गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान सुरु
काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबारबाट क्यालिब्रेशन फ्लाइट (यान्त्रिक परीक्षण उडान) सुरु भएको छ । थाइल्याण्डबाट आएको जहाजले शुक्रबार मध्याह्नबाट क्यालिब्रेशन फ्लाइट (परीक्षण उडान) सुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय रुपन्देहीले जनाएको छ । प्रत्येक दिन फागुन १५ गतेसम्म बिहान १० देखि बेलुकी साढे ५ बजेसम्म क्यालिब्रेशन फ्लाइट हुने र यो समयको बीचमा आन्तरिक उडान बन्द रहने कार्यालयको भनाइ छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक तथा आईसीबी–टूका व्यवस्थापक इञ्जिनियर प्रविन न्यौपानेले विमानस्थलको भौतिक निर्माण कार्यसम्पन्न भइ उपकरणहरु जडान भइसकेको जानकारी दिए । ग्राउण्ड, टावर, सञ्चार र भवनमा जडान गरिएका उपकरणले काम गरे/नगरेको जाँच गर्न यान्त्रिक परीक्षण उडान सुरु गरिएको न्यौपानेले बताए ।
एडिबीको सहयोगमा निर्माण गरिएको यो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछिको नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो । यो नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना हो ।