सीमसारमाथिको अतिक्रमणले संकट
पोखरा । नेपाली समाजमा हुटिट्याउँ र कर्याङकुरुङ देखिन थालेपछि खेती शुरु गर्ने चलन छ । कुखुराको भाले बासेपछि उज्यालो भएको संकेत मिल्छ । हिजो विज्ञान नबुझ्दा चराको हाउभाउले मान्छेहरूको दैनिक कार्यसूची बन्थ्यो । आज विकासको विस्तारले परम्परागत प्रणाली ‘डिस्ट्रयाक’ भएको छ । त्यति मात्रै होइन, चरा उड्ने रुट नै जहाज उडाउनका लागि सबैभन्दा सुरक्षित बाटो मानिन्छ । आजभोलि अधिकांश सन्देश सूचक चराहरू लोप हुने अवस्थामा छन् ।
फेवातालमा पोहोर र अहिलेको गणनामा मेन्डारिन हाँस देखियो । त्यसअघि यहाँ मेण्डारिन थिएन । फेवा बाहेक अरू तालमा यो प्रजाति पाइँदैन । तर फेवामा पाइने धेरै प्रजातिका चराहरूको सङ्ख्या भने ह्वात्तै घटेको गणनाले देखाउँछ । धेरै चरा चर्न आउने भएकोले पोखराको दीपाङ ताललाई हनिमुन लेक भनेर चिनिन्छ । दर्जनौँ प्रजातिका चरा भेटिने यहाँ अहिले २-४ प्रजाति मात्रै छन् । डुबुल्की हाँस, सिलसिला हाँस, जलेवा र बकुल्लाका प्रजाति बाहेक अरू चराहरू दिपाङमा देखिन छोडे ।
हालै गरिएको एउटा अध्ययनले पोखरामा ४६ प्रजातिका नयाँ चराहरू फेला पारेको छ । तथापि सीमसारमा भइरहेको दोहनले पोखराको रैथाने चरा भने बिस्तारै घट्न थालेका छन् । स्वर्णचुल राजचिचिल्कोटे ४५ वर्ष पछि पोखरामा भेटिएको छ । राष्ट्रिय स्तरमै संकटग्रस्त अवस्थामा रहेको उक्त चरा सन् १९७७ मा वरिष्ठ चराविद् हरिशरण नेपाली काजीले रुपाताल क्षेत्रमा भेट्नुभएको थियो ।
त्यसपछि गुमनाम चरा अहिले देखियो । अहिले यो चराको प्रमुख वासस्थान चुरे क्षेत्र हो । पोखराका तालहरूमा रैथानेदेखि बसाइसराइ गर्ने र घुमन्ते चराहरू सबै मौसममा प्रशस्त भेटिँदै आएको हो । उस्तै खालको अध्ययन अनुसार सन् २०१९ सम्म पोखरा उपत्यकामा ४६७ प्रजातिको चरा सङ्गृहीत गरिएको छ भने यो वर्षको अध्ययन अनुसार ४ सय ८५ प्रजाति पुगेका छन् ।
तथ्याङ्कले केही प्रजाति बढेको देखाएपनि मान्छेहरूले सीमसारमाथी गरेको अतिक्रमणले रैथाने प्रजातिको बसाइसराइ तीव्र रूपमा बढेको छ । पन्छी समाज पोखराका अध्यक्ष तथा अध्ययनकर्ता मनसान्त घिमिरे चराको सङ्ख्यामा देखिएको गिरावटले पारिस्थितिकीय प्रणालीमा संकटको संकेत गरेको बताउँछन् । ‘नयाँ चराहरू देखिने भनेको वासस्थान राम्रो भएर आएका हुन् । पानीचराहरु पोखराकै एउटा तालबाट अर्को तालमा सरिरहेको छ । भोलि पोखराबाटै सरेर जाने संकट छ । हाम्रो अध्ययनले त्यही भन्छ,’ उनले भने, ‘यिनीहरूको प्रजाति नघटेपनि सङ्ख्यामा भने अत्यधिक गिरावट आएको छ ।’
चराहरू विशेष गरी हिउँद र बर्खा छल्नका लागि थातथलो छोड्छन् । उनीहरूको आहारा तालका लेउदेखि पानीमुनिका जरा, माछा, शंखेकीरा, मरेका जीवहरू हुन् । आजभोलि चराका लागि उत्तम वासस्थान पोखराबाट मासिँदै गएको छ । अहिले चराको प्रमुख वासस्थान बनेको छ, गुँदे ताल । अन्य तालहरूबाट पनि बसाइँ सरेर गुँदेमै पुग्ने गरेका छन् । तालसँगै जोडेर चक्रपथ निर्माण, सिमसार क्षेत्रमा प्लटिङ तथा वनभोज स्थलहरू बनाउँदा चराहरूको वासस्थान भत्किएको विज्ञहरूको निष्कर्ष छ ।
यो वर्ष बेगनास ताल वरपर निकै कम मात्रै चरा भेटिएका छन् । २०२२ मा बेगनासमा ६ प्रजातिका ५९ सङ्ख्यामा चराहरू देखिएका छन् । पोखराको रैथाने कुर्मा चराको सङ्ख्या भने केही थपिएको छ । १० वर्षअघि ७५ प्रजातिका पानीचराहरु पोखराका सीमसारमा अद्यावधिक गरिएको थियो । पोखरामा खासगरी साईबेरियाबाट चराहरू धेरै दिन लगाएर पोखरा आउँछन् । चीन, ताइवान, हङकङ लगायत देशबाट पनि पोखरा आउने गरेको चराविज्ञ् हेमन्त ढकालले बताए ।
‘चराहरूको बसाइसराइ बाध्यता हो । कोही बोसो पचाउन सर्छन् भने कोही अण्डा पार्न र चल्ला कोरल्न थातथलो छोड्छन्,’ उनले भने, ‘सिजनल र बायोलोजिकल बसाइँ सराइ हुन्छ । पोखरामा दुवैथरी चराहरू आएका छन् ।’ केही चराहरू पोखरामै आएर चल्ला कोरल्ने गरेको उनले सुनाए । हरि हाँसले साईबेरियाबाट आएर पोखराको खास्टे तालमा चल्ला कोरलेको थियो । आजभोलि ती चराहरू पनि देखिन छोडेको उनले बताए । ‘फुड चेनमा मान्छेको स्थान धेरैमाथि छ । आहारा सकिनै लागेकोले चराहरू नयाँ नयाँ ठाउँहरू खोजिरहेका छन्,’ उनले भने, ‘यसरी चरा मासिँदै गए भने त्यसको असर अन्ततः पर्ने भनेकै मान्छेको जीवनमा हो ।’ विश्वमै अति संकटासन्न सूचीमा रहेको बगाले बगेडी नामको चरा पोखरासम्म धेरै आउन छोडे । केही वर्षअघिसम्म हजारौँको सङ्ख्यामा नेपालको बाटो हुँदै गन्तव्यतिर जाने गोमायु महाचील कास्कीको ठूलाखर्कबाट रेकर्ड गर्दा सङ्ख्या घटेको पत्ता लागेको छ ।
विशेषतः सीमसारमाथीको अतिक्रमण र जथाभाबी संरचना निर्माणले चराको वासस्थान जोखिममा परेको घिमिरेले बताए । ‘व्यापार र माछा पालनका लागि ताल सफा गर्ने भनेर कङ्क्रिट ठडिएका छन् । पिकनिक स्पट बनाएर कोलाहल बढेको छ । यसले चरालाई बस्न असहज भयो,’ उनी भन्छन्, ‘पैसा कमाउन अरू बाटोहरू खोज्न सकिन्छ । सीमसार नै सक्नु पर्दैन ।’ सीमसार यस्तो ठाउँ हो, जहाँ पानीका जीव पनि सजिलै टिक्न सक्छन् भने जमिनका जीव पनि रहन सक्छन् । विज्ञहरू सीमसारलाई पानी र जमिनबीचको बफरजोनको रूपमा लिन्छन् । त्यही सीमसार पुरेर विकासका संरचना बनाउँदा जलवायु परिवर्तन लगायतका समस्याहरू बढेको छ ।
तस्बिर : हेमन्त ढकाल