भो नबोल्नु आफ्नो भाषा (कविता)
भो नबोल्नु आफ्नो भाषा
नेपाली नबोल्नु
लाजमर्दो हुन्छ हाम्रो सोसाइटीमा ।
थाहा छ अहिलेको समयमा
नेपाली भाषाको त भ्यालु नै छैन ।
मेरी आमा नपढेकी भएकाले
स्ट्यान्डर्ड मेन्टेन गर्नै सकिनन्
आज म पनि कमजोर छु यो मामलामा ।
तर म मेरा छोराछोरीलाई
नेपाली भाषा हैन अंग्रेजी सिकाउँछु
ट्युसन पठाउँछु,
अंग्रेजी सिनेमा मात्र हेर्न सुझाउँछु ।
हो अचेल हरेक आमालाई
आफ्नो भाषा मन पर्दैन
हरेक बाबुलाई छोराछोरीले
नेपाली गीत सुनेको मन पर्दैन ।
तोतेबोली फुट्नासाथ सिकाइन्छ
इन्टरनेशनल लेङ्ग्वेज ।
नानीहरूको भविष्यको सपना
इन्टरनेशनल लेभलमा देखिन्छ ।
सपनाको पनि स्तर हुन्छ आजकल
भाषाको के कुरा भो र !
सौतेनी आमामा भविष्य देखेर
आफ्नै आमालाई लत्त्याइन्छ यहाँ ।
तिमीहरू मातृभाषाको कुरा गर्छौ
जातिका कुरा गर्छौ
अनि भन्छौ नि !
भाषा बाँचे जाति बाँच्छ
जाति बाँचे संस्कृति ।
विज्ञानले चुनौती दिइरहेको बेला
तिमी किन पछि फर्किन्छौ हँ ?
यो गुलियो मातृभाषाले
ह्वात्तै डाइबिटिज बढाउन सक्छ ।
हिँड्दैछ पाइला मेट्दैछ भनेझैँ
तिमी मात्र अघि बढ, हाँक विश्व,
ढाँट आफैलाई, नक्कल गर अर्काको
थाहा छ ??
विश्व हाँक्न, दुनियाँ ढाँट्न
मातृभाषा हैन
अंग्रेजी जान्नुपर्छ ।
– जीविका अश्रु
गान्तोक, भारत ।