मानिस र बाँदरका पुर्खा एउटै थिए भन्न सहज थिएन डार्विनलाई

जीवन र जगतका अनेकौँ रहस्यहरूबारे यथार्थ सार्वजनिक भइरहेको छ । तथापि अनेकौँ रहस्य आज पनि रहस्यकै गर्तमा छन् । केही रहस्यको बास्तविकतालाई मानिसले स्वीकार्न सकेका छैनन् भने केही समयक्रमसँगै सामान्यीकरण हुँदै गएका छन् ।

यीमध्ये एउटा रहस्य मानिस र जीवजन्तको उत्पत्तिसँग सम्बन्धित छ । हामीलाई मानव उत्पत्तिको प्रसंग आउनासाथ चार्ल्स डार्विनको क्रमिक विकासको सिद्धान्त स्मरण हुन्छ । त्यसैका आधारमा हामीले भन्ने गरेका छाैँ, ‘हाम्रा पुर्खा बाँदर थिए ।’

सामान्यतः समय-समयमा पृथ्वीमा देखिएका आरोह-अवरोह वा प्राकृतिक रूपमा आएका परिवर्तनसँगै मानिसको उत्पत्ति भएको मानिन्छ । डार्विनको सिद्धान्त क्रमिक विकासको सिद्धान्त पनि यही अवधारणामा आधारित छ । तर, डार्विनले क्रमिक विकासको यो सिद्धान्त सार्वजनिक गर्दा उनको कटु आलोचना भएको थियो । प्रस्तुत लखोटमा हामी वैज्ञानिक चार्ल्स डार्विन र उनको क्रमिक विकासकाे सिद्धान्तकाे उद्भवबारे कुरा गर्नेछाैँः डार्विनकाे विकासवादी सिद्धान्त । तस्वीरः सिरियय

विरासतमा पाए चिन्तनशीलता
चार्ल्स डार्विनको जन्म इग्ल्याण्डको एउटा प्रतिभासम्पन्न परिवारमा १२ फेब्रुअरी १८०९ मा भएको थियो । उनका हजुरबुवा इरासमस डार्विन आफ्नो किताब ‘जुमोनिया’मा मानिससँग सम्बन्धित रहस्यको पुष्टि गर्दा आलोचित बनेका थिए । डार्विनले क्रमिक विकासको सिद्धान्त प्रतिपादन गर्नुमा उनको पारिवारिक पृष्ठभूमि र खुला वातावरणको महत्वपूर्ण योगदान रहेकाे मानिन्छ । परम्पराभन्दा बाहिर गएर चिन्तन गर्नसक्ने क्षमता समेत उनले विरासतमा पाएका थिए ।

पुनर्जागरणकालीन समयमा युरोपमा चर्च वा चर्चको धारणा विपरीत उठ्ने हरेक आवाजलाई दबाइन्थ्यो । यसको उदाहरणका रूपमा ‘निकोलस कोपरनिकस’लाई लिन सकिन्छ । सूर्यले पृथ्वीको होइन, पृथ्वीले चाहिँ सूर्यको परिक्रमा गर्छ भन्ने धारणा अघि सार्दा उनलाई मृत्युदण्ड दिइएको थियो ।

यही समयमा मानिसको उत्पत्ति कुनै निश्चित सिद्धान्तका आधारमा भएको भन्ने डार्बिनको सिद्धान्त चर्च र तात्कालीक धार्मिक कट्टरपन्थीलाई चुनौती दिनु थियो । चर्चको धारणाअनुसार मान्छेको उत्पत्ति एडम र ईवबाट भएको मानिन्थ्यो । त्यसैले प्रारम्भिक समयमा डार्विन पनि हिच्किचाए । तर, केही समयपछि डार्विनले यो सिद्धान्त पुष्टि गरिछाडे । डार्बिन र उनका साथीहरू । तस्वीरः ColorizedHistory

समुद्री यात्राले बदलेकाे जीवन
आफ्ना बुबा तथा हजुरबाले झैँ डार्विनले पनि चिकित्साविज्ञान अध्ययन गरेका थिए । उनी एडिनबर्ग विश्वविद्यालयमा भर्ना भएका थिए । त्यतिबेला यो विश्वविद्यालयलाई अन्य विश्वविद्यालयको तुलनामा स्वतन्त्र र खुला विश्वविद्यालय मानिन्थ्याे । तर, चिकित्साशास्त्रमा डार्विनको मन अडिएन । उनले चिकित्साको अध्ययन  छोडी चर्चमा क्यारिअर बन्न  क्याम्ब्रिजबाट डिविनिटीको पढाई शुरू गरे । यसैक्रममा उनी खाली समयमा विभिन्न खालका किरा समात्ने र तिनको अवलोकन गर्न थाले । प्रकृतिप्रति उनको लगाव देखेर क्याम्ब्रिज विश्वविद्यालयका एक प्राध्यापकले उनलाई ‘एमएच बिगल’मा समुद्रयात्रामा जान निमन्त्रणा गरे । यो समुद्री यात्रा उनको जीवन र मानव उत्पत्तिकाे सिद्धान्तका लागि निकै महत्वपूर्ण सावित हुँदै थियाे ।

२२ वर्षकै उमेरमा १८३१ मा उनले बिगल नामक समुद्री जहाजमा चढी अनेकौँ द्वीपको यात्रा गरे ।  ‘बिगलबाट गरिएको समुद्री यात्रा मेरो जिन्दगीको महत्वपूर्ण समय हो, जसले मेरो जिन्दगीलाई नयाँ स्वरूप दियो’ यो यात्राका बारेमा डार्बिनले भनेका छन् ।

५ वर्ष लामो यात्राका क्रममा डार्विनले मानिसका साथै विभिन्न द्वीपमा रहेका बोटबिरुवा र वनस्पतिबारेका अनेकौँ जानकारी संकलन गरे । यात्राबाट फर्किँदा उनीसँग लगभग १५०० प्रजातिका बोटबिरुवा र वनस्पतिबारेका तथ्य र जानकारी थिए । एमएच बिगल रोयल नेवी लगभग २७ मिटर लामो पानीजहाज थियो । ५ वर्षमा ४ वटा महाद्वीपको गरिएको यो यात्राले डार्विनको स्वास्थ्यमा भने नराम्रो असर देखियो । यहाँबाट शुरू भएको स्वास्थ्य समस्याले उनलाई जीवनभर दु:ख दिइरह्यो।

यात्राका क्रममा उनले कैयौँ टापुको वातावरण र जीवजन्तुलाई ध्यानमा राखी मानिस र अन्य जीवजन्तुको उत्पत्ति र विकासबारे अनेक रोचक तथ्यहरूमाथि प्रकाश पारे । यसका लागि उनले आफ्ना जीववैज्ञानिक साथीहरूसँग परामर्श गरे । यहीबाट उनी क्रमिक विकासको आफ्नो नयाँ सिद्धान्ततर्फ अग्रसर भए । डार्बिनले यात्रा गरेकाे पानीजहाज । तस्वीरः thought

‘क्रमिक विकासको सिद्धान्त’ आलोचित
हजुरबुवाले नीव राखेको परिवर्तनको सिद्धान्तलाई डार्विन अगाडि बढाउँदै थिए । तर, उनलाई चर्च र कट्टरताको डर थियो । आफूलाई परिवेशअनुसार ढाल्नसक्नु नै बढी समयसम्म जीवित रहने एउटा तरिका हो भन्ने उनले बुझेका थिए । जुन क्रमिक विकास सिद्धान्तको एउटा कडी समेत थियो । त्यसैले उनले आफ्ना अनुभवलाई समेटेर पुस्तक लेख्ने निधाे गरे । जसमा उनले आफ्ना पाँच वर्षे समुद्री यात्राका अनुभव समेटे ।

डर र संकोचका कारण उनले निकै लामो समयसम्म आफ्ना सिद्धान्त (किताब)लाई आफैँसँग सीमित राखे । आफूले खोज गरेको विषयमा अरू पनि खोज गर्नसक्ने सम्भावनासँग पनि उनी उत्तिक्कै सचेत थिए । यही सचेतताले उनको सिद्धान्त अन्ततः सार्वजनिक भयो । उनको सिद्धान्त सार्वजनिक हुनुमा अल्फ्रेड रसेल वालेसको ठूलो योगदान छ । जसले डार्विनलाई पत्र लेखी सिद्धान्त सार्वजनिक गर्न दबाव दिइरहन्थे ।

सिद्धान्त सार्वजनिक हुने दिन डार्विनका २० वर्षीय छोराको निधन भयो । फलस्वरूप वालेसले नै उनका सिद्धान्तको प्रस्तुतीकरण गरे । डार्विनको सिद्धान्त सार्वजनिक भएसँग चर्चले ठीक त्यही व्यवहार गर्यो, जुन व्यवहारको डरले यतिका वर्ष डार्विनले सो सिद्धान्त सार्वजनिक गरेका थिएनन्। उनको कडा आलोचना भयो । अनेकौँ कट्टरपन्थीहरूले उनलाई हत्याकाे धम्की समेत दिए ।

डार्विनका १० जना सन्तान थिए । तीमध्ये उनकी प्रिय छोरी ऐना थिइन् । जसलाई डार्विनले सबैभन्दा बढी माया गर्ने गरेकाे बताइन्छ । ऐनाको निधन १० वर्षकै उमेरमा भएपछि डार्विन पनि नराम्राेसँग बिरामी परेकाे घटनाले छाेरीसँगकाे उनकाे अगाध प्रेमकाे प्रमाण पेश गर्दछ ।

कालान्तरमा उनकी अर्की छोरीको पनि निधन भयो । त्यसपछि उनले इसाइ समाजमा रहेको आफ्नै परिवारका सदस्यसँग बिहे गर्ने चलनको विरोध गरे । तत्कालीन समयमा इग्ल्याण्डमा आफ्नै परिवारका सदस्यसँग बिहे गर्ने प्रचलन थियो । स्वयम डार्विनको बिहेसमेत परिवारभित्रकै बहिनी नाता पर्ने महिलासँग भएकाे थियाे ।

त्यसपछि डार्विनले आफ्ना बच्चाहरूको मृत्युको दाेषी परिवारभित्रै हुने यस्तोप्रकारको बिहे भएको मान्यता अघि सारे । उनले यस्ताे बिहेबाट सन्तानमा अनुवांशिक रोगहरू बढ्दै जाने र मानिसकाे अकालमै मृत्यु हुने गरेकाे दावी गरे ।
तस्वीरः स्क्राेल

इंग्ल्याण्डमा तत्कालीन समयमा आम मानिससम्म नभई राजघरानाहरूमा समेत यसकिसिमको चलन थियो । यसप्रकार उनले एकपटक फेरि चर्च र परम्परागत समाजलाई चुनौती दिए । डार्विन अब चर्चको पादरी बन्ने चाहनाबाट विमुख भई अब ‘थ्यौरी अफ इभोल्यूसन’का प्रतिपादक भइसकेका थिए । अब उनको यो यात्रा यहीँ रोकिएन, उनले अनेकौँ विरोध र आलोचना बावजूद ‘ओरिजिन अफ स्पिसिज’ र ‘डिसेन्ट अफ अ म्यान’ समेत लेखे र मानव तथा जीव उत्पत्ति र विकासका सन्दर्भमा महत्वपूर्ण सिद्धान्तहरू हासिल गरे ।

जीवशास्त्री तथा वैज्ञानिक चार्ल्स डार्विनलाई सम्झिँदा आस्तिक वा नास्तिकको तराजुमा राख्ने गरिन्छ । तर, डार्विनको अवधारणामा धर्म र आस्था समय र अनुभवसँगै बद्लिँदै रहेकाे बुझ्न सकिन्छ । यद्यपि उनले कहिल्यै कुनै आस्था र विश्वासको अनादर गरेनन् र विज्ञानप्रतिको उनकाे अगाध लगाव पनि कम हुन दिएनन् ।

राेरबाट अनुवाद 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *