संसदीय समितिले पेट्रोलियम पदार्थको मूल्यबारे अध्ययन गर्ने
काठमाडाैँ । राष्ट्रियसभा अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिले पेट्रोलियम पदार्थको मूल्यका विषयमा अध्ययन गर्ने भएको छ ।
मंगलवार सिंहदरबारमा बसेको समिति बैठकले पेट्रोलियम पदार्थको निरन्तरको मूल्यवृद्धिको कारण लगायतका विषयमा अध्ययन गर्न उपसमिति बनाउने निर्णय गरेको हो । उपसमितिको संयोजकमा दुर्गा पौडेल तथा सदस्यहरूमा खेम लोहनी र लक्ष्मी परियार रहेको समिति सभापति निरा देवी जैरुले जानकारी दिइन् ।
उनले सरकारको कामलाई पनि सहजता प्रदान गर्ने गरी उप-समितिले अध्ययन गर्ने बताइन् । बैठकमा नेपाल आयल निगमका निर्देशक सुशील भट्टराईले १५–१५ दिनमा मूल्य समायोजन गर्दा पनि घाटापूर्ति हुने अवस्था नरहेको बताए । निगम घाटामा गइरहेकाले तेल किन्ने समस्या सदैव देखिएको उनको भनाइ छ ।
बैठकमा सांसदहरूले पेट्रोलियम पदार्थमा राज्यले लगाएको करका बारेमा पुनःविचार गर्नुपर्ने धारणा राखेका थिए । सांसद भीम रावलले नेपाल भित्र पेट्रोलियम पदार्थको अन्वेषण गर्ने यसअघिको योजनालाई सरकारले पुनः शुरू गर्नुपर्ने बताए । त्यस्तै, उनले सीधै कच्चा तेल ल्याउने विषयमा पनि अब विचार गर्नुपर्ने बेला आएको बताए ।
सांसद दीनानाथ शर्माले पेट्रोलियम पदार्थको मागलाई घटाउनका लागि विद्युतीय सामग्रीको प्रयोगलाई बढावा दिने नीति ल्याउनुपर्ने बताए ।
त्यस्तै, सांसदहरूले चुहावट लगायत अन्य कमीकमजोरीलाई निगमले सुधार गर्दै अघि बढ्नुपर्ने सुझाव दिएका थिए ।