ढुंगामा कुँदिएको बुद्ध मूर्तिको प्राणप्रतिष्ठा सम्पन्न
काभ्रे । काभ्रेको पनौती नगरपालिकास्थित त्रिवेणीघाट नजिकैको भित्तामा ढुंगामा कुँदिएको बुद्ध मूर्तिको प्राणप्रतिष्ठा (ह्राप्ने) सम्पन्न भएको छ । सडक बिस्तारको क्रममा सडक भित्तामा भेटिएको उक्त ढुंगामा करिब डेढ महिना अगाडि देखि शुरू गरिएको शाक्यमुनि बुद्ध मुर्तिको प्राणप्रतिष्ठा (ह्राप्ने) धर्म गुरु लामा पेमा घिसिङ र औपचारिक कार्यक्रमको उदघाटन पनौती नगरपालिकाका प्रमुख श्री भीम न्यौपानेबाट मिति २०७८ माघ १७ गते सम्पन्न भएको हो ।
पनौतीमा रहेका तामाङ तथा गैर-तामाङ सहितको उपस्थिमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहेका पनौती नगरपालिकाका प्रमुख श्री भीम न्यौपाने, पनौती तामाङ सेवा समितिका सचिव हुत्तमान घिसङ (दावा), चित्रकार उत्तरमान घिसिङ र आर्थिक सहयोगी विशाल थिङले मन्तव्य राखे ।
मन्तव्य राख्ने क्रममा आर्थिक सहयोगी विशाल थिङले जानी नजानी आफूले गरेको सहयोगबाट ठूलो काम बन्न पुगेको भन्दै खुसी व्यक्त गरे । थाङका खाइपा उत्तरमान घिसिङले प्रयास गरेपछि जे पनि सफल हुने रहेछ भन्दै पनौती तामाङ समाजको साथ अझै अगाडि देखि नै भएको भए अझ बढी मेहनत गरेर अझ राम्रो मूर्ति तयार गर्नमा प्रोत्साहन मिल्ने विचार राखे । तामाङ सेवा समितिका सचिव हुत्तमान घिसिङले पनौतीमा स्थायी बासिन्दाका रूपमा तामाङहरूले विगतमा सांस्कृतिक र धार्मिक अवसरको प्रयोगमा पीडित रहेपनि अबका दिनमा समान अवसर हुनेमा आशा व्यक्त गर्दै पारिवारिक पहलबाट निर्माण भएको भए पनि उद्घाटनपछि उक्त बुद्धमुर्तिको संरक्षण गर्ने जिम्मा पनौती नगरपालिकाले लिनुपर्ने विचार राखे ।
कार्यक्रमका प्रमुख अतिथि पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले सबै जाती, धर्म र संस्कारले सम्पन्न पनौती नगर रहेकोले सबैको सम्मान गर्ने प्रतिवद्धता व्यक्त गर्दै निर्माण भएको उक्त बुद्ध मुर्तिबाट पनौतीमा थप धार्मिक सम्पदा थपिएकोमा खुसी व्यक्त गरे । साथै उक्त शाक्यमुनि बुद्धमिर्तिको संरक्षण गर्ने जिम्मा पनौती नगरपालिकाले लिने विश्वास व्यक्त गरे । अनौपचारिक कार्यक्रममा एक घण्टा धर्मगुरु लामा पेमा ग्याछोबाट प्रवचनसमेत सम्पन्न भयाे ।