ब्लग

अब त जागिर छोडेर घरमै बस्ने होला नि !

आफ्नो टीकाटालोको निम्तो दिन एक आफन्तलाई फोन गरेँ । हालखबरको औपचारिकता सकिने बित्तिकै मैले आफ्नो टिकाटालो गर्न लागेको जानकारी र कार्यक्रममा उपस्थित भइदिन अनुरोध गरेँ । उहाँले समय नभएको जवाफ दिनुभयो । सकेसम्म समय मिलाउन अनुरोध गरेँ । उहाँले प्रश्न गर्न थाल्नुभयो । कुनै अन्तर्वार्ता जत्तिकै र जस्तै ।

उहाँ : कहाँको केटा ?
म : काभ्रेको ।
कुन गाउँ ?
म : गाउँ भन्छु ।
उहाँ : केटा के थरी ?
म : केटाको थर भन्छु ।
उहाँ : कतिजना दाजुभाइ ?
म : चार ।
केटा कुन भाइ ?
म : कान्छा ।
उहाँ : केटा के गर्ने ?
म : शिक्षक ।
उहाँ : सरकारी कि निजी ?
म : निजी ।
उहाँ : कुन स्कुल हो नि ?
म : विद्यालयको नाम बताउँदै आवासीय विद्यालय भएकाले विद्यालयमै बस्ने गरेको जानकारी दिएँ ।
उहाँ : अलि व्यङ्ग्यको शैलीमा, ए सरकारी होइन पो ?
म : होइन ।
उहाँ : ए दुवै जना जागिरे हुने भएछौँ तर तिमीले त अब जागिर छोड्ने होला नि त ?
म : छोड्दिनँ ।
उहाँ : तिम्रो त कती नै होला र आम्दानी ?
म : ठिकै छ मलाई पुगेकै छ । फेरि भर्खरै त थाल्दैछु काम ।
उहाँ : अनि बिहे गरेर पनि तिमीलाई एक्लै बाहिर बस्न देलान् त ?
म : मिलाउनुपर्छ नि । अब घरबाटै त काम गर्न गाह्रो हुन्छ । काम त गर्नैपर्छ ।
उहाँ : अनि बिहे पछि त गाउँकै घरमा नै बसाउलान् नि तिम्लाई

अब भने मलाई अनावश्यक चियो र मलाई शहरीयासँग बिहे नगरेकोमा अप्रत्यक्ष रूपमा घोचपेच गरेको बुझ्न गाह्रो भएन । मैले अँ भनेर फोन राखिदिएँ । उहाँका प्रश्नको उत्तर वा सवालजवाफ भन्दा पनि उहाँको मनले बनाएको मेरो भविष्यबारेको हाइपोथेसिस सही भएको भनिदिँदा उहाँ पक्कै खुशी हुनु नै भयो होला ।

फोन राखेपछि मनमा अनेक तर्कना आइरहे । किन यति विघ्न चासो भएको होला भन्नेदेखि लिएर छोरीले बिहे पछि पनि कामलाई निरन्तरता दिने नदिने, बिहे गरेको घरभन्दा बाहिर बस्ने नबस्ने भन्ने कुरा त उमेर पुगेर आफ्नो जीवनको बारे निर्णय गर्न सक्षम भएका छोरीहरूलाई नै छोडिदिए हुँदैन र ? आखिर जिन्दगी बिताउने स्वयम व्यक्ति भन्दा बढी जिम्मेवार अर्को मानिस हुन सक्ला र ? अर्कातिर, आफ्ना बाआमा वा दाजुभाइ दिदी बहिनी सहमत छन् भने अझ बाहिरका लागि कति विधि चासो होला ? किन कसैको निर्णयमा घोचपेच गर्ने र हेप्ने तरिकाले प्रस्तुत हुन्छन् होला ?

यस्ता प्रश्नको सामना गर्ने म मात्र पक्कै होइन । अझ अभिभावकले खोजेको होइन आफैँले रोजेको मान्छेसँग घरजम गर्ने निर्णय गरेकाहरू त यस्ता बचन र अनावश्यक सोधखोजबाट बढी नै प्रताडित हुनुपर्छ । बा आमाले खोजिदिएको केटासँग खुरुक्क बिहे नगरेर….. सम्म भन्ने गरिन्छ ।

कहाँ बस्ने, केटाको घरमा को को, बिहे पछि कहाँ बस्ने घरमै कि बाहिर, कती जना दाजुभाइ, जागिर कसले छोड्ने, काठमाडौँमा घरजग्गा छ की छैन, सर सामान मागेको छ की छैन, के के कती दिने तयारी छ ? के के हुन् हुन् प्रश्नहरू पनि ।

उहाँलाई मात्र होइन अरूहरूलाई पनि निम्ता गर्दा होस् वा बिहेको जानकारी गराउँदा वा प्रसङ्गवश विवाहको कुरा आउँदा यस्ता बग्रेल्ती प्रश्नहरूले मलाई धेरै कुरा बताइदियो । मलाई एक केटीको हैसियतले आफ्नो औकात देखाइदियो । यी कति वर्षदेखिका रेडिमेड प्रश्नहरू होलान् ? यी कहिले हराउलान् हाम्रा मस्तिष्कबाट ? एउटा उमेर, अध्ययन भोगाइ हर हिसाबले परिपक्व भइसकेको मानिसले गर्ने निर्णयलाई स्वागत गर्ने र शुभकामना दिने नभई अनेकौँ प्रश्नको जालोभित्र किन अल्झाउन खोजिन्थ्यो हेला र ? यी तमाम प्रश्नका खातहरू जुन म अघि तेर्सिएका छन् त्यसको जवाफमा पनि मेरो मस्तिष्कमा अनेकौँ प्रश्न नै जन्मिए । एउटा केटीले विवाह भएपछि आफ्नो कला, सीप, बल, बुद्धि, पढाई, अनुभवले बनाएको परिचयलाई तत्काल मेटाएर फलाना कि श्रीमती मात्र भएर बस्नुपर्ने हो र ? अनि काठमाडौँमा घर नभएकासँग विवाह गर्न नमिल्ने वा काठमाडौँमा घर भएका सँग बिहे गरेपछि बाँकी कुरा जेजस्ता भएपनि हुने हो र ? विवाहपछि महिलाले आफै कमाएर आफू भएर नै बाच्न नपाउने हो र ? के एउटा छोरी मान्छे आफू पालिन नसक्ने भएर परनिर्भर भएरै मात्र विवाह गर्ने हो र ? यदि यस्तो होइन भने यी अनेकौँ प्रश्नको साटो बिहे पछिको जीवन व्यवस्थापनका लागि उपयोगी कुराहरूबारे सरसल्लाह सुझाव र अनुभव साट्नु नि ।

यतीले मात्रै रोकिएन यो सिलसिला काठमाडौँमा दाइजोले कोठा भरिदिने प्रसङ्गका प्रश्न झन् सही नसक्नुका छन् । अझै केटाले कती गरगहना र कस्ता लुगाफाटा ल्याउला भन्ने सम्मका कुरा छन् । मलाई थोरै पनि आशा छैन कि बिहे पछि मेरो जीवनमा अब अचम्मैको परिवर्तन वा उथलपुथल नै हुनेछ । मानौँ कि विवाह भनेको अर्को जन्म सरह हो भनेर किन व्याख्या गरिन्छ म बुझ्दिन । चिनजानकै व्यक्ति अझै भनौँ साथीसँग विवाह गर्न लागेकोले पनि यस्तो कुनै असहज महसुस नगरेकी मैले यी प्रश्नका पोकाहरू पछि भने बेलाबेला बढो दिक्दारी महसुस गरेँ ।

आफूले हलुका रूपमा लिन नसके मानसिक समस्या नै आउला भन्ने डर । एकसमय टुटल पठाओ जस्ता सेवा लिएर आउजाउ गर्ने कुरालाई नबुझेर एकजना काकीले फरकफरक केटाले बाइकमा ल्याएर घरमा छोडिदिने गरेको खबर गिज्याइदिएको कुरा सम्झिएँ । यसले मेरो व्यक्तिगत जीवनमाथि र मेरो दिमागमा समेत ठूलो असर पर्‍यो । कत्तिले मलाई सोधे पनि । सबैलाई म यस्तो हो अथवा यसो चाही भएको हो भनेर स्पष्टीकरण दिएरै साध्य लागेन । लज्जित हुनुपर्‍यो ।

मानिसलाई अरूको चियोचर्चो गर्ने बाध्यताले खुशी हुनै नदिने रहेछ । नत्र विवाह जस्तो नितान्त व्यक्तिगत कुरा जुनमा बधाई दिनु बाहेक अरू केही कुराको आवश्यकता नै पर्दैन यसोमा मानिसलाई मानसिक रूपमा विक्षिप्त बनाउने प्रसङ्ग अनावश्यक केरकार किन आवश्यक पर्थ्यो होला र ? विवाहपछि कहाँ बस्ने, कसले जागिर खाने ? कसले पढ्ने ? यो एउटा विवाहित दम्पतीले आफै निर्णय गर्न पाउँदैनन् र ? यसको स्पष्टीकरण दुनियाँलाई दिँदै हिँड्नुपर्ने हो र ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *