गाउँपालिका अध्यक्षकी सरकारी जागिरे छाेरी गरिबकाे सूचीमा !
दार्चुला । दार्चुलाकाे दुहुँ गाउँपालिकाका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीकी छाेरीकाे नाम ‘गरिबकाे सूची’मा भेटिएको छ ।
नेपाली कांग्रेस दार्चुलाका सचिवसमेत रहेका पालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीकी २७ वर्षीया छोरी सावित्रीको नाम गरिबको सूचीमा राखेको भेटिएको हो ।
परिवार पहिचान सर्वेक्षणमा आधारित गरिब घर परिवारको सूची संकलन गर्दा उनकाे नाम सामान्य गरिबकाे सूचीमा राखिएकाे भेटिएकाे हाे ।
साेही ठाउँकाे हिकिलास्थित स्वास्थ्य केन्द्रमा अनमी रहेकी सावित्रीका श्रीमान नेपाल प्रहरीका हवल्दार छन् ।
गाउँपालिकाका अध्यक्ष कार्कीले भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले तथ्यांक संकलन गर्दा त्रुटि भएकाे बताए । उनले दुर्भाग्यवश त्रुटि भएकाे र त्यसलाई सच्याउनुपर्ने बताएका छन् ।
मकालुखबरसँग उनले भने, ‘सञ्चारमाध्यममा गाउँपालिका अध्यक्षले छाेरीकाे नाम सामान्य गरिबकाे सूचीमा राखेकाे भन्ने सन्देश गएकाे छ, जुन गलत हाे । मन्त्रालयले नै तथ्यांक संकलनकर्ता पठाइ गरेकाे सर्वेक्षणबाट छाेरीकाे नाम सामान्य गरिबकाे सूचीमा सूचीकृत भएकाे छ, यसलाई हटाउन पहल गर्ने छु ।’