नेपाली साहित्यका सूर्य अब अस्ताउनुभयो
नेपाली साहित्यमा एक्लै उभिँदा पनि भीड, एक्लै मियो र एक्लै जुझारु । नेपालमा काँधमा झोला र टाउकोमा नचाहिने विचारको बोरा नबोकी अनि बाँस र निगुरो बनेर स्वस्ती नगरी कोही पनि स्रष्टा बन्न गार्हो । प्राज्ञ बन्न वा अरू केही हुन कठिन । यद्यपि यी केही नगरी उहाँ नेपाली साहित्यमा घाम-जून एकैसाथ हुनुहुन्थ्यो । जो अब रहनु भएन । २०७८ फागुन ३ को बिहान आफ्ना पाँच दर्जन बढी साहित्यका कृति सधैँका लागि छाडिराखेर उहाँ हाम्रा माझबाट सधैँका लागि अस्ताउनुभयो । उहाँमा हार्दिक श्रद्धाञ्जलि भन्ने बाहेक केही बाँकी रहेन ।
उहाँको जन्म विसं. १९९१ असारमा इलामको बरबोटे गाँउमा भएको थियो । उहाँकी धर्मपत्नी शान्ता शर्मा र छोरा अनल र सलील शर्मा दुईजना हुनुहुन्छ । इलाम फिक्कल बरबोटेमा उहाँका पिताजी प्रजापति भण्डारी बशिष्ठ गोत्रीय बस्नुहुन्थ्यो । नामसालिङबाट (त्यो बेला सडक थिएन) तराई झर्दा एकपटक मेरा पिताजीले म कक्षा ९ पढ्दा त्यो ठूलो घरको ठूलै आँगनमा उहाँसँग बसेर चिया पिएको पनि सम्झना भैरहेछ ।
राम्रो पारिवारिक वातावरणमा र असल संस्कारमा हुर्किएर दार्जिलिङबाट अंग्रेजी अध्ययन गर्ने अवसर पाउनुभएकोले उहाँ अंग्रेजी भाषामा डाक्टरहेड हुनुभयो । अर्कोतिर नेपाली भााषाप्रतिको मोहले नेपाली भाषामा झर्रो आन्दोलन छेड्नुभयो । यसर्थ उहाँको निबन्धमा नेपाली भाषाका ठेट शब्दहरूको लयात्मक चयन पाठकले महसुस गर्छ नै ।
म नासालिङ् हाई स्कुलमा छ कक्षामा पढ्दादेखि नै कलेजमा फस्ट फस्ट आउने रे भनेर नरहरि शर्मा सरले उहाँका विषयमा भनेका कुरा र उहाँका निबन्धहरू पढ्नाले धेरथाेर थाहा भएको थियो । यति ठूला मान्छेलाई भेट्न पाए हुन्थ्यो भन्ने रहर थियो नै ।
काठमाडाैँ आएपछि २०३९ को जाडोको साँझ एकजना मित्रले उहाँको डेरा नयाँ र पुरानो बानेश्वरको बीचमा छ भनेर बताए । साथमा उनले भने, जाने हो ? जौँ ! कुमारीपाटीको डेराबाट निस्किएर हामी साझा बसमा थापाथलीसम्म अनि भक्तपुर जाने ऊ बेलाको ट्रली बस चढेर बानेश्वर चाेकमा ओर्लियाैँ । अनि चोकबाट पूर्वतिरको शाही नेपाली सेनाको ब्यारेक (जहाँ ऐले संसद भवन छ) नियाल्दै गयाैँ । पश्चिमी किनारामा लक्ष्मीको पसल नामक प्रसिद्ध छाप्राे थियो । त्याे सबै परिवेश नियाल्दै-नियाल्दै बाटाेमा फ्याट्टफुट्ट आउने घरहरू हेर्दै तल्लो पिपलबोट पुग्याैँ ।
त्यहाँबाट पश्चिमतिर लाग्ने ऊ बेलाकाे कच्ची मोटरबाटो भएर करिब ५०० मिटर हिँडेपछि दुईवटा बिल्डिङ आए । त्यसमध्ये वल्लोपट्टिकाे बिल्डिङकाे गेट खाेल्न मित्रले अह्राए । यसरी हामी ताना शर्मा बसेकाे घरसम्म पुग्याैँ ।
आँगन बेगनबेलीले मजाले सजिएको थियो । गमलामा विभिन्न जातका फूलले महकाएर हामीलाई स्वागत गरिरहेको भान हुन्थ्यो । तल्लो तलाको फ्ल्याटको पूर्वपट्टीको काेठामा ढोका खोलेर भाउजू शान्ता हुनुहुँदो रहेछ । मुसुक्क मीठो मुस्कानका साथ हामीलाई बोलाएर भित्र लगेपछि सीधै डाक्टर साहेबको लेखन कक्ष, पुस्तकालयमा लानु भयो । सानो कफी टेबलमा सोफामा बसेर लेखिरहेका डाक्टरले हामीलाई हेरेर किन आएको रुबस भन्नुभयो । रापिलो, तेजिलो र कडा बोली सुन्दा मनमा कताकता अलि असहज महसुस भएको थियो । तर फेरि मुसुक्क हाँसेर यस्तो झ्याउरे लेखककहाँ पनि आँउछन् होगी मान्छे ! भनेपछि बिस्तारै अघिल्लो अनुभूति हरायो । यति ठूलो लेखकले किन ‘झ्याउरे’ शब्द प्रयोग गरेको होला भन्नेतिर मन दौड्यो ।
उहाँको लेखनको बहाव नरोकिएकोले उहाँ लेख्दै हुनुहुन्थ्यो । मैले भने कोठाको भित्ता पढेँ जहाँ दुईवटा हातले कलाकारले बनाएका दुई चित्र सजाइएका थिए । एउटा महाकवि देवकोटाको अनि अर्को आफ्नै । सोफा सामान्य । किताबहरू सीसाबाट देखिने चारवटा दराजमा मिलाएर राखेका, ठाउँ नपुगेका पुस्तकलाई पनि तल कपडा ओछ्याएर मिलाएर पङ्तिबद्ध बनाएर राखेका । जसले पुस्तकप्रतिको स्नेह झल्कन्थ्यो । कोठा चिटिक्क, मान्छे स्निग्ध, सफा र चिटिक्क । घरबस्दा पनि चिटिक्क र सफाचट पोशाक देख्दा गजब लागेको थियो । किनभने अरू कतिपय सचिव र ठूला मान्छेकहाँ जाँदा मैले रफ देखेको थिएँ । व्यक्तित्व बडो गहकिलो लाग्यो उहाँको।
हामी पुगेको बेला उहाँ भर्खरै अमेरिकाबाट फर्कनुभएको रहेछ । उहाँले कलम बन्द गर्नुभयो र भन्नुभयो तिमीलाई चिनिन जस्तो छ, घर कहाँ अरे तिम्रो ? ‘मेरो नाम उदय निरौला घर नामसालिङ इलाम’ भनेँ । उहाँले शिक्षा जागिरको विषयमा पनि सोध्नुभयो । अनि सबैथोक हुनु मजस्तो साहित्यकार, लेखक नहुनु भन्नुभयो । मलाई पछिसम्म किन त्यत्रो ठूलो विद्वान साहित्यकारले यस्तो भन्नुभयो होला भन्ने लागि नै रह्यो ।
पछिल्ला भेटहरूमा पनि मैले त्यस विषयमा थाहा पाउन सकिनँ । २०४८ सालपछि मेरो र उहाँको सिफलको एक अफिसमा निरन्तर भेट भयो । हामीले सँगसँगै आठ दस महिना कुनै एक एनजीओमा काम गरेका थियौँ । र हामी सँगै डाक्टर मोहन हिमांसु थापाले पनि काम गर्नुभएको थियोे । त्यसबेला सधैँ भेट भयो । अनि थाहा भयो- उहाँले साहित्यकारले दु:ख झेल्नुपरेको कारण त्यसो भन्नुभएको रहेछ । यद्यपि उहाँलाई भने त्यस्तो दु:ख कहिल्यै भएन । सधैँ ट्याक्सी नै चढ्नु भयो अनि चिटिक्क टाईसुटमा नै हिँड्नु भयो । राज्यले उहाँको कदर गरेन त्यो अर्कै कुरा हो ।
मनमा छल, कपट र तमस नभएको कारण सदैव अरूले सस्तोमा उहाँलाई प्रयोग गरे । मलाई धेरै स्नेह दिनुभयो । मदन पुरस्कार प्राप्त उहाँको ‘बेलाइत तिर बरालिँदा’ नेपाली साहित्यको हालसम्मकै सर्वोत्कृष्ट यात्रा निबन्ध हो । यो पुस्तक उहाँले आफ्ना राम्रा अक्षरले ‘स्नेही भाइ उदयलाई’ भनेर लेखेर दिनुभएको थियो । जबकि त्यो किताब मैले त्यसअघि नै किनेरै पढेको थिएँ । उहाँले पाताल प्रवास, नेपालदेखि अमेरिकासम्म आदि अरू धेरै पुस्तक मलाई दिनुभयो । उहाँलाई २०४९ साल मार्ग १ गते नेपाली कांग्रेसको सरकार भएको बेलामा राईजिङ नेपालको प्रधान सम्पादक बनाइयो । घर चलाउने हिसाबले उहाँले योग्यताभन्दा तल्लो स्तरको त्यो पद पनि स्वीकार गर्नुभयो । यद्यपि पछिल्ला कुनै सरकारले उहाँलाई कुनै पद-पदवी दिएनन् । यो सम्झदा बडाे दुःख लाग्छ । त्यस्तो व्यक्तित्व र विद्वान भएर पनि उहाँलाई राज्यले प्रयोग गर्न जानेन वा सकेन । पछि पछि अनेक स्कुल र कलेजमा उहाँले पढाउनु भयो । पुन: अमेरिका पनि जानुभयो, यो दुखद पक्ष हो ।
उहाँमा विश्व बिद्यालयको कक्षा कोठामा उभिएर पढाउन र बिद्यार्थीलाई बुझाउसक्ने खुबिको बिषयमा मेरा एक अभिन्न मित्रको भनाइ यस्तो छ -‘उहाँले चार्ल्सडिकेन्सको टेलर पढाँउदा कथाका पात्रहरूको अभिनय समेत गराउने र अरू पनि यस्तै कविता,कथाा,उपन्यासमा जो अँग्रेजि साहित्यका हुन्थे बढो बुझाएर ठ्याक्कै लेखकको अभिनय गर्दै पढाउने ।’
उहाँको ओझेल परेपछि कृती पढेपछि एकजना नामचलेका बिद्वान प्राध्यापकले ओहो सर्लक्कै इलाम र पाँचथरका गाँऊ अनि त्यहाँका मानिससँग गफिन पुग्छ पाठक भन्नुहुन्थ्यो ।’दुई पोका चुरा’पढ्दा नेपाली गल्ली तिरको परिवेश ग्राहक र बेच्नेका वार्तालापहरू अनि ती सानातिना होटलहरू ऊ बेला पाठक खानै पुग्छ ,स्वादै लिन पुग्छ पाठक पनि ‘भनी साथीहरू माझ कुरा भएको बिगत म भुल्न सक्तिन।
उहाँका किताबको चर्चा त समालोचकहरूले गरेकै छन् साहित्य इत्तर समेत १८७ पुस्तक लेखेर पाठक समक्ष पुर्याउन सक्ने जसतसको सामर्थ्य हुन सक्दैन । पाठ्यपुस्तकदेखि अनुदित ग्रन्थहरू अनि साहित्यमा त्यत्तिकै यस्तो प्रकारको अक्षुण्ण र अद्भुत प्रतिभा त नेपालमा सायदै अरू कसैको होला । उहाँको दैनिकी नै बिहानको चिया चमेना पछि लेखन, दिनभरी चल्थ्यो। फुलटाइम लेखक उहाँ । अनेकौँ प्रपञ्च नगर्ने त्यसैले उहाँलाई लोभी पापीहरू देख्न सक्तैन थिए । त्यसै कारणले अवधि पुरै नगरी राईजिङ नेपालबाट पनि राजिनामा दिनुभयो ।
त्यसपछि उहाँको मौलिक कृती लेख्ने बाहेकको काम नहुँदा अलिकति कठिनाइ त हुने नै भयो । मैले अष्ट्रेलियामा डाक्टर साब भन्दा तल्लै स्तरका कवि लेखकहरूलाई राज्यले स्विमिङ पुल समेतको हवेली बनाईदिएर मासिक तलव दिएर राज्यले सँरक्षण गरेर साहित्यकारहरूलाई राखेको पनि देखेँ । उनीहरूलाई हामीले भेट्न खोज्दा पिएले फोन उठाँउछन् र सोध्छन्, ‘तपाईं किन भेट्न चाहनुहुन्छ, उहाँको कुन कुन कृती पढ्नुभयो? उहाँ ऐले दुई महिना ब्यस्त हुनुहुन्छ । अनि उहाँलाई कति डोनेसन गर्ने ? आदि । हामी कहाँ जस्तो भेट्न सजिलो छैन।तर हामी कहाँ न कुनै कवि, साहित्यकार न कुनै कलाकार , न कुनै संगितकार गायक कसैलाई राज्य खोजी नै गर्दैन अरू त के ? स्वरसम्राट नारायण गोपाललाई कति बर्ष रेडियोमा गाउन दिइएन । स्वाभिमानी भएकाले उनले गाउनैका लागि कुनै गधा मन्त्रीको चाकरी पनि गरेनन् ।
नेपाली साहित्यका सूर्य डा. तारानाथ शर्माका विषयमा म लेखेर सक्दिन । दैवको खेल सबैले भोग्नै पर्ने खेल । उहाँमा यिनै दुई शब्द श्रद्धाञ्जलि अर्पण गरेको छु ।