सिमकोटमा चार फिटसम्म हिउँ
हुम्ला । बिहीबारदेखि लगातार परेको हिमपातले सदरमुकाम सिमकोट सेताम्मे भएको छ । लगातारको भारी हिमपातले सदरमुकाम सिमकोटदेखि उत्तरका बासिन्दालाई घरबाट बाहिर निस्कनै समस्या भएको छ । सिमकोटमा बेलुकादेखि परेको हिउँ चार फिट जमेको छ ।
यहाँको तापक्रम माइनसमा झरेपछि जाडो अत्यधिक बढेको छ । हिमपातले नाम्खा गाउँपालिकाको मलिमी, मुचुलगायत क्षेत्रमा चार फिट हिउँ जमेको तुमकोटका बासिन्दा प्रशान्त लामाले जानकारी दिए । उनका अनुसार हिमपातले मुचका खोलामा पानी जमेर बहाव कम भएको छ ।
सबैतिरको पानी जमेर पूरै ठोस भएको उनले बताए । उनले भने, “जाडोले घरभन्दा बाहिर निस्कन सकिएको छैन, चिसोले खानेपानीका धारा जमेका छन् ।’’ अत्याधिक चिसो र हिमपात भइरहेका कारण बिहानैदेखि चहलपहल हुने गाउँहरूसमेत यहाँ सुनसान छन् ।
निरन्तर रुपमा हिउँसँगैको अत्यधिक जाडोले सिमकोट आसपासको जनजीवन निकै प्रभावित बनाएको सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिए । रासस