खोपको विकास भइरहेको पनि उनले बताएका छन् । उनले ओमिक्रोनलाई बेवास्ता गर्न नहुनेमा जोड दिए । यसअघिको भेरिएन्ट डेल्टाभन्दा कम खतरनाक भनेर ओमिक्रोनलाई कम नआँक्न सचेत गराएका हुन् ।
नियमित पत्रकार सम्मेलनमा उनले विश्वका धेरै मानिस अहिले पनि खोपको पहुँचभन्दा बाहिरै रहेकाले ओमिक्रोनलाई बेवास्ता गर्दा धेरैले ज्यान गुमाउनसक्ने चेतावनी दिए । ‘ओमिक्रोनका कारण विरामी अस्पताल भर्ना भइरहेका छन् र मृत्यु पनि भइरहेको छ । यो पहिलेको भेरिएन्टभन्दा कम जटिल प्रकारको संक्रमण गराए पनि यसका कारण स्वास्थ्य पूर्वाधारमा ठूलो दबाब सिर्जना गरिरहेको छ’ टेड्रोसले भने ।