धनुषामा ४ सय ६७ घरपरिवारलाई लालपूर्जा वितरण

धनुषा । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमि सम्बन्धी समस्या सदाका लागि अन्त्य गर्ने गरी कामलाई तीव्र बनाइएको बताएकी छन् ।

धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नं. १९ साविकको वेगाशिपुर गा.वि.समा रहेको गाउँब्लकमा रहेकाहरूलाई लालपूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले कोहीपनि वास्तविक भूमिविहीन भूमि पाउनबाट बन्चित हुन नपरोस् भनेर अभियान नै सञ्चालन गरेर सरकारले लालपूर्जा वितरणको काम शुरू गरेको बताइन् ।

मन्त्री श्रेष्ठले जमिन भएर पनि लालपूर्जा नहुँदा भूमिविहिन बनिरहेकाहरूको समस्या देशैभरबाट अन्त्य गर्ने गरी सरकार लागिरहेको भन्दै वास्तविक भूमिहीन कोहीपनि भूमि प्राप्त गर्नबाट बन्चित नहुन् र गलत मान्छेले भूमि नपाउन भन्नेमा सबै चनाखो बन्नु पर्नेमा पनि जोड दिइन् ।

मन्त्री श्रेष्ठले लालपूर्जाको अभावमा नागरिकता समेत प्राप्त नगर्ने र राज्यबाट प्राप्त हुने अधिकार उपभोग गर्न नपाइरहेको अवस्थाको अन्त्य हुनुपर्नेमा समेत जोड दिइन् ।

उनले भूमि विहीनहरूलाई लालपूर्जा वितरणको कामलाई पहिलो प्राथमिकतामा राखेर सरकार अगाडि बढिरहेको भन्दै संविधानमा व्यवस्था भएको भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासीको व्यवस्थापनको काम समेत शुरू भइसकेको बताइन् ।

उनले राष्ट्रिय भूमि आयोगले हालसम्म २८ जिल्लामा काम शुरू गरिसकेको र ६८ स्थानीय तहसँग सम्झौता गरेर काम भइरहेको पनि जानकारी दिइन् ।

यसै क्रममा यसअघि मन्त्री श्रेष्ठले महोत्तरीको रामगोपालपुर, सप्तरीको अग्नीसाइर कृष्णसवरण र तिरहुत गाउपालिका, चितवनको इच्छाकामना गाउँपालिका र सिरहाको गाउँब्लकमा रहेकाहरूलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरेकी थिइन् ।

२०२१ साल यता देशका विभिन्न जिल्लामा नापी हुँदा गाउँब्लकका रूपमा रही आफ्नो घर जग्गाको लालपूर्जा पाउन नसकेकाहरूलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गर्न ढिलाई गर्न नहुनेमा मन्त्री श्रेष्ठले जोड दिँदै आएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *