सहरको विभेद (कविता)
२०७८ माघ ८ गते
सहरको विभेद
राति
चाँडै निदाउन नदिने यो सहर
बिहान
सबेरै ब्युँझाउँछ ।
हिँड्न खोज्छु म
ऊ दौडाउँछ
थाकेर थच्चिन्छु
बलजफ्ती घिसार्छ
सहर मलाई झस्काइरहन्छ ।
‘भयो’ भन्छु म
ऊ ‘भएन’ भन्छ
‘हुन्छ’ म भन्छु
ऊ ‘हुँदैन’ भन्छ
सहर मलाई झस्काइरहन्छ ।
सहर
मलाई विभेद गरिरहन्छ
अरुलाई काखा
मलाई पाखा पार्छ
अरूको उचाइ नापेर
मलाई होच्याउँछ
अरू दौडेको देखेर
मलाई खोच्याउँछ
अरूजस्तो
तँ हुन्नस् भन्छ
सहर मलाई झस्काइरहन्छ ।
सहरको यो नियमसँग
म पटक्कै राजी छैन
मेरो घोर असहमति छ
सहरको नजरमा
म केही नहुनु
पनि पक्कै केही हुनु हो
खै सहरले कहिले चिन्छ ?
म त्यो दिनको
पर्खाइमा छु ।
२०७८ माघ ८ गते
प्रतिक्रिया
2 thoughts on “सहरको विभेद (कविता)”
Leave a Reply Cancel reply
सम्बन्धित
सार्है सान्दर्भिक कविता प्रस्तुत गर्नु भयो भाई बधाई छ ! अझै यस्तै कविताहरु पस्किदै जानु होला !
अाहा❤️