शेखर विकल्पको कविता– कालीगण्डकी
सुनकै सिक्रीले बाँधे पनि
बन्धन- बन्धन हुन्छ,
स्वतन्त्र बहिरहेको बहावलाई
पिँजडामा थुनेर तिमी
कस्तो स्वतन्त्रता चाहन्छौ ?
परिवर्तनको नाउँमा
वनको चरीलाई घरमा
ल्याएर पाल्न नखोज
जसको स्थान जहाँ हो त्यही रम्न देऊ !
हिउँ हिमालमै सुहाउँछ
बालुवा मरुभूमिमै सुहाउँछ
ए मानिस
परिवर्तनको नाउँमा
हिमाल फोरेर बगर त बनाऊला
तर मरुभूमिमा हिमाल कसरी उभ्याउँछौ ?
ए सहरका मान्छे
तिम्रो विकासको संकल्पको जायज होला
तर तिमीले पढ्न भुलेछौ स्वायत्तताको सन्धि र
जल, जमिन र जंगलमा अग्राधिकारको कुरा
ए मानिस
सहरलाई विकास गर्न
गाउँ चाहिन्छ लैजाऊ
लैजाऊ सभ्यता र संस्कृति
लैजाऊ वेशभूषा र भाइचारा
तर लैजान पाउने छैन
गाउँ सुक्खा मरुभूमि
र प्राणीलाई काकाकुल बनाएर
हाम्रो आस्था, सभ्यता र संस्कृतिको काली !
ए सहरका मानिस-
हाम्रो छातीमा बहिरहेको
कलकल बहिरहेको कालीगण्डकी
हाम्रो जीवन हो
हाम्रो प्राण हो ।
-बलेटक्सार, गुल्मी