सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी
काठमाडौँ । सत्ता गठबन्धनको बैठक प्रधान मन्त्रीको सरकारी निवास बालुवाटारमा शुरू भएको छ । एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा बिहीबार सहमति नजुटेपछि आज फेरि बैठक बसेकाे हाे ।
आजको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ । साे बैठकअघि एमसीसीमा साझा धारणा बनाउने प्रयासमा सत्ता गठबन्धनका शीर्ष नेताहरुले छलफल थालेका हुन् । एमसीसी अनुमोदन गर्ने भए माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) गठबन्धनमा नबस्ने बताउँदै आएको छ ।
आजै बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच बिहान खुमलटारमा छलफल भएको छ । प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका थिए ।
माओवादीले अहिलेको अवस्थामा एमसीसी अगाडि बढाइए सरकार छाड्ने तर समर्थन कायमै राख्ने निस्कर्ष निकालेको छ भने एकीकृत समाजवादीले शनिबार मात्र निर्णय गर्ने भएको छ । शनिबार एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दैछ । जसपाले ठोस निर्णय लिन सकेको छैन । अध्यक्ष यादव माओवादी लगायत दलहरूको निर्णय कुरिरहेका छन् भने संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पास गर्नुपर्ने पक्षमा छन् ।
एमसीसीले दिएको समयसीमा सकिन १० दिन मात्र बाँकी रहँदा प्रधान मन्त्री शेरबहादुर देउवा तीव्र दबाबमा छन् । गठबन्धनले सहयोग नगरे प्रमुख प्रतिपक्षी एमालेको साथ लिएर अगाडि बढ्ने विकल्पमा पनि उनले गृहकार्य गरिहेका छन् ।