प्रधान न्यायाधीशलाई महाअभियोग लगाएर राजनीतिलाई गलत दिशातर्फ लगियाे : महेश बस्नेत
काठमाडाैँ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतले वर्तमान सरकारले प्रधानन्यायाधीशलाई महाअभियोग लगाएर राजनीतिलाई गलत दिशातर्फ लगेको आरोप लगाएका छन् ।
राष्ट्रिय युवा संघ नेपाल रुपन्देही सियारी गाउँपालिकाको प्रथम अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले वर्तमान सरकारले एमालेलाई बदनाम गर्न खोजेको बताउँदै सरकारले नै एमसीसी सदनमा पेश गर्ने र प्रचण्ड, माधव नेपालकाे पार्टीले एमसीसीविरुद्ध सडकमा प्रर्दशन गरेजस्तो गरेर नक्कली राष्ट्रवाद देखाएको आरोप लगाए ।
उनले आफ्ना पार्टीका नेताहरूको नाम लिन डराउने तर एमाले र केपी ओलीको नाम जोडेर सदनमा एमसीसी पेश गर्न लागेकोमा खेद प्रकट गर्दै वर्तमान गठबन्धन सरकार ‘आफैँ धामी आफैँ बोक्सी’ बनेको आरोप लगाए।
बस्नेतले एमाले विकास प्रेमी,राष्ट्रप्रेमी पार्टी भएकोले अबको निर्वाचनमा पहिलो पार्टी बन्नेमा कसैले रोक्न नसक्ने बताउँदै एमालेविरुद्ध गरिएको षड्यन्त्र चिर्न एमाले सक्षम रहेको जिकिर गरे ।
त्यस्तै, भेलालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेशका सचिव राजेन्द्र कँडेलले वर्तमान गठबन्धनको सरकारले स्थानीय निकायको चुनावको मिति घोषणा गरे पनि चुनाव गर्ने वा नगर्नेमा अन्यौलता छाएको बताए ।