टी-ट्वेन्टी विश्वकप छनोट

नेपालको विजयी शुरुवात, ओमान पराजित

काठमाडौँ । टी–ट्वेन्टी विश्वकप क्रिकेट छनोटको पहिलो खेलमा नेपालले  विजयी शुरुवात गरेको छ । पहिलो खेलमा नेपालले ओमानलाई ३९ रनले हराएको हाे ।

११८ रनको सामान्य लक्ष्य पाएपनि नेपाली बलरको कसिलो बलिङ सामु ओमानका ब्याटरले लक्ष्य भेट्टाउन सकेनन् । ओमान १७ औँ ओभरमा ७८ रनमा अलआउट भयो ।

नेपालका कमलसिंह ऐरीले ३ तथा कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए । जितेन्द्र मुखिया र अविनास बोहोराको नाममा १–१ विकेट रह्यो । कमलले ३ ओभरमा १५ रन दिए । नेपालको कसिलो बलिङ सामु ओमानका कुनै पनि ब्याटरले खुलेर खेल्न सकेनन् । नसिम खुशीले २४ रन बनाउनुबाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

ओमानमा टर हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाएको हो । नेपालका लागि आरिफ शेखलले ३८, लोकेश बमले १६, ज्ञानेन्द्र मल्लले १५ र दिपेन्द्रसिंह ऐरीले ११ रन बनाए । यस्तै कुशल भुर्तेलले ५ र आशिफ शेखले ४ रनको योगदान गरे । कप्तान सन्दीप लामिछाने १६ रनमा नटआउट रहे । सन्दीपले ७ बलमा एक चौका र एक छक्कासहित १६ रन बनाए । ३७ बल खेलेका आरिफले २ चौका प्रहार गरे । ओमानका खवार अलीले ३ तथा बिलाल खानले २ विकेट लिए ।

नेपालले भोलि फिलिपिन्ससँग खेल्नेछ । नेपालको समुहमा ओमानसहित क्यानडा र फिलिपिन्स रहेका छन् । यो समुहबाट शिर्ष २ मा रहने टिम प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन् ।

यस्तो छ छनोटको संरचना
आइसीसीले यसपटक १६ देशलाई दुई समूहमा विभाजन गरेको छ । समूह ‘ए’मा ८ टिम छन् । त्यसलाई पनि ४-४ देशको ‘समूह’ बनाइएको छ । समूह चरणमा चार देश एकअर्कासँग राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गर्नेछन् । उप-समूहमा पहिलो र दोस्रो हुने देशले अर्को समूहको पहिलो र दोस्रो देशसँग सेमिफाइनल खेल्ने छन् ।

जहाँबाट फाइनल पुग्ने दुई टिमले यसै वर्षको नोभेम्बरमा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउँछन् । यसको अर्थ नेपालका लागि समूह चरणको शीर्ष दुईमा रहने पहिलो चुनौती रहँदा सेमिफाइनलको ‘आइरन गेट’ पार गर्नु अर्को चुनौती हुनेछ । समग्रमा नेपालको विश्वकप भविष्य प्रतियोगिताका चार खेलले तय गर्नेछ ।

नेपालको समूहमा कुन-कुन टिम ?
विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोटमा नेपाल रहेको समूहमा ८ देश छन् । जसमा आयोजक ओमानसहित फिलिपिन्स, क्यानडा, युएई, बहराइन, आयरल्यान्ड र जर्मनी छन् ।

यो समूहलाई पनि दुई समूहमा विभाजन गरिएको छ । जसको नेपाल समूह ‘ए’मा छ । जहाँ नेपालसँगै क्यानडा, फिलिपिन्स र ओमान छन् । यो समूहमा ओमान र क्यानडा नेपालका मुख्य चुनौतीका रूपमा हेरिएको छ । ती देशलाई पछि पारेर नेपाल सेमिफाइनल प्रवेश गर्नुपर्ने छ । यस्तै समूह ‘बी’मा युएई, बहराइन, आयरल्यान्ड र जर्मनी छन् ।

यो समूहबाट युएई र आयरल्यान्डलाई सेमिफाइनलका दाबेदार टिमका रूपमा हेरिएको छ । सेमिफाइनलमा पुगे नेपालले एक खेल जित्नु पर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *