काैशिककाे कथासंग्रह ‘डियर एक्स’मा के छ ?

काठमाडाैँ । ‘डियर एक्स’ युवापुस्ता त्यसमा पनि पोष्ट मोर्डन टिनएज वर्ग जसलाई अहिले टिकटक र ट्विटर पुस्ता पनि भनिन्छ; साेही सामाजिक सञ्जालमा व्यस्त वर्गलाई लक्षित गरी लेखिएको कथाहरूको सङ्गालो हो ।

कथाहरूमा लेखकले युवापुस्ताको, त्यसमा पनि पुरूषहरूको समाजिक, यौन, प्रेम र विछोडका मनोविज्ञानलाई मिहीन रूपमा केलाउने प्रयास गरेका छन् । साथै, कौशिक नवराजले निजामती क्षेत्रका समस्या, बेथिति तथा कर्मचारीहरूको मनोविज्ञानलाई समेत आफ्नो कथामा अटाएका छन् ।

समाजको आँखीझ्यालबाट चियाँउदै निजामती सेवा र प्रेमलाई फरक ढंगबाट कथाहरू कथिएका छन । कथा विशेष गरी प्रेम सम्बन्धमा रहेर ‘एक्स’ हुन पुगेका जोडीहरूलाई मध्यनजर गरी तयार गरिएको छ । कथासंग्रहमा दश वटा कथाहरू रहेका छन । ३२० पृष्ठ रहेको पुस्तक सिमल बुक्सबाट बजारमा आएको हो । पुस्तकको मूल्य ५९९ रहेको छ ।

नामले कथासंग्रह डियर एक्स भएपनि यस कथा भित्र निजामती सेवा सँगै देशको विभिन्न जिल्लाको भूगोल, सरकारी कार्यालयको अनुभव, भौगोलिक परिवेशलाई लेखकले प्रेमसँग जोडेर प्रयोगात्मक शैलीमा जागिर र प्रेमको फ्युजन गराएको देखिन्छ ।

कथासंग्रहभित्र निजामती सेवामा रहेका विभिन्न पात्रले भोग्नु परेका आरोहअवरोह देखि पदसोपानका शृंखलाहरू निजामती सेवाभित्रको चेन अफ कमाण्डलाई गहन विश्लेषण गरेर केलाइएको देख्न सकिन्छ ।

डियर एक्समा कथाको परम्परागत धारलाई निरन्तरता दिनेभन्दा पनि त्यसकाे भञ्जन गर्न खाेजिएकाे देखिन्छ । कथाहरू काल्पनिक भन्दा समाजमा हुने र भएका पात्र र परिवेशलाई आधार बनाएर लेखिएका छन । निजामती सेवाका विकृतिहरूलाई कथामा सुक्ष्म ढंगमा केलाइएको छ । समाजमा महिलालाई कुन नजरले हेरिन्छ अनि समाजका श्रेष्ठतम्, योग्यहरूमध्येबाट आएका निजामती सेवामा महिलालाई जिम्मेवारी दिने, सोच्ने र गरिने व्यवहार कस्तो छ आदिको विश्लेषण गरिएकाे छ ।

हरेक मान्छेको आफ्नै आफ्नै प्रेम कथाहरू र प्रेम भोगाइहरू हुन्छन । प्राय प्रेम सम्बन्धमा यौन जोडिएर आउने गर्छ नै । आजको गतिशील जमनाका युवाहरू चार डेट र दुई सेक्समा लागेको कारण राधा कृष्ण र मुना मदन जस्तो लभस्टोरी पाउन मुश्किल देखिन्छ । लङ्ग डिस्टाङ्स लभस्टोरी कम हुँदै फिजिकल एक्ट्राक्सन र दुरी मेटाउनेहरूको जमात बढ्दै गएको वर्तमान पुस्ताका पिडा र भोगाइहरू यसमा समेटिने प्रयास गरिएको कथाकार काैशिक नवराज बताउँछन् ।

त्यस्तै उनले पुस्तकमा हाम्रै भूगोलका पात्रहरू रहेकाेले पुस्तक स्वरैकल्पनाको जादुमयी संसार भन्दा पनि यथार्थवादी धरातलमा रहेर लेखिएको बताए । उनले भने, ‘कुनै युवा जो सरकारी सेवामा प्रवेश गर्न लागिरहेको उसका लागि यो पुस्तक नयाँ खुराक हुन सक्छ । यसका साथै जो प्रेममा परेका छन उनीहरूले पनि यो पुस्तक पढ्नुपर्छ भन्ने लाग्छ ।’

पुस्तकले हरेक पाठकलाई आफ्नो विगत सम्झाउन बाध्य पार्ने नवराजकाे भनाइ छ । हरेक मान्छेको विगत हुन्छ फरक यति हो कतैको विगत अर्थात प्रेम सफल भएको हुन्छ त कसैको असफल भएर एक्स हुन पुगेको हुन्छ । यो पुस्तक पढ्दै गर्दा हरेक पाठकले आफ्नो विगत सम्झन्छन । उनीहरूले आफ्नो पहिलो प्रेमको रिकल गर्न सक्छन । ती रोमान्चक दिनहरू सम्झन्छन, उनले भने ।

भ्यालेन्टाइन सप्ताह चलिरहेकाेले प्रेमीप्रेमिकाले याे पुस्तक उपहारका रूपमा साटासाट गर्ने सक्नेसमेत उनले बताए । उनले भने,  ‘प्रेमीप्रेमिकाहरूले भ्यालेन्टाइनमा पुस्तक गिफ्ट दिने प्रचलनको विकास गर्न जरुरी छ ।’

डियर एक्स कथासंग्रहले पाठकलाई बाँधेर राख्ने विश्वास नवराजकाे छ । कथामा अब के होला भन्ने एक किसिमको ‘स्पेन्ड थ्रील’ उत्पन्न भैरहन्छ । कथा सलल बगेको कारण लामालामा कथाहरू भएपनि यसले बोरिङ उत्पन्न नहुने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *