आर्यघाट : एक अभिशाप

कुनै अल्छी कामदारले गाह्रो मानीमानी काम गरेझैँ लाग्छ,
वाग्मती सकिनसकी आफूलाई धकेलिरहेछ तैपनि,
लाखौँका अस्तित्वको अवशेष निशेष बनाउँदै बग्नु छ उसलाई पनि
छेउमा किंकर्तव्यविमूढ भएर हेरिरहन्छन् पशुपति,
मानौँ स्तब्धता नै उनको अर्को नाम हो ।
फुल्दै गरेको फूलको घरबार उजाडेर,
उनेर मालाकार वा थुँगाथुँगै
आफ्नो खुसी र आनन्दको वरदान पाउन बलि दिन्छन् स्वार्थी भक्तहरू ।
चारदिवारमा कैद,
खुस्बुदार चन्दन र अगरबत्ती बास्ना लिँदै बसेका भगवान् !
के आर्यघाटमा जलिरहेकाहरूका जलन र गन्ध तिमी थाहा पाउँछौ ?

हरेक दिन दुधले नुहाउने हे भगवान् !
के आँसुले नुहाइरहेकाहरूको रोदनको आवाज सुन्छौँ ?

त्यस्ता भगवान् ब्युँझाउन व्यस्त ए घण्टीवादक मान्छेहरू !
आफ्नै परिवार चितामा सुतेको देखेर हिम्मत टुटेकाहरूलाई समवेदना दिन जाँदैनौ ?
कास! तिमीले दुई खुड्किला तल ओर्लिए,
मानवजातिलाई बनाउने भगवानले तिम्रा मानहरूमा अलिकति मानवताको लेपन घसिदिन्थे । ।

थाहा छैन,
मैले यो कविता लेखिसक्दा नसक्दै कति परिवार ती चितामा सुत्ता हुन् ?
दुनियाँ सिर्जने हे भगवान् !
मानिसमा पीडा सहन सक्ने मुटु किन हालिदिन सकेनौ ??

अँ साच्चै!
अनि ती परिवारले आँखा बन्द गर्दा,
गुमाएका परिवार देख्छ हो वा भगवान् देख्छ?

म जान्दिनँ यो भगवान् वा समाजको रीत ।
जहाँ दूषित पारिएकी वाग्मतीको जल स्वच्छ भन्दै शीरमा चडाइन्छ,
अनि, अनि ! प्रकृतिले रजस्वला दिएर स्वच्छ र पवित्र पारिएकीलाई दूषित र अछूत घोषित गरिन्छ ।
हो, विधिको विधानका विरुद्ध बग्दा वारुद लाग्न सक्छन् मेरा लेखाइहरू,
तर म तयार छु त्यस्ता विधानविरुद्ध बोल्न र लेख्न
मलाई थाहा छ एक दिन आफू सुत्ने ओछ्यान पनि त्यही हो
र मिसिँदै अवशेष निशेष गरेर बगाउने पानी त्यही
किनभने अन्यायी विधानका विरुद्ध नबोली
सदाका लागि आफ्नो अस्तित्व नामेट पार्नु
आफैवि?द्ध गरिएको ठूलो पाप हुन्छ,
आफैविरुद्धको अपराध हुन्छ, र हुन्छ आफैविरुद्धको अभिशाप । ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *