यौनिक तथा लैंगिक अल्पसंख्यक भन्छन्, ‘अझै समानता पाइएन’
काठमाडाैँ । नेपाल परिवार नियोजन संघले यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्तिका समानताका लागि विशेष गरी वैवाहिक समानता (समलिंगी विवाह), पहिचान तथा नागरिकता विषयलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ ।
यसका लागि संघले ‘विज्ञ कार्य समूह’ (थिंक ट्यांक) गठन गरी निरन्तर पैरवी गर्न शुरूवातसमेत गरेको छ । गत पुसमा गठित सो समूहमा यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्तिका अधिकारका क्षेत्रका निरन्तर वकालत तथा पैरवी गर्दै आएका विभिन्न संघसंस्था तथा विशेषज्ञको संलग्न छन् ।
अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघको आर्थिक एवं प्राविधिक सहयोगमा संघद्वारा काभ्रेपलाल्चोकको धुलिखेलमा आयोजित ‘नेपालमा यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्तिका समनताका लागि पैरवी विषयक कार्यशाला’मा सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्न यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्तिका समानताका लागि राज्यले विशेष कार्ययोजना बनाई कार्यान्वयन गर्न जोड दिइयो । दिगो विकास लक्ष्यका शिक्षा, स्वास्थ्य, खानेपानी, ऊर्जालगायत १७ सूचांक हासिल गर्न नेपालसामु धेरै चुनौती छन् ।
कार्यक्रममा सहभागी ‘थिंक ट्यांक’का सदस्यले यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्तिका समानताका लागि तीनै तहका सरकार, नीति निर्माता, राजनीतिक दल तथा नागरिक समाजले प्राथमिकता दिन नसकेकामा चिन्ता व्यक्त गर्दै आगामी दिनमा समानताका लागि निरन्तर पैरवीको खाँचो औँल्याएका थिए । यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्तिका पहिचानलाई स्थापित गर्न, उनीहरूलाई शिक्षा, स्वास्थ्य तथा रोजगारीमा आरक्षणको व्यवस्था मिलाउन, वैवाहिक समानता (समलिंगी विवाह) लाई मान्यता दिन, सदनमा विचाराधीन नागरिकतासम्बन्धी विधेयकलाई संशोधन गरी पारित गर्न सहभागीले जोड दिएका थिए ।
‘हर्मोन क्लिनिक’ सञ्चालनको तयारी
संघका अध्यक्ष हिमालयलाल कसजुले सुरक्षित गर्भपतन सेवालाई कानुनी मान्यता दिलाउन संघले अगुवाइ गरेको चर्चा गर्दै आगामी दिनमा यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्तिका समानताका लागि निरन्तर पैरवी गर्ने जानकारी दिए । विसं २०५९ मा सुरक्षित गर्भपतन सेवालाई पहिलोपटक कानुनी मान्यता प्रदान गरिएको थियो । यसपछि सुरक्षित गर्भपतनसम्बन्धी राष्ट्रिय नीति २०६० कार्यान्वयनमा आएको थियो भने यही नीतिका आधारमा विसं २०७३ देखि स्वास्थ्य मन्त्रालयद्वारा सूचीकृत सस्थामा सो सेवा निःशुल्क प्रदान गरिँदै आएको छ । यसैगरी संघले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५, नियमावली २०७७ र सुरक्षित गर्भपतन सेवा कार्यक्रम व्यवस्थापन निर्देशिका २०७८ जारी गराउन सरकारलाई सहयोग गरेको थियो ।
संघका व्यवस्थापक डा. नरेशप्रताप केसीले विशेष गरी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि ‘हर्मनन क्लिनिक’ सेवा सञ्चालन गर्ने प्रयास गरिने जानकारी दिँदै यसबाट विशेष गरी ‘हर्मोन चेन्ज’ गर्नेका लागि सहयोग पुग्ने बताए । संघका कार्यक्रम व्यवस्थापन सुवासचन्द्र श्रेष्ठले यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्तिका समानताका लागि निरन्तर पैरवी गर्ने जानकारी दिए । उनले भने, ‘कोभिड–१९ महामारी, प्राकृतिक विपद्का अवस्थामा पनि यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सेवा निरन्तर जारी रह्यो ।’ सन् २०२० मा ३३ लाख ६० हजार सेवाग्राहीलाई संघले आफ्ना क्लिनिकमार्फत यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सेवा प्रदान गरेको जनाइएको छ ।
संघका काठमाडाैँ उपत्यका शाखाका वरिष्ठ कार्यक्रम संयोजक शरद अर्यालले यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्तिका समनताका लागि विशेष गरी वैवाहिक समानता, पहिचान तथा नागरिकताका मुद्दालाई उठान गर्न आवश्यक रहेको सुझाव दिए । उनले भने, ‘यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्तिका यौन तथा प्रजनन अधिकारका क्षेत्रमा संघले निरन्तर पैरवी जारी राखेको छ ।’
वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. स्मिता कर्माचार्यले ‘हर्मोन चेन्ज’बाट उत्पन्न हुने समस्या र तिनका समाधानका उपायका बारेमा जानकारी दिएका थिए । तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेले जनगणनामा यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्तिका यकिन तथ्यांक आउन नसक्ने जानकारी दिँदै यसका लागि अलग राष्ट्रिय सर्वेक्षणको आवश्यकता औँल्याए । उनका अनुसार विसं २० ७८ को जनगणनामा ‘अन्य लिंगी’का रूपमा गणना गरिएको थियो । विसं २०६८ जनगणनामा सो समुदायको सङ्ख्या ८०० रहेको उल्लेख छ ।
‘संविधान सजावट गर्ने वस्तु होइन, कार्यान्वयन हुनुपर्छ’
सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्तिका नागरिकता, पहिचान र विवाहका विषयमा सर्वोच्च अदालतका आदेश फैसला कार्यान्वयनको खाँचो औँल्याए । उनले भने, ‘संविधानको भावनाअनुसार यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्तिलाई शिक्षा, स्वास्थ्य र रोजगारीका लागि विशेष व्यवस्था गर्नुपर्छ । यसले मात्र सामाजिक विविधता बलियो बनाउँछ ।’ यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका हकअधिकारका क्षेत्रमा लामो समयदेखि निरन्तर पैरवी एवं वकालत गर्दै आएकी मनिषा ढकालले कार्यक्रमको सहजीकरण गर्दै विविध कारणले पछाडि पारिएको यौनिक तथा लैंगिक समुदायलाई एकजुट भई आफ्नो अधिकारका लागि खुलेर अगाडि आउन आग्रह गरे । उनले भने, ‘संविधान प्रदत्त अधिकार प्राप्त गर्नु नैसर्गिक अधिकार हो, यौनिक तथा लैंगिक समुदायको पहिचान, विवाह तथा नागरिकताका लागि सवालमा थप पैरवी आवश्यक छ ।’
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका अधिकारकर्मी भूमिका श्रेष्ठले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका यकिन तथ्यांकका लागि सर्वेक्षण आवश्यक रहेकामा जोड दिँदै वैवाहिक समानता, पहिचान तथा नागरिकताका विषयमा सरकारको ध्यान जानुपर्छ भने ।
कार्यक्रममा ब्लु डायमण्ड सोसाइटीका उपाध्यक्ष उमिषा पाण्डेले यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्तिका संविधान प्रदत्त अधिकार हनन भइराखेको छ भने । उनले भने, ‘यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्तिका अधिकार स्थापित गर्न वैवाहिक समानता, पहिचान तथा नागरिकता पाउनुपर्छ ।’ कार्यक्रममा दैलेखको गुराँस नगरपालिकाले यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्तिका लागि पनि सामाजिक भत्ता वितरण शुरू गरेको जानकारी दिइएको थियो । दिगो विकासका लागि राष्ट्रिय अभियानका दयासागर श्रेष्ठले नेपालले दिगो विकासका लक्ष्य हासिल गर्न धेरै चुनौती रहेको बताए ।