‘सुगम’ जिल्लाका ‘दुर्गम’ दुःख : दैनिक १० घण्टा हिँडेर पढ्न जान्छन् विद्यार्थी
मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. १ खोलागाउँकी दिलमायाँ तामाङ कक्षा १० मा पढ्छिन् । उनी यो विद्यालयमा आउनुभन्दा पहिला दुर्गादेवी आधारभूत विद्यालय खोलागाउँमा पढ्ने गरेकी थिइन् ।
आधारभुत तहको कक्षा पूरा गरेपछि उनलाई पढ्नको लागि सहज थिएन । नजिकै माध्यामिक तहको शिक्षा लिन सहजै ठाउँ नभएको कारण उनी आइतबारेमा रहेको वडाको टाँडी माध्यामिक विद्यालयमा दाइ-दिदीहरूको साथमा पढ्न आउन थालिन् । उनी खोलागाउँबाट रमितेखोला पुग्नको लागि झण्डै ४ घण्टा लाग्छ । हरेक दिन विद्यालय जान र आउन समस्या भएपछि अहिले विद्यालयले सञ्चालनमा ल्याएको छात्रावासमा बस्दै आएकी छन् । उनी २ वर्ष पहिला देखि विद्यालयले विद्यार्थीहरूको लागि दुईवटा कोठामा व्यवस्थापन गरी सञ्चालनमा ल्याएको छात्रावासमा बस्दै आएकी छन् ।
रमितेखोलाबाट उत्तरपूर्वी भागमा रहेको बस्ती हो कोल्बोटे । कोल्बोटे इलामसँग सिमाना जोडिएको गाउँ हो । कोल्बोटेकी सिर्जना राई अहिले कक्षा १० मा पढ्छिन् । उनलाई कोल्बोटबाट विद्यालय पुग्न ५ घण्टा लाग्छ । बिहानै उठेर विद्यालय पुग्न ५ बजे नै खाना, खाजा बोकेर हिँड्नुपर्ने बाध्यता छ । उनी जस्तै कोल्बोटेका अन्य ७ जनाको समस्या पनि उस्तै छ ।
साबिकको रमितेखोला गाविस ५ कोल्बोटेका यी विद्यार्थीलाई विद्यालयमा पुग्न निक्कै समस्या छ । निम्न माध्यामिक विद्यालयसम्मकाे शिक्षा पूरा गरेपछि कि यहाँका विद्यार्थीले विद्यालय नै छाड्नु पर्छ भने कि त ५ घण्टाको बाटो हिँडेर मात्र विद्यालय पुग्न सक्छन् ।
विद्यालय जानका लागि बिहान ६ बजेभन्दा अघि नै तयार हुनुपर्ने बाध्यता रहेको सिर्जना बताउँछिन् । कक्षा ९ की बिनु राई पनि कोल्बोटेकै हुन् । उनलाई पनि विद्यालयसम्म पुग्नका लागि निक्कै समस्या छ । विद्यालय जाने कुराले राती पनि निन्द्रा नलाग्ने अवस्थामा रहेकी उनी बिहान साथीहरूसँग खानेकुरा लिएर निस्कने गरेको बताउँछिन् ।
रमिते खोलाको टाँडी माध्यामिक विद्यालयमा पढ्ने यस्ता विद्यार्थी झण्डै ८० जनाको हाराहारीमा रहेका छन् । विद्यार्थीको समस्या अत्यधिक देखिएपछि विद्यालयले सिर्जना ईश्वर आर्यान, बिनु सहितका कोल्बोटेका ७ जना र खोलागाउँकी एकजना विद्यार्थीलाई छात्रावासको व्यवस्था गरेको भएपनि अन्य ७० जना विद्यार्थी गाउँमा कोठा खोजेर आफन्तको बसेर पढ्ने गरेको विद्यालयले जनाएको छ ।
भौगोलिक विकटता
वडा नं. १ को पूर्वीभाग साँसबोटे, चुली, खारुबोटे, खोलेँखा, मकरा, बर्खेबाट आइतबारे विद्यालयसम्म पुग्न ५ घण्टा लाग्छ । वडाको केन्द्र रमितेबाट पश्चिमी भाग घुमाउने, तिनखोले, बाइसे, गोगने, खोलागाउँतिरका विद्यार्थीहरूलाई पनि यहाँसम्म आउनको लागि निक्कै समस्या रहेको विद्यालयले जनाएको छ ।
आउँदा र जाँदैमा दिन बित्ने गरेपछि कतिपय बजारमा कोठा लिएर बस्ने गरेको विद्यालयका प्रधानाध्यापक अमृतकुमार राईले जानकारी दिए । विद्यालय वरपर भनेको जस्तो राम्रो कोठा नभएपनि १२ सयसम्म भाडा तिरेर बस्ने विद्यार्थीहरूको संख्या पनि धेरै रहेको उनले मकालुखबरलाई सुनाए ।
विद्यार्थीको निक्कै समस्या रहेको बारेमा गाउँपालिकालाई सुनाएको भएपनि पहिला नमुनाको रूपमा सञ्चालन गर्न भनेपछि २ वटा कोठामा छात्रावास सञ्चालन गरिएको छ । यसमा ८ जना विद्यार्थीहरू २ वर्षदेखि बस्दै आएको भएपनि त्यसको क्षमता बिस्तार गर्न नसकिएको बताए । ‘हामीलाई तत्काल ६० जना विद्यार्थी अट्ने क्षमताको होस्टेल आवश्यक छ, प्रअ राईले भने, हामीले हाम्रो समस्या पालिकालाई जानकारी गराउँदा पनि सुनुवाई भएको छैन ।’ कोल्बोटे खोलागाउँ र गोगनेका विद्यार्थीहरू विद्यालय आउनेको संख्या पनि धेरै छ तर विद्यालय आउनै ४–५ घण्टा लाग्ने भएपछि समस्या रहेको उनको भनाइ छ । कक्षा ११ सम्म पढाई शुरू भएको यो विद्यालय यसै वर्षदेखि १२ कक्षा सञ्चालनको अनुमति लिएर पठनपाठन हुँदै छ । ३३६ जना विद्यार्थी रहेको यो विद्यालयलाई भौतिक विकासमा सरकारले चासो दिने हो भने विद्यार्थीको संख्या बढाउन सकिने दाबी विद्यालयको छ ।
संघीयता पछि झन् समस्या
मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष नरबहादुर राईले यहाँको समस्या विद्यार्थीको मात्र नभई समग्र नागरिकको भएको बताए । साबिकको रमितेखोला गाविस हुँदा ९ वटा वडा रहेकोमा संघीयता कार्यान्वायनमा जाँदै गर्दा एउटा वडा मात्र बनाइँदा थप समस्या आएको बताए । ‘टाढाका विद्यार्थीहरू पढ्न नआइ नहुने, आउँदा पनि समस्या नआउँदा पनि समस्या देखिएको छ’, उनले भने, ‘यस्ता समस्या समाधानका लागि तत्काल छात्रावास बनाउने हो भने विद्यार्थीको समस्या एक हदसम्म समाधान गर्न सकिन्छ ।’
साबिकको रमितेखोला गाविस अहिलेको मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ मा १० वटा सामुदायिक विद्यालय रहेको भएपनि टाँडी मावि आइतबारे मात्र माध्यामिक विद्यालय हो । यो विद्यालयमा चन्द्रोदय निमावि, चिडीभञ्जाङ सुके, दुर्गादेवी आधारभूत विद्यालय खोलागाउँ, महाभारत आधारभूत विद्यालय गोगने, सिर्जना आधारभूत विद्यालय, सफेवा, बाल कल्याण निमावि ओखलढुंगा, जनता आधारभूत विद्यालय, साजबोटे, मनोहर निमावि कोल्बोटे, सरस्वती आधारभूत विद्यालय बर्खे, हिमालय आधारभूत विद्यालय ज्यामिरेका विद्यार्थी अध्ययनका लागि जाने गरेका छन् ।
शिक्षा क्षेत्रमा अर्बौं लगानी गर्ने सरकारी संयन्त्रले विद्यार्थीका कहालीलाग्दो पीडा सुन्न पनि सकेको छैन । विद्यार्थीको पीडामा मल्हमपट्टी लगाउन तत्काल एउटा बासको व्यवस्था गर्ने मात्र हो भने पनि पढ्न दैनिक १० घण्टा हिँड्ने विद्यार्थीले राहतको अनुभव गर्ने थिए ।