क्रान्तिको खरानीकरण

एमसीसी अनुमोदनको विषयलाई लिएर वर्तमान सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक बसिरहेको थियो । चुरो कुरोमा कुरो नमिलेपछि देउवाले आयोजना गर्नुभएको जलपानपछि नेताहरू अनौपचारिक हैसियतमा प्रकट भए । गफगाफका क्रममा आआफ्नो भोगाई उनीहरूले हास्यशैलीमा यसरी राखे ।

शेरबहादुर देउवा : भने देखिनलाई मेरा बा यस्ता बहादुर हुनुहुन्थ्यो कि महाकाली नदीमा डुबेर कर्णाली नदीबाट फुत्त निस्कनुहुन्थ्यो ।

माधवकुमार नेपाल : तपाईँका बा के बहादुर मेरा बाको त कुरै बेग्लै । पानी ट्यांकीमा पसेका हाम्रा बा धाराको टुटीबाट निस्कनुहुन्थ्यो ।

पुष्पकमल दाहाल : मने तपाईँहरूका कुरामा पटक्कै दम भएजस्तो लागेन । लौ सुन्नुस् मेरा बालाई एक पटक यस्तो भुंग्रे ज्वरो आयो कि मेरी आमा बाको गालामा हरियो मकै पोलेर हामीलाई ख्वाउनुहुन्थ्यो ।

बिग्रिएको घडीले पनि दिनको दुईपल्ट एकुरेट समय बताउँछ । तर बद्लिएको व्यवस्थाका नबद्लिएका नेताहरूले जिन्दगीभर आफ्नो नामबाहेक अरू केही साँचो बताउने भएनन् । तीनवटा प्राइभेट लिमिटेड पार्टीका मुखियाहरूले सहमतिको आवरणमा यस्तै तोरीलाउरे गफमा वर्षौँदेखि समय मिल्काइरहँदा एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले हालै नेपाल दक्षिण एसियाकै सर्वाधिक भ्रष्ट मुलुकमा दर्ता भएको प्रतिवेदन सार्वजनिक गरेको छ । त्यसो त नेताहरूले अलाप/प्रलाप जे लगाएपनि फागुन पहिलो हप्ता पुगिसक्दा पनि नेपालको विकास बजेट १६ प्रतिशतको हाराहारीमा खर्च भएको छ । यो पटक पनि बाँकी बजेट असार मसान्तमा खर्च हुने लाइनमा बसिसकेको छ । नेपाललाई असफल राष्ट्र बनाउने डिजाइनमा मतियारको भूमिकालाई हरेक पार्टी नेताले घोषित-अघोषित शैलीमा सघाएका छन् । यो महाअभियानलाई कसैले बोलेर सघाएका छन् भने कसैले मौन बसेर । मुलुकको बागडोर सम्हालेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक जीवनमा एउटा साँचो वाक्य बोलेका छन् ।

त्यसो त नेताहरूले अलाप/प्रलाप जे लगाएपनि फागुन पहिलो हप्ता पुगिसक्दा पनि नेपालको विकास बजेट १६ प्रतिशतको हाराहारीमा खर्च भएको छ । यो पटक पनि बाँकी बजेट असार मसान्तमा खर्च हुने लाइनमा बसिसकेको छ ।

त्यो हो- ‘सत्ताको साँचो त अन्तै पो रहेछ त ।’ बीपी-जीपी, मनमोहन- भरतमोहन, माधवदेखि यादवहरूसम्म यस कटु सत्यका पारंगत व्यक्तित्वहरू हुन् । तर यो विषयलाई उनीहरूले फगत: कम्बल ओढेर घिउ खाने माध्यम मात्र बनाए । अरू त अरू कम्युनिष्ट पृष्ठभूमिका नेताहरू कुरामा क्रान्तिकारी, आदेशका चरम आज्ञाकारी निस्कँदा राजनीतिक परिवर्तन एउटा ठट्टामा सीमित बन्दै गयो । सातु खाएर जनयुद्ध लडेको गौरव गरेका तिनै नेता एकाध वर्षमै ब्ल्याक लेबल, ब्लु लेबलदेखि बटरफलाई ब्राण्डका पारखी हुन पुगे । तर सिसाको गिलासमा खायो भने हैसियत खुल्ने डरले स्टिलको गिलासमा खाएर जनताको नाममा चिसो पानी खाएको पाखण्ड ओकल्न भने उनीहरू पछि पर्दैनन् । मोबाइल फोनको हरियो थिचे उठ्छ, रातो थिचे काटिन्छ बाहेकको ज्ञान नभएका नेताहरू आईफोनको पारखी भएका छन् । अरू त परै छाडौँ एउटा सामान्य म्यासेज पढ्न र पठाउने कला पनि उनीहरूमा देखिँदैन । हो देश पनि तिनीहरूका लागि त्यही मोबाइल सेटजस्तै भएको छ । नजान्नेले मोबाइल थिचेर त्यसको प्याड थिलथिलो बनाए झैँ नेताहरूको प्रयोगले देशको आकार अमिबाजस्तै बन्न पुगेको छ । बिहान उठेदेखि बेलुकासम्म साइरन बजाएर किलोका किलो माला लगाउने नेताहरूको जीवनशैली मिलको फित्ता घुमेजस्तो घुम्यो । जतिसुकै बेफुर्सदी देखिएपनि त्यो घुमाइले जनताको जीवनमा कुनै भिन्नता ल्याएन । राजाविरुद्ध लाग्दालाग्दै उनीहरूमा राजा हुने भूत चढेको पत्तै पाएनन् । छोराछोरीलाई युरोप, अमेरिका ढुक्कले खानपानको व्यवस्था मिलाएपछि एमसीसी विरुद्ध गोटी चलाउने रहर उनीमा जागृत भयो । डिभी परेका अधिकांश नेपालीलाई माइतीघर मण्डलामा उभिएर एमसीसी विरुद्ध बोल्दा देशलाई माया गरेको कसी लाग्यो । बिहान उठेका अमेरिकी राष्ट्रपति जो बाइडेन मर्निङ वाक गर्दा सुरक्षा सल्लाहकार, चिया पिउँदा राजनीतिक सल्लाहकार र टेनिस खेल्दा कूटनीतिक सल्लाहकारसँग बैठक भ्याइसकेका हुन्छन् । विश्व चलाउने बाइडेन यति सजिलै सबै काम सिध्याउँछन् । विडम्बना आफूले नेतृत्व गरेका दललाई गुठीमा रूपान्तरण गरेका हाम्रा नेताहरू बैठकलाई घरको माना बचाउने र जिब्रोमा च्वास्स लाग्ने पदार्थ खाने मौकाका रूपमा हेर्ने गर्छन् । सहमतिका नाममा पल्टाइने गरेको गाई र त्रिशूलको अन्तरकथा पनि यही नै हो ।

माओ कि बाइडेन ? यसो भनेर गाई त्रिशूल खेलाउने हो भने अधिकांश माओवादी कार्यकर्ताहरूको रोजाई बाइडेन पर्नेमा शंका छैन । कार्यकर्ताहरूलाई मार्क्स, लेनिन, ख्रुश्चेभदेखि माओ चालिसासम्म कण्ठ गराएका नेताहरूका लागि युरोप अमेरिका बाहेक अरू मुलुक अछुतजस्तै हुने गरेका छन् । नेताहरूले कार्यकर्तालाई जिन्दगीभर उत्तर कोरिया, क्युबा र चिनियाँ सांस्कृतिक क्रान्तिको पाठ पढाएर जाँचमा भने अमेरिका, स्वीटजरल्याण्ड र दक्षिण कोरियाको प्रश्न सोध्ने गरेका छन् । त्यसैले त इमानदार कम्युनिष्टहरु यसखाले पाखण्डको जामा लगाउन नसक्दा फेल भएर न हाँस, न बकुल्लाको चालमा बाँचिरहेका छन् । अमेरिकाको विरोध नगरे जात जाने दर्शन बोकेका दर्जनौँ माओवादी कार्यकर्ताहरूले अमेरिकी नागरिक हुन आफ्नै पार्टीले दुख दिएर अमेरिका भास्सिनु परेको ब्यहोरामा ल्याप्चे लगाएर अमेरिकी अदालतमा कागजात पेश गरेका छन् ।

संसार कुन गतिमा अघि बढिरहेको छ ? अबको विकास मोडल कस्तो हुनुपर्छ ? नेपालको अर्थतन्त्रलाई छिमेकी, क्षेत्रीय हुँदै विश्व अर्थतन्त्रमा कसरी जोड्न सकिन्छ ? यस्ता खालका चिन्तन राख्ने राजनीतिक प्राणीको सङ्ख्या पुरै शून्य छ । देशको कार्यकारी पदमा पुग्नेहरू लंगुरबुर्जा सञ्चालकजस्ता भएका छन् । जसको एउटै ध्याउन्न हुन्छ- दायाँ बायाँ पुलिस हेर्ने अनि जतिसक्दो सोहोरेर सुइँकुच्चा ठोक्ने । राजनीतिलाई जुवाको खाल ठानेर दाउ लगाउनेहरूको सङ्ख्या अहिले विचित्रसँग बढेको छ । समावेशीका नाममा एकाध दर्जन मानिस भएका पार्टीका कमजोर मानिसलाई मन्त्री बनाएर राज्यका निकायलाई होलसेलमै दलालीको अखडा बनाउने सुनियोजित अभ्यास भइरहेको छ । स्वतन्त्र भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरु प्राविधिकहरूको भ्रष्ट शैलीबाट यति आजित भएछन् कि ईन्जिनीयरको सम्मेलनमा थोरै मात्र खाइदिनुस् भने क्वाँ क्वाँ रोएका थिए रे !

सचेत र विवेकी मानिसले केही राम्रो गर्नुपर्छ तर यदि राम्रो गर्न सकिन्न भने भएको बिगार्ने अधिकार पनि उसलाई छैन । यो सत्यलाई राजनीति गर्नेहरूले किलकिलेमा राख्नुपर्छ ।

राजनीति इमानदारी र नैतिकतामा फल्छ, फुल्छ । नेता पारदर्शी हुन्छ भने हाकिम अपारदर्शी । नेताले समन्वय गर्छ भने हाकिमले तोकादेश गर्छ । यदि नेता हौसिएर हाकिम हुन खोज्यो भने उ त खरानी हुन्छ नै, देश पनि अवन्नतिको पातालमा भासिन्छ । यदि यो देशमा नैतिकवान् राजनीतिज्ञ थिए भने उनीहरूले टाईसुट त के लाज छोप्न बुर्का लगाउनुपर्ने अवस्था छ । नेपाली कृषकलाई १५ अरबको मल चाहिनेमा ३ अरब छुट्याएर बाँकी १२ अरब वैधानिक दलालीका लागि राज्यले नै ठाउँ खाली गरिदिएको छ । अनि राज्य संयन्त्रमा दलाल र घुसखोर नपुगेर दूधले नुहाएको मानिस कसरी पुग्न सक्छ ?

देश मानिसको जस्तो अनिश्चित आयुमा बाँच्दैन । राज्यले जन्मिएका मात्र होइन, दसकौँ पछि जन्मिनेहरूको पनि भविष्य सुरक्षित गरिदिनु पर्छ । धुलिमाटीबाट क, ख सिकेका देखि आईफोन संस्कृतिमा हुर्किएका सम्मले स्वतन्त्रतापूर्वक खेल्न, बढ्न पाउनु पर्छ । निष्ठा र इमानदारीको राजनीति गर्नेहरू देउता समान हुन्छन् भन्ने नेल्शन मण्डेला र महात्मा गान्धीको इतिहास घोकेकाहरूलाई खोइ कुन भामरीले छोपेर हो कुन्नि अक्करको बाटो मात्र रुचाउँछन् । कस्ता कस्ता चक्रवर्ती महाराजले त समयलाई आफ्नाे कैदमा लिन सकेनन् भने हाम्रा नेताहरूले जे पनि गर्न सक्छु भन्ने सोच राख्नु बचपना सिवाय केही होइन । मानिस भनेको प्रकृतिको निरन्तरता मात्र हो । सचेत र विवेकी मानिसले केही राम्रो गर्नुपर्छ तर यदि राम्रो गर्न सकिन्न भने भएको बिगार्ने अधिकार पनि उसलाई छैन । यो सत्यलाई राजनीति गर्नेहरूले किलकिलेमा राख्नुपर्छ । पोखरीमा पानी हुन्जेल माछाले कमिला सिध्याउँछ । जब पोखरीको पानी सुक्छ नि, त्यही नपत्याउने कमिलाले माछा सिध्याउँछ । पर्खन सक्नुपर्छ पालो सबैको आउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *