विश्वकप छनोट : आज घरेलु टोली ओमानसँग खेल्दै नेपाल

काठमाडौँ ।  नेपालले आइसिसी टी-ट्वेन्टी विश्वकप ग्लोबल छनोट ए अन्तर्गत आज पहिलो खेलमा घरेलु टोली ओमानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ः४५ बजे ओमानको मस्कटमा रहेको अलअमरेत क्रिकेट ग्राउन्डमा शुरु हुनेछ ।

विश्वकप ग्लोबल छनोटको तयारीस्वरुप नेपालले यसअघि चार देश सम्मिलित टी–ट्वेन्टी सिरिज खेलेको थियो । यसमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो ।  सोही सिरिजको अन्य खेलमा संयुक्त अरब इरिमेटसँग (युएई) २५ रन र आयरल्यान्डसँग १६ रनले पराजित भएको थियो ।

यो पनि : ठूलो सपना पछ्याउँदै नेपाल, फेरि पनि ब्याटिङकै चिन्ता !

त्यसअघि नेपालले ओमानसँग टी-ट्वेन्टीमा पछिल्लो पटक सन् २०१९ मा खेलेको थियो । जसमा ओमानले नेपाललाई ६ विकेटले पराजित गरेको थियो । विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ मा विभिन्न आठ राष्ट्र सहभागी छन् । जसमा  आयोजक ओमानसहित नेपाल, बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र संयुक्त अरब इमिरेट्स (युएई) छन् ।

ती आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ । समूह १ मा नेपाल, क्यानडा, फिलिपिन्स र ओमान छन् भने समूह दुईमा युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् । प्रतियोगिता फाइनल पुग्ने दुई टोलीले आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अस्ट्रेलियामा हुने टी-ट्वेन्टी विश्वकपमा स्थान बनाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *