कर्णाली प्रदेश सभा सर्वसाधारणका लागि खुला
काठमाडाैँ । अबदेखि कर्णाली प्रदेश सभा खुला संसद्को अभ्यासमा लाग्ने भएको छ । कर्णाली प्रदेश सभाले हरेक महिनाको दुई दिन सर्वसाधारणका लागि खुला गर्ने भएको छ । प्रत्येक महिनाको १५ र २९ गते संसद् खुला राख्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।
सभामुख राजबहादुर शाहीको अध्यक्षतामा बिहीबार बसेको पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो। प्रदेशसभाका सचिव जीवराज बुढाथोकीका अनुसार संसद् खुला हुनुपर्ने मान्यताबमोजिम कर्णाली प्रदेशसभा पनि खुला गर्ने निर्णय गरिएको छ । ‘अबदेखि कर्णाली प्रदेश सभाभित्र के कस्तो छ र बैठक गर्ने ठाउँ कस्तो छ सबै कुरा सर्वसाधारण नागरिकले पनि प्रत्यक्षरूपमा अवलोकन गर्न पाउने भएका छन् । सभाभित्रका सबै कुराको विषयमा जानकारी दिएर घुमाउने कर्मचारीको समेत व्यवस्था गरिएको छ,’ उनले भने ।
संसद् खुला हुनुपर्छ भनिए पनि अहिलेसम्म व्यवहारमा लागू नभएका कारण यहाँका भौतिक संरचना तथा सदन हेर्नका लागि खुला गरिने अभ्यासमा लागेको उनले बताए । खुला संसद्को अभ्यासमा लागेको सातवटै प्रदेशमध्ये कर्णाली पहिलो हो । ‘संसदभित्र बैठक हुँदाको दिनमा बैठकको पनि अवलोकन गर्ने र अन्य दिन भए हल तथा त्यहाँ भएका अन्य संरचनाको अवलोकन गर्न पाइनेछ । संसद् खुला हुनुपर्छ र संसदभित्रका गतिविधि नागरिकले पनि जान्न पाउनुपर्छ भनेर यो अभ्यासमा लागेका हौँ,’ उनले भने ।
बेलायतलगायतका देशमा संसद्को वरिपरि पर्खाल पनि नलाएर नागरिकका लागि खुला राख्ने अभ्यास भएको हुँदा खुलापनको अभ्यास गर्न जरुरी रहेको उनको भनाइ थियो । -रासस