नवराज कार्कीकाे कविता – ‘कालीगण्डकी : चार टुक्रा’
२०७८ माघ १७ गते
(१)
ओरालो छ यात्रा जीवनको, नदीजस्तै
अविरल बहन्छ नदी पनि, दिनजस्तै
नदी उही हो, दिन उही हो, तर हैन
नयाँ लाग्छ हरेक दिन, त्यो नदीजस्तै ।
(२)
थाहै छ, के हुन्छ यदि, नदी बहुलायो भने
नदी पनि बहुलाउँछ नि, मान्छे बहुलायो भने
आफ्नै सुरमा बग्न देऊ, पवित्र गंगालाई
नदी रिसाउँछ थुन्यो भने, कतै कोट्यायो भने ।
(३)
गाईलाई पूजा गर्नेकै गाईहरू कुपोषित छन्
नदीलाई पूजा गर्नेकै नदीहरू प्रदूषित छन्
केही भएन खै ? पूजा र प्रवचनले
जहाँ रामहरू उपेक्षित छन् र रावणहरू विभूषित छन् ।
(४)
माया हो छेपाराले चाटीचाटी, दर्शन ढुंगालाई चम्काउँछ
माया हो छालले काटीकाटी, कालीले शालिग्राम बनाउँछ
चोटहरू तिखो छिनाकै भए पनि, मायैमायामा दिनाले
ढुंगो पनि मूर्ति बनेर मुस्कुराउँछ ।
० ० ०
-म्याग्दी, हालः अमेरिका
याे पनिः
२०७८ माघ १७ गते
प्रतिक्रिया
सम्बन्धित