जो दुधे बालकसहित मतदान गर्न पुगिन्
धनगढी । सुदूरपश्चिम प्रदेश सभाको प्राङ्गणमा बुधबार बिहान राष्ट्रिय सभाको निर्वाचन अन्तर्गत मतदान भइरहेको थियो । मतदानका लागि राष्ट्रिय सभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदानस्थल आइरहेका थिए । प्रदेश सभा सदस्यले मतदान गर्ने मतदान केन्द्रमा घुइँचो थिएन ।
स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने मतदान केन्द्रमा घुइँचो थियो । कोरोना भाइरसको जोखिमलाई मध्येनजर गर्दै सामाजिक दुरी कामय गरी मतदाता लामबद्ध थिए । त्यही लाइनमा लाग्दै थिइन् बैतडीको सुर्नया गाउँपालिकाका उपाध्यक्ष लिलाकुमारी विष्ट । तर उनको साथमा दुधे बालक भएपनि उनी लाइनमै नलागेर सिधै मत खसाल्न अघि बढिन् । मतदानका लागि उनी भित्र पस्दै गर्दा धेरैको ध्यान उनीतिर तानियो । कारण, उनीसंगै पछ्यौरीले बाँधेर काखमा राखिएको नौं महिने दुधे बालक (छोरा) थियो ।
उनी जब राष्ट्रिय सभा सदस्यका तीन पदका लागि मतदान गरिरहेकी थिइन्, तब धेरैका क्यामरा तथा मोबाइलमा उनको तस्वीर कैद भइरहेको थियो । संयोग पनि कस्तो उनले आफू गाउँपालिकाको उपाध्यक्षमा निर्वाचन लडेदेखि यताका सबै निर्वाचनमा बच्चा बोक्दै मतदान गरेकी छन् ।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा उनी आफू गाउँपालिकाको उपाध्यक्षमा चुनाव लड्दै गर्दा यसरीनै काखमा छोरी बोक्दै चुनाव प्रचार गरिन् । गाउ–गाउँ छोरी लिएर हिँडिन् । त्यसपछि सोही वर्ष मंसिरमा भएको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा पनि छोरी लिएर चुनावी कार्यक्रममा सहभागी भइन् । त्यसपछि दुई वर्षअघि डोटीको दिपायलमा भएको राष्ट्रिय सभाकै निर्वाचनमा पनि उनको साथमा छोरी थिइन् । अहिले उनकी छोरी पाँच वर्ष पुगिन् । अहिले उनीसंग यताउता जाँदा नछुट्ने छोरा छ ।
उनको गाउँपालिकका अध्यक्ष गाउँपालिकाकै गाडीमा आएपनि उनी भने मतदान गर्न बैतडीदेखि सार्वजनिक गाडीमा चढेर धनगढी पुगिन् । ‘गाउँपालिकाको एउटै गाडी छ,’ उनले भनिन्, ‘त्यहाँ अध्यक्षसहित अरु मानिहरु आएपछि ठाउँ नभएपछि ६ सय रुपैयाँ भाडा तिरेर धनगढी पुगेकी हुँ ।’ उनी गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेबाट निर्वाचित हुन् भने उनको गाउँपालिकाका अध्यक्ष वीरबहादुर बिष्ट नेपाली कांग्रेसबाट निर्वाचित हुन् ।
राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस र एमाले फरक गठबन्धनमा छन् । सुदूरपश्चिम प्रदेशमा अहिले कांग्रेस, माओबादी केन्द्र र एकीकृत समाजवादी एक गठनबन्धन बनाएर निर्वाचनमा होमिएका छन् । एमाले एक्लै निर्वाचनको मैदानमा छ ।