कविता : उकुसमुकुस
२०७८ माघ २५ गते
स्वाभिमानको फेदैमा,
विरताले उब्जिएको एउटा झिनो जीवन,
वर्षाै भयो एउटा अनौठो त्रासले पुरिएको,
स्वास फेर्नै गाह्राे हुनेगरी गुम्सिएको !
एउटा अबोध बालक सोध्न चाहन्छ चिच्याई चिच्याई,
खिया लागेका शब्दहरू भेला गरेर, पुछपाछ पारेर !
‘सुन समातिन्छ, चोर खोइ ?’
‘बलात्कृतको आँसु रित्तिसक्यो,बलात्कारी खोइ ?’
‘खेतबारी बाँझै छ, हली खोइ ?’
‘एकदुई पेटीमा लपेटिएको राहादानी मात्र आयो, छोरो खोइ ?’
‘कानुन छ, न्याय खोइ ?’
‘इतिहासले बनाएको फुलबारी छ,
गोडमेल गर्ने माली खोइ ?’
अनि झल्यास्स बिउझिन्छ सपनाबाट अनि डराउँछ,
‘कतै मैले देखेको सपनाको सुइँको त अरू कसैले पाएन !’
अनि सधैँ जस्तै गृहकार्यमा पहिलो वाक्य लेख्छ,
‘मेरो देश नेपाल, सुन्दर, शान्त विशाल’
शीर्षकमा काल्पनिक निबन्ध !
२०७८ माघ २५ गते
प्रतिक्रिया
सम्बन्धित