क्रिप्टो करेन्सीमा यसकारण गर्नु हुँदैन लगानी, राष्ट्र बैंकका प्रवक्ता र विज्ञको विचार (भिडिओसहित)
काठमाडौँ । क्रिप्टो केरेन्सी अंग्रेजीको ‘क्रिप्टो’ र ‘करेन्सी’ दुई शब्दको संयोजनबाट बनेको शब्द हो । क्रिप्टोको अर्थ लुकेको, छिपेको वा गुप्त भन्ने हुन्छ । र, करेन्सीको अर्थ मुद्रा हो । हातले छुन, पट्याउन, गोजीमा हाल्न नमिल्ने तर भर्चुअल वा विद्युतीय रुपमा कारोबार गर्न मिल्ने डिजिटल चित्र र त्यही चित्रलाई एउटा नाम दिएर चलाइने अनलाइन संकेतांक(कोड)हरु नै क्रिप्टो करेन्सी हो ।
यसको सुरुवात सन् २००९ मा सातोसी नाकामोतो नामका एक छद्म व्यक्तिले गरेका हुन् । उनले बिटक्वाइनको सुरुवात गरेका थिए । पछि बिटक्वाइन नै विश्वमा धेरै व्यक्तिले कारोबार गरिरहेको र धेरै मूल्यको ‘क्रिप्टो मुद्रा’ बनेको छ । निश्चित शर्तहरु पूरा गरेपछि माइनरले माइनिङ गरी यो डिजिटल मुद्रा उत्पादन गर्ने गरिरहेका हुन्छन् । कतिपय देशमा वस्तु खरिद, सेवाको शुल्क भुक्तानी र विद्यालयको शुल्क तिर्नसमेत क्रिप्टो करेन्सीको प्रयोग हुन थालेको छ ।
अमेरिकामा यसको प्रयोग बढिरहेको छ । त्यस्तै, पेरु, एलसाल्भाडोरले पनि क्रिप्टो करेन्सीलाई कानुनी मान्यता दिएका छन्। तर, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफले) यस्तो मुद्रालाई कानुनी मान्यता दिनु नहुने भन्दै त्यसलाई रोक्न ती देशलाई आग्रह गरिसकेको छ ।
पछिल्लो समय नेपालमा पनि यस्ता गुप्त मुद्रा र क्रिप्टो करेन्सीको नेटवर्किङ व्यवसायमा लगानी गर्नेहरु बढेको चर्चा हुन थालेको छ । यस्ता मुद्रा तथा मुद्राको नेटवर्किङ व्यापारमा संलग्न केही पक्राउ परेका पनि छन् । केहीविरुद्ध मुद्दा परेको छ ।
नेपालमा क्रिप्टो करेन्सीले कानुनी मान्यता पाएको छैन । तर, यस्ता मुद्रालाई कानुनी मान्यता दिनुपर्छ भन्ने घुमारो तर्क देशका ठूला उद्योगी, व्यवसायी, राजनीतिज्ञहरुबाटै विभिन्न ठाउँमा सुनिन थालेको छ ।
यस्तो अवस्थामा राष्ट्र बैंक, गृह मन्त्रालयलगायत निकायले भने यस्तो अवैध व्यवसायमा लगानी नगर्न र कारोबारमा संलग्न नहुन आग्रह गर्दै आएको छ । नेपाल राष्ट्र बैंकले भने यस्तो मुद्रा तथा व्यापारमा संलग्न नहुन आग्रह गर्दै आएको छ । यसै सन्दर्भमा नेपाल राष्ट्र बैंकका प्रवक्ता(कार्यकारी निर्देशक) डा. गुणकर भट्ट र अर्थविद् रामेश्वर खनालले मकालु खबरसँगको कुराकानीमा व्यक्त गरेको विचार यहाँ प्रस्तुत गरिएको छ :
व्यक्ति-व्यक्तिबीचको भुक्तानी सेटलमेन्ट मात्रै हो क्रिप्टोकरेन्सी, यो वैध छैन: डा. गुणाकर भट्ट, प्रवक्ता -नेपाल राष्ट्र बैंक
क्रिप्टो, भर्चुअल, हाइपर फन्डलगायतका शब्दावली अहिले निकै प्रचारप्रसारमा आएका छन् । यस्ता अवैध मुद्रा तथा नेटवर्किङ व्यापारको सञ्जालमा सर्वसाधारणलाई पनि जोड्न जानकारी गराउने काम पनि भइरहेको छ । तर, क्रिप्टो करेन्सीले नेपालमा कानुनी मान्यता नपाएको अवस्था छ ।
भिडिओ :-
विश्वका कतिपय मुलुकमा व्यक्ति–व्यक्तिबीचको कारोबारमा हुने भुक्तानीमा यसको प्रयोग हुँदै आइरहेको छ । सुरुमा यसको उद्देश्य चाहिँ व्यक्ति–व्यक्ति बीचको कारोबारको सेटलमेन्ट गर्नु थियो । कारोबारको भुक्तानीलाई विद्युतीय माध्यमबाट सहज बनाउने भन्ने थियो । तर, पछिल्लो समय यसलाई ‘एसेट’ (धन, सम्पत्ति)को रुपमा विकास गर्ने, यसमा लगानी गरेर धेरै प्रतिफल कमाइन्छ भनेर प्रलोभन दिने, प्रलोभनमा परेर लगानी गर्ने काम पछिल्लो समय भइरहेको छ ।
नेपालमा पनि ठूलो प्रतिफल पाइने लोभमा नेपालीले यस्ता अवैध डिजिटल मुद्रामा लगानी गर्ने र नेपालीको ठूलो लगानी डुब्ने अवस्था देखिएको छ । सर्वसाधारण ठगिने जोखिम देखिएको छ । यही जोखिमका कारण नेपाल राष्ट्र बैंकले दुई पटक सार्वजनिक सूचना प्रकाशित गरी क्रिप्टोकरेन्सी अवैध रहेको र त्यसमा लगानी नगर्न नेपालीलाई सचेत गराइसकेको छ ।
मुद्रा होइन क्रिप्टो करेन्सी : मुद्राको परिभाषामा क्रिप्टो करेन्सी पर्दैन । अर्थात् यो मुद्रा नै होइन । करेन्सी अर्थात् मुद्रा हुनका लागि पर्याप्त सुरक्षण(व्याकिङ) गरिएको हुनुपर्छ । जस्तो आम मानिसले बजारमा चलाउने नेपाली मुद्रा (नोट र सिक्का) को पर्याप्त सुरक्षण गरिएको छ । जस्तो नोट निष्काशन गर्न केन्द्रीय बैंक(राष्ट्र बैंकले) कम्तिमा ५० प्रतिशत सुनचाँदी, विदेशी मुद्रा सुरक्षणका रुपमा राख्नुपर्ने व्यवस्था छ ।
त्यस्तै, बाँकी ५० प्रतिशत राष्ट्र बैंकले सरकारको सुरक्षण पत्रमा लगानी गरेको हुनुपर्ने व्यवस्था छ । त्यसै व्यवस्थाअनुसार सुरक्षण गरिए बराबरको मूल्यको नोट निष्काशन गरिएको हुन्छ । त्यसो हुँदा अहिले चल्तिमा रहेको र राष्ट्र बैंकले छपाई गरी प्रचलनमा राखेको नोट तथा सिक्का च्यातियो, फुट्यो, नचल्ने भयो वा खोटो भयो भने राष्ट्र बैंकले साटेर अर्को नोट वा सिक्का दिन्छ । त्यस्ता खोटो नोटलाई नयाँ नोटले प्रतिस्थापन गर्छ । तर, क्रिप्टोकरेन्सीमा कसैले सुरक्षण (व्याकिङ) गरेको छैन । यसमा कसैको ग्यारेन्टी हुँदैन । त्यसो हुँदा यो मुद्रा होइन ।
क्रिप्टोमा लगानी बढे अर्थतन्त्र तहसनहस हुन्छ : वैदेशिक रोजगारीमा गएका नेपालीले नेपाल पठाउने विप्रेषणबापतको रकम यस्ता क्रिप्टोकरेन्सीमा लगानी गर्न थालेका छन् । यसले विप्रेषण आप्रवाहमा कमी ल्याउँछ । त्यस्तै, नेपालमै रहेकाले पनि लगानी गरेका छन् । केही मानिसले यस्ता मुद्रालाई कमाउने माध्यम बनाउन सक्लान् तर सबैले कमाउन सक्दैन । कानुनी मान्यता नभएकोले यसमा गरिएको लगानी डुब्न सक्ने जोखिम छ ।
क्रिप्टोमा लगानी भएर विप्रेषण घटेको अवस्थामा नेपालमा निक्षेप परिचालन, कर्जा विस्तार, तरलता व्यवस्थापन जस्ता विषय प्रभावित हुन सक्छन् । शोधनान्तर स्थिति घाटामा जाने, विदेशी विनिमयको अभाव हुने जस्ता समस्या आउने देखिएको छ । यसमा लगानी गर्नेको रकम नडुब्ने ग्यारेन्टी त छैन नै कारोबारमा संलग्नले कानुनी कारवाही भोग्नुपर्ने अवस्था पनि आउन सक्छ ।
नेपालमा पूँजी बजारलाई अझ व्यवस्थित गर्न बाँकी छ । नेपालमै उत्पादन हुन सक्ने कृषिजन्य उत्पादन पनि अहिले हामी आयातको भर परिरहेका छौँ । दैनिक उपभोग्य हरेक वस्तु आयात गरिरहेका छौँ । यसका लागि विदेशी मुद्रा आवश्यक हुन्छ । तर, क्रिप्टो जस्ता मुद्रामा लगानी भएर विप्रषेण घटेको अवस्थामा विदेशी मुद्रा सञ्चिती कम हुने र नेपालमा उत्पादन हुन नसक्ने वस्तु समेत विदेशबाट आयात गर्न नसकिने अवस्था सिर्जना हुन सक्छ । त्यस्तै, देशको पूँजी क्रिप्टोकरेन्सी जस्ता सट्टेवाजी बजारमा प्रवाह भए उत्पादनमूलक क्षेत्रमा लगानी घट्न जान्छ । यसबाट देशभित्र हुने उत्पादन निरन्तर ओरालो लाग्दै देश पूर्ण रुपमा परनिर्भर हुन जान्छ । देशको मुद्रा सट्टेवाजी बजारमार्फत विदेश पुग्छ । यसले देशको अर्थतन्त्रमा निकै ठूलो असर गर्दछ ।
भारतले पनि लघुवित्त क्षेत्रको स्थायित्वलाई असर गर्ने भन्दै यस्ता मुद्रालाई अहिलेसम्म वैधानिकता दिएको छैन । यस्ता मुद्रालाई निरुत्साहित गर्न खोजिरहेको छ । त्यसो हुँदा क्रिप्टोकरेन्सी अर्थतन्त्र सुधारको मुल आधार बन्न सक्दैन । बरु सट्टेबाजी व्यापारको जोलोमा अर्थतन्त्रलाई धकेन्दै लान्छ ।
क्रिप्टोकरेन्सी र सीबीडीसीमा के फरक छ ? : संसारमा डिजिटल कारोबारप्रतिको जागरुकता वा रुची बढ्दै गएपछि वैध डिजिटल मुद्राको खाँचो मससुस गरिएको छ । त्यही खाँचो पूरा गर्न केही मुलुकले वैध रुपमा केन्द्रीय बैंक डिजिटल करेन्सी(सीबीडीसी) प्रचलनमा ल्याउनेबारे अध्ययन गरिरहेका छन् । खास गरी केन्द्रीय बैंकले जारी गर्ने विद्युतीय मुद्रालाई चाहिँ ‘सीबीडीसी’ भनिएको हो । यो चाहिँ विद्युतीय मुद्रा नै हो । यो मुद्राको परिभाषाभित्र किन पर्छ भने यो भौतिक रुपमा चल्तीमा रहेका नोट र सिक्काको साटो विद्युतीय रुपमा कारोबारको भुक्तानी सेटलमेन्टका लागि ल्याउन खोजिएको मुद्रा हो ।
यस्तो मुद्रा ल्याउन राष्ट्र बैंकले पर्याप्त सुरक्षण राख्नुपर्छ । सुरक्षण राखेर नै विद्युतीय मुद्रा प्रचलनमा ल्याउँदा त्यसको ग्यारेन्टी राष्ट्र बैंकले गरेको हुन्छ । त्यस्तो मुद्रा खोटो भएर कहीँ नचल्ने हुँदैन । सीबीडीसीको भुक्तानीका लागि बैंकमा आफूले राखेको रकम बराबरको स्टकबारेको जानकारी ग्राहकले अनलाइनमा प्राप्त गर्ने र मोबाइल बैंकिङ वा क्युआर कोडबाट भुक्तानी गरेजस्तै मोबाइल वा अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था हुन सक्छ । यसबारे नेपाल राष्ट्र बैंकले अध्ययन अघि बढाएको छ ।
भारतको केन्द्रीय बैंकले सीबीडीसी ल्याउनेबारे अध्ययन गरिरहेको छ । भारतको बजेटमा पनि सीबीडीसीबारे अध्ययन गर्ने उल्लेख गरिएको छ । चीनको केन्द्रीय बैंकले केही समयअघि मात्रै यसको परीक्षण सुरु गरेको छ । सीबीडीसी प्रयोगमा ल्याउन आवश्यक प्रविधि, पूर्वाधार, सुरक्षा र पहिचान जस्ता विषय महत्वपूर्ण छ । यी विषयमा पनि बैंकहरुले ध्यान दिइरहेका छन् ।
क्रिप्टोकरेन्सीमा भने कुनै राज्य, सरकार वा सरकारी संस्था तथा बैंकहरु संलग्न छैनन् । यस्तो मुद्रामा कसैले सुरक्षण गरेको छैन । यस्तो मुद्रामा गरिएको लगानी जोखिममा परे वा डुबे त्यसको शोधभर्ना दिने वैध निकाय कुनै छैन ।
सीबीडीसीमा राज्य वा डिजिटल मु्द्रा निष्कासन गर्ने राष्ट्र बैंक र व्यक्तिको बीचमा बैंक तथा वित्तीय संस्थाहरुले समन्वय गर्ने काम गर्छन् । अहिले पनि गरिरहेका छन् । तर, क्रिप्टोमा यी सबै कुरा गौण हुन्छन् । त्यसो हुँदा क्रिप्टोकरेन्सीको प्रयोगले बैंकिङ प्रणालीको व्यवस्थापन, मौद्रिक नीतिको व्यवस्थापन, वित्त नीति निर्माण जस्ता विषयमा चुनौती थपिन सक्छ ।
क्रिप्टो करेन्सी जुवा हो, जुवा खेलेर पैसा कमाउनु पर्छ भन्नु सही होइन : रामेश्वर खनाल , अर्थविद
क्रिप्टोकरेन्सीमा गरिएको लगानीले देशलाई कुनै पनि फाइदा छैन । उत्पादन वृद्धि, रोजगारी सिर्जना, निर्यात वृद्धि, गरिबी निवारण, लैंगिक असमानता घट्ने, आर्थिक वृद्धि हुने भए क्रिप्टोकरेन्सीमा गरिएको लगानीलाई जायज मानिन्थ्यो । जस्तो सेयर बजारमा गरिएको लगानीले कम्पनीहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न पूँजी जुटाउन सक्छन् । लगानी विस्तार गर्न सक्छन् । जस्तो जलविद्युत् आयोजनाले जारी गरेको सेयरमा लगानी गर्दा जलविद्युतकोको विकास सघाउँछ । त्यस्तै, सिमेन्ट उद्योग, सेवा उद्योगले खोल्ने सेयरमा लगानी गर्दा त्यसले उत्पादनमा सघाउँछ । त्यसो हुँदा उत्पादनका लागि आवश्यक पूँजी जुटाउने माध्यम सेयर हो । तर, क्रिप्टो करेन्सीले त यस्तो केही लाभ देशलाई हुँदैन ।
क्रिप्टोकरेन्सीमा गरिएको लगानी जुवा खेलेको जस्तै हो । जुवामा बिनाउत्पादन एउटाले पैसा कमाउँछ । एउटाले क्षणमै आफ्नो सारा सम्पत्ती गुमाउन सक्छ । सोझा साझालाई लुट्ने र खास व्यक्तिमा पुँजी संग्रहित गर्ने खास माध्यम हो क्रिप्टोकरेन्सी । त्यसो हुँदा क्रिप्टोकरेन्सीमा लगानी गर्नु हुँदैन । यो जायज र वैध छैन । वैध बनाउनु पनि हुँदैन ।
एलसालभाडोर, पेरु जस्ता मुलुकले क्रिप्टोकरेन्सीलाई स्वीकार गरे । वित्तीय संकट तथा विदेशी मुद्राको संकट हटाउँछ कि भनेर यसलाई स्वीकार गरे । तर, अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ)ले यसलाई रोक्न वैध बनाउन नरोके उनीहरुले पाउने सहयोग रोक्ने बताइसकेको छ । क्रिप्टोकरेन्सी ठीक थियो भने चीनले यसलाई वैध बनाइसक्थ्यो । केही समयअघिसम्म क्रिप्टोकरेन्सी माइनिङ(उत्पादन) सबैभन्दा बढी चीनमा हुन्थ्यो । चीन क्रिप्टोकरेन्सी उत्पादनको केन्द्र थियो । यसले अर्थतन्त्र डामाडोल हुने भएपछि अहिले चीनले क्रिप्टोको सबै माइनिङ सेन्टर बन्द गरिसकेको छ । अहिले चीनका सबै लगानीकर्ताले कजाकास्तनमा डेरा सारेका छन् । अमेरिका चाहिँ खुला समाज हो, त्यसो हुँदा डुबे पनि व्यक्ति डुब्छन् भनेर सरकारले यसलाई खासै नियमन गरिरहेको छैन ।
त्यसो हुँदा क्रिप्टोकरेन्सी यसको समर्थनमा कसैले एक वाक्य पनि लेख्न र बोल्न सक्दैन । जसले यसको समर्थन गर्छ उसले भोलि नेपालमा मान्छे बेचेर पनि पैसा कमाउने कानुनी व्यवस्था गर्नुपर्छ भन्न सक्ला । त्यस्तो कुराको पछि लाग्नु हुँदैन ।
केही वर्षअघि युनिटी जस्तो अवैध नेटवर्किङ व्यापारमा लगानी गर्नेहरुको लगानी डुबेपछि अर्थमन्त्रालय घेर्न आए । म अर्थमन्त्रालयमा थिए । अवैध लगानी गर्ने आफू अनि सरकारले पैसा उठाइदिनु पर्ने, जनताको करबाट बनेको राज्य कोषबाट क्षतिपूर्ति गरिदिनु पर्ने माग पनि आए ।
युनिटीमा पैसा डुबाउने नेपालका राजनीतिज्ञ र ठूलाबढा नै थिए । त्यसो हुँदा अहिले पनि क्रिप्टोकरेन्सीमा ठूला नेता तथा उद्योगी व्यवसायीले लगानी गरे भन्दैमा सर्वसाधारणले लगानी गर्नु हुँदैन । त्यसो त अवैध लगानी कसैले पनि गर्नु हुँदैन । तर, जान्दाजान्दै बढी कमाउने लोभमा लगानी गर्नेलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने वा क्षतिपूर्ति दिन सक्ने कुरा हुँदैन । क्रिप्टोकरेन्सीमा लगानी गर्दा भोलि डुबे कसैले क्षतिपूर्ति दिँदैन भनेर अहिले नै सम्झनु र सम्झाउनु पर्छ ।