धरानः पर्यटनको सम्भावना र पालिकाले चाल्नुपर्ने कदम
धरान नेपालको चौथो नगरपालिका हो । वि.सं. २०१७ मा घोषणा भएको धरान नगरपालिकामा २०७१ वैशाखमा पाँचकन्या गाविसलाई र त्यही सालको मंसिरमा विष्णुपादुका गाविसलाई धरानमा गाभ्दै धरानलाई उपमहानगरपालिका घोषणा गरिएको हो । धरान प्राकृतिक रूपले सुन्दर त छ नै साथमा विभिन्न जातजातीको बसोबास, आधुनिक वस्ती, ऐतिहासिक र धार्मिक महत्व भएको सहरका रूपमा पनि चिनिन्छ । लाहुरेहरूको बस्तीका रूपमा पनि विशेष पहिचान बनाएको शहरलाई मिनी ब्राजिल, मिनि हङकङ, फेसेनेबलन सहर जस्ता अनेक उपमा पनि दिने गरिन्छ । साविकको कोशी अञ्चलका पहाडी जिल्लाहरूको प्रस्थान विन्दुका रूपमा रहेको धरान पछिल्लो समय कालो बंगुरका लागि पनि प्रसिद्ध छ ।
मुलुकको आर्थिक विकासका आधारहरू खोजिए । कृषि, जलस्रोत र विप्रेषणलाई आर्थिक समृद्धिको आधार मानियो । कृषिलाई आधुनिकीकरण गर्न कठिनाइ, जलस्रोतमा सम्भावना भएतापनि ठूलो लगानी र विप्रेषणलाई दीर्घकालीन आधार मान्न नसकिने हुँदा, समृद्धिको आधार खोजी गरिदा पर्यटन नै समृद्धिको आधार हो भनेर निष्कर्ष निस्कियो । यसैले सरकारले पनि पर्यटनलाई विकासको आधार मानेको छ । नेपालमा पर्यटनको विकासका लागि सन् २०२० लाई नेपाल पर्यटन वर्षको रूपमा घोषणा गरिएको थियो । सबै तहतप्काले यसलाई महत्व दिएर सामूहिक भावनाले पर्यटन वर्ष मनाउने क्रममा कोभिड- १९ ले यसलाई असर गरेको तीतो अनुभव हामीसँग आलै छ । अहिले पनि कोभिडको चंगुलबाट हामी निस्कन सकेका छैनौँ । तथापि सधैँ आफूलाई गुम्साएर राख्नुभन्दा लडेर अघि बढ्नुपर्छ भन्ने हेतुले हामी सबै आ- आफ्नो कार्यमा अघि बढिरहेका छौँ ।
प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता र साहसिक पर्यटन नेपालको मुख्य गहना हो । यसलाई एकीकृत गरी अघि बढ्न आवश्यक छ । पर्यटनमा महत्वका साथ हेरिने प्राकृतिक, सांस्कृतिक र साहसिक आकर्षण धरानमा विद्यमान् छन् । पर्यटनमा आवश्यक पर्ने मुख्य चार तत्व 4As- Attraction, Accesibility, Accommodation and Amenities (Facilities) अर्थात् आकर्षण, सहज पहुँच, खाना वास र अन्य सुविधाहरू । यी सबै चीजको व्यवस्था छ धरानमा । धरानको सुन्दरता नै यहाँको आकर्षण हो । यातायातको सुविधा सहज छ । खाना र बसाइका लागि नगरपालिकाको असोजसम्ममा ४२९ वटा होटल, लज तथा गेष्ट हाउस, ४३६ वटा रेस्टुरेन्ट छन् । यसैगरी २९ वटा ट्राभल तथा टिकट बुकिङ कम्पनी, ४ वटा प्याराग्लाइडिङ तथा साहसिक खेल कम्पनी, १५ वटा यातायात कम्पनी धरान उपमहानगरपालिकामा दर्ता छन् । यसैगरी युवा पर्यटकको रोजाइमा पर्ने पब, बार, दोहोरी साँझहरू पनि धरानमा छन् । यहाँ विभिन्न सामुदायिक पार्कहरू पनि छन् । २० वटा वडा रहेको धरानमा ‘एक वार्ड, एक पार्क’को अवधारणा पनि अघि बढेको छ । २ रातसम्म बिताउने पर्यटकका लागि प्रायः सुविधाहरू यहाँ विद्यमान छन् । अब यी पुर्वाधारलाई पर्यटनमा जोडेर उपार्जनको माध्यम बनाउन आवश्यक छ । जबसम्म धरान आर्थिक रूपले सबल हुँदैन तबसम्म समृद्धि हुन सक्दैन । यदि हामीले धरानको समृद्धिको आधार पर्यटनलाई मानेर अघि बढ्ने हो भने, यी सबै चीजको एकीकृत प्याकेज बनाइ प्रचार गर्नुपर्दछ ।
धरानको आर्थिक आधार
विगतमा…
– पहाडी बजार
धरानको आर्थिक स्रोत पहाडको बजार थियो । विभिन्न पहाडी जिल्लाहरूबाट किनमेलका लागि धरान झर्नैपर्ने अवस्था थियो । तर, आजभोलि इटहरीलगायत अन्य स्थानमा, धरानको बजार विस्तारै सर्दै गएको आभाष हुन्छ । पहाडतिरै पनि बजार विस्ता हुँदै गएका छन् ।
– पेन्सन
धरानलाई लाहुरेको सहर भनेर चिनिन्छ । केही समयअघिसम्म भूपू लाहुरेहरूको बाहुल्यता थियो । ‘रिटायर्ड’ भएर आराम गरेर बसिरहेका, उनीहरूलाई बेलायत सरकारले नागरिकताको व्यवस्था गरिदिएपछि विदेशिएका छन् । यो धरानको लागि दुर्भाग्य हो । जसले धरानको आर्थिक क्षेत्रमा असर गरेको छ ।
यो पनिः उज्याला लाहुरेले छोडेपछि निन्याउरो भएको छ धरान
– यातायात
अन्य स्थानमा यातायातको सहज सुविधा नहुँदा धरानबाट गाडी चढ्न सजिलो थियो । अन्यत्र आवतजावतका लागि वास बसेर बिहान सबेरै गाडी चढेर जाने गरिन्थ्यो । जसले धरानका होटल, लज, र अन्य व्यवसायीको बिक्री हुने गर्दथ्यो । अहिले प्रायः सबै स्थानमा सडक निर्माणले यातायातको सुविधा राम्रो भएको छ । जसले धरान गन्तव्य नभएर ‘ट्रान्जिट पोइन्ट’ बन्दैछ ।
वर्तमानमा…
– बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
दक्षिण एशियाकै औंलामा गन्न सकिने ठूला अस्पतालमध्ये बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि एक हो । जहाँ करिब ५ सय डाक्टर, हजार बढी कर्मचारी कार्यरत छन् । यसैगरी करिब हजार विद्यार्थी अध्ययनरत छन् । वर्षमा करिब ५ लाख बिरामी उपचारका लागि यहाँ आउने गर्दछन् । यसका साथै, वर्षमा एक पटक प्रवेश परीक्षाका लागि देश भित्र र बाहिरबाट समेत हजारौँ विद्यार्थी र उनीहरूका परिवार आउँछन् । जसले स्थानीय व्यवसायलाई टेवा पुगिरहेको छ । दुर्भाग्य भनौँ, अहिले त्यो परीक्षा पनि केन्द्रीकृत हुने अभ्यासमा छ ।
– विप्रेषण
करिब दुई लाख जनसंख्या रहेको धरानका सरदरमा हरेक घरबाट कम्तिमा १ जना विदेशिएको पाइन्छ । उनीहरूले आर्जन गरेर पठाएको विप्रेषणले धरानको बजारलाई मद्दत गरिरहेको छ । तर, यो दीर्घकालीन आधार भने होइन ।
भविष्य…
– पर्यटन
धरानको इतिहासमा आर्थिक स्रोतको दिगो आधार देखिँदैन । यदि दिगो आर्थिक समृद्धिको आधार हाम्रो चाहना हो भने पर्यटनलाई आधार बनाएर लाग्नुपर्छ । धरानलाई पर्यटनको हब बनाउने गुरुयोजनाका साथ पाइला चाल्नुपर्छ । यहाँ पर्यटक आकर्षित गर्ने तत्वहरू प्रायः सबै विद्यमान् छन् । यसका वरिपरि पर्यटकीय गन्तव्यहरू छन् । यो पूर्वको पर्यटनको हव बन्न सक्ने आधारसमेत देखिन्छ ।
विश्वव्यापी रूपमा हेर्दा पर्यटन गन्तव्यको ‘सर्किट ट्राङ्गल’ बनाएर अघि बढ्ने गरेको पाइन्छ । नेपाल भन्ने बित्तिकै ‘गोल्डेन ट्राङ्गल’ लाई बुझिन्छ । पर्यटन व्यवसायीहरूको पहलमा पूर्वमा पर्यटनको विकास गर्न अर्को पर्यटकीय ‘ट्राङ्गल’का रूपमा ग्रीन इष्टको अवधारणा आएको छ । धरान, इलाम र ताप्लेजुङलाई समेटेर तयार गरिएको यो अवधारणाले एकातर्फ धरानलाई यो क्षेत्रकै पर्यटनको नेतृत्वको अवसर आउन सक्छ । अर्कोतर्फ छोटो समयका लागि मात्र छनौट हुने यो क्षेत्र । भोलिका दिनमा पर्यटकको लामो बसाईका लागि आकर्षित गर्न सक्ने देखिन्छ ।
अहिलेसम्म हामीले वे- वास्ता गरेका छौँ । हिमालमा आधारित पर्यटन व्यवसाय । विश्वमै प्रख्यात अग्लो चुचरो सगरमाथा हाम्रै प्रदेश नं. १ मा छ । अन्तर्राष्ट्रिय बजारमा चिनिएको कन्चनजंगा एवम् मकालु हिमाल पनि हाम्रो प्रदेशमै छ । तर, यसलाई पर्यटनको प्रोडक्ट बनाएर बिक्री भने अन्य प्रदेशका व्यवसायीले गरिरहेका छन् । हामी भने गमक्क परेर हामीस’ग त हिमाल पो छ है भन्दै बसिरहेका छौँ । यदि धरानले नेतृत्व लिएर यस विषयको अध्ययन गर्ने । र, अहिले धरानमा पर्यटन विषय अध्ययन गरिरहेका विद्यार्थीलाई हिमालमा आधारित पर्यटन व्यवसाय गर्न प्रेरित गर्ने हो भने ‘एलाइट’ पर्यटकको आवागमन धरानमा हुनेछ । यसले धरानको पर्यटनको आम्दानीको आर्थिक सूचाङ्क ह्वात्तै माथि उठाउन सक्छ । यसका लागि हामीले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन पहल भने गर्नु जरुरी छ । यसबाट धरान मात्र होइन । धरान वरपरका अन्य सहरले पनि फाइदा लिनसक्छ । पर्यटनमा कहिले पनि एक्लै अघि बढ्न सकिन्न । अन्य गन्तव्यसँग पनि कनेक्टिभिटी आवश्यक पर्छ । धरानमा पर्यटन (आधुनिक इतिहास)
बाघम्बर बाबाले पिण्डेश्वरलाई, वनखण्डी बाबाले रामधुनीलाई र औलियाबाबाले चतरालाई धार्मिकस्थलका रूपमा करिब डेढ सय वर्षअघि प्रचार गरेपछि यी क्षेत्रको पर्यटनबाट धरानले केन्द्रका रूपमा आफूलाई उभ्याएको हो ।
त्यसपछि वि.सं. २०३० को दशकमा स्वर्गिय पथिक कवि लक्ष्मीप्रसाद आचार्यले सुनसरी भरिका धार्मिकस्थलको अन्वेषण, अनुसन्धान र प्रचार गरेपश्चात् धरानको पर्यटनले वर्तमान स्वरूप पाएको हो ।
धरानले आफ्नो नारा ‘शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यापारिक पुर्वाधार, बहुसांस्कृतिक, आवासीय समृद्ध सहर’ यस नारामा पर्यटनलाई महत्व दिएको छ । अन्य स्थानीय निकायले पर्यटनको शाखा वा समिति गठन गर्नसम्म ध्यान पु¥याएको पाइदैन । तर, धरान उपमहानगरपालिकाले स्थानीय निर्वाचनबाट निर्वाचित भएर जनप्रतिनिधि आउने वित्तिकै पर्यटन समिति गठन गरी रु. १ करोड बजेट विनियोजन गरेको इतिहास छ । यो एउटा प्रयासको खुड्किलो पनि हो । साना- साना थोप्ला (डट) बाट राम्रो चित्र कोरिन्छ, भन्ने मलाइ लाग्छ । यस्तै केही वर्ष यता धरान उपनगरपालिकाले पर्यटन विकासको अभ्यास थालेको छ । धरानले पर्यटनको सून्दर चित्र कोर्न लागेको छ । यो धरानको पर्यटनको लागि सुनौलो अवसर पनि हो । अब, अभ्यासबाट माथि उठ्ने बेला आएको छ । अहिले सबैले आ- आफ्नो तवरबाट योजना बनाएर अघि बढिरहेका छौँ । धरान उपमहानगरपालिकाले धरानको पर्यटनको मोडेल कस्तो बनाउने हो, रेखाङ्कन (मास्टर प्लान) तुरुन्तै बनाउनुपर्ने आवश्यकता छ । मास्टरप्लान बनाउनका लागि आफ्नो बजेट वा आम्दानीलाई ध्यानमा राखेर, पर्यटन विज्ञ, वडाहरू, नजिकका गन्तव्य, पर्यटनसम्वद्ध संघसंस्था, पर्यटन व्यवसायी, अभियन्तालगायतस’ग समन्वय गर्नु पर्दछ । अहिलेको पर्यटनको रूपरेखा र अब कस्तो बनाउने भन्ने रूपरेखा तय गर्न अत्यन्त आवश्यक छ । नगरले बनाएको मास्टर प्लानअनुरूप सबै वार्डहरू पनि परिचालित हुनुपर्दछ । अनि मात्र लक्ष्यमा पुग्न बल मिल्छ ।
धरानको पर्यटनका पुर्वाधारहरू
– धार्मिक पर्यटन
(विजयपुरका मन्दिरहरूः बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर, पाँचकन्या), इस्कोन मन्दिर, शनि मन्दिर, विश्वकर्मा मन्दिर, गीता मन्दिर, विष्णुपादुका मन्दिर । धरान वरपर रहेका अन्य धार्मिक पुर्वाधारहरूबाट पनि धरानको पर्यटनले फाइदा लिन सक्ने पुर्वाधारहरू हुन् ।
– पर्या पर्यटन
धरानका सामुदायिक वनहरू, भेडेटार, कोसीटप्पु र कोसी पहाडका गन्तव्यहरू हामीसँग नभएपनि धरानले ती पुर्वाधारहरूमा आधारित व्यवसाय गर्न सक्ने देखिन्छ ।
– साहसिक पर्यटन
र्याफ्टिङ, प्याराग्लाइडिङ, साइकिलिङ, माउण्टेन बाइकिङ, क्यानोनिङ, गल्फ, एड्भेन्चर पार्कलगायत ।
– अन्य आकर्षण
धरान घण्टाघर, वि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, गल्फ कोर्ष, बगरकोट, विपि पार्क, रक गार्डेन, भ्यु पोइण्ट, चैत्य गुम्बाहरू, पार्कहरू, ।
– सांस्कृतिक आकर्षणहरू
राई जातीको साकेला सिली, लिम्बु जातीको धान नाच र केलाङ नाच, मगर जातीको हुर्रा नाच, नेवार जातीको लाखे नाचलागयत अन्य जातजातिले आ- आफ्ना जातीय पर्वमा गरिने सांस्कृतिक कृयाकलाप आदि हुन् ।
(यसलाई वार्षिक क्यालेण्डर बनाएर पर्यटन प्रोडक्ट बनाउन सकिन्छ ।)
धरान वरपरका पर्यटकीय गन्तव्य वा केन्द्रहरू
भेडेटार, नाम्जे, डा’डाबजार, हिले, वसन्तपुर, गुफापोखरी, यसैगरी तमोर कोरिडोर बनेपछि धरानबाट ताप्लेजुङ पाथिभरा जान पनि सहज हुन्छ । यी सबै गन्तव्य पुग्न धरानलाई छिचोल्नुपर्छ । यसैगरी कोशीटप्पु, चतरा बराहक्षेत्र पनि धरान नजिकै छ । यी क्षेत्रबाट धरानले प्रत्यक्ष अप्रत्यक्ष लाभ लिन सक्छ ।
धरानमा पर्यटनको सम्भावना
– धरान र धरान वरिपरि ऐतिहासिक र रमणीयस्थल छ । जसलाई धरानले पर्यटन प्रोडक्ट बनाउन सक्नेछ ।
– धरान नजिकै भारतका ३ वटा नाका जोगवनी, पशुपतिनगर र कांकडभिट्टाबाट यातायातको सहज सुविधा छ ।
– बिहारमा करिब १० करोड जनसंख्या र बंगालमा पनि करिब ९ करोड जनसंख्या रहेको छ । जसलाई हामी यहाँ आकर्षित गर्न सक्छौँ । यो धरानको पर्यटनका लागि ठूलो बजार पनि हो ।
– खेल पर्यटनका सुविधाहरू थप्न सकिन्छ ।
– चितवनको स्वाद कोशीटप्पुबाट दिन सकिन्छ ।
– किमाथांकाको बाटो बनेपछि चिनियाँ पर्यटक भित्रिने सम्भावना छ ।
– कञ्चनजंगा र मकालुको ट्रेकिङ प्याकेज धरानले बेच्न सक्ने सम्भावना प्रचुर छ ।
– अरुण प्रोजेक्ट र कोसी उच्च बाँधको प्रोजेक्ट आए ठूला लगानीकर्ताको नजर धरानमा पर्न सक्छ । जसबाट धरानले फाइदा लिन सक्छ ।
– चार वटा बाटोको जक्सन (रानी- किमाथांका, दमक- हेटौँडा, धरान- रवि राँके, धरान- ताप्लेजुङ अर्थात् तमोर करिडोरको निर्माण सम्पन्न भएपछि धरान पर्यटन हबका रूपमा विकास हुन झनै सहज हुनेछ ।
– अहिले सोसियल साइडले नेपालीमा घुम्ने संस्कारको विकास गराएको छ । यसले आन्तरिक पर्यटनको बढावा हुनेछ ।
समस्या
– पर्यटनमैत्री वातावरण नुहुन ।
– पर्यटन प्रोडक्ट यहि हो भनेर यकिन नहुनु ।
– पर्यटकीय गन्तव्यमा बसाइ लम्ब्याउन अन्य क्रियाकलापको कमी ।
– ठूला लगानी भित्र्याउन नसक्नु ।
– लगानीकर्तालाई सुरक्षाको अनुभूति नहुनु ।
– पर्यटकीयस्थल बाहेक अन्य पुर्वाधार नहुनु ।
– टार्गेट ग्रूप छुट्याउन नसक्नु ।
– गन्तव्यबीचमा अन्तरसम्बन्धको अभाव ।
– पर्यटकीय पुर्वाधारमा लगानी हुन नसक्नु ।
– आकर्षणहरूको वैभवतामा लगानी अभाव ।
– गतिविधिको अभाव ।
– सम्साझैं सुत्ने सहरको स्वरूप ।
– समयानुसार डिजिटलाइजेसनमा आफूलाई डोहो¥याउन नसक्नु ।
– गन्तव्यस्थलसम्म पहुँच मार्गमा उदासीनता ।
– पर्यटन प्रोडक्ट दिगो नहुनु ।
रणनीतिक कार्यहरू
– पर्यटकीय गुरुयोजना निर्माण ।
– पर्यटन प्रोडक्ट पहिचान, प्याकेजिङ ।
– टार्गेट ग्रूप पहिचान गरेर एकीकृत मार्केटिङ ।
– गन्तव्यबीच अन्तरसम्बन्धको पहल ।
– मन्दिरहरूको कोष निर्माण गरी सामाजीकिकरण ।
– धरानलाई सौन्दर्यीकरण ।
– पर्यटनकर्मीलाई अन्तरसम्बन्धका लागि प्रेरित ।
– रणनीतिक योजना निर्माणमा सर्वपक्षिय सहभागिता ।
– लगानीकर्तालाई आकर्षित गर्ने कार्ययोजना र कार्यबिधी निर्माण ।
– पिपिपि मोडेल अर्थात्् (पब्लिक प्राइभेट पार्टनरसीप) को सहजीकरणका लागि पोलिसी निर्माण ।
– सन्ध्याकालीन बजार र गतिविधिको व्यवस्था ।
– पर्यटकलाई सुरक्षाको अनुभूतिमा पहल ।
– महिलालाई पर्यटन व्यवसायिक सहभागितामा सहजीकरण ।
– क्रस कटिङ थिमअनुसार पर्यटन लक्षित योजना ।
(विकास निर्माणका कार्य गर्दा पर्यटनको दृष्टिकोणबाट विशेष ध्यान दिने)
– वेबसाइटमा पर्यटनकलाई फोकस । (डाइरेक्टरी निर्माण)
– पर्यटन बोर्डको सहकार्यमा अन्तराष्ट्रिय सहभागितासहितको पूञ्र्वाचल पर्यटन मेलाका लागि वार्षिक बजेट विनियोजन ।
पुर्वाधारमा लगानी
– शिवजट्टामा सानो बाँध र तलाउ निर्माण ।
– दानाबारीमा टावर/भगवतीको ठूलो मूर्ति निर्माण ।
– विष्णुपादुकाको उत्तरी भेगमा होमस्टे प्रोत्साहन र ट्रेकिङ रुटको व्यवस्था ।
– दानाबारीमा होमस्टेका लागि प्रोत्साहन ।
– बसन्तटारमा मर्निङ वाक रुटको व्यवस्था ।
(अग्र्यानिक सागसब्जी उत्पादनमा उत्प्रेरणाका लागि)
– बसन्तटारमा होमस्टेका लागि प्रोत्साहन ।
– सन्ध्याकालीन बजार । (साना व्यवसायीलाई वित्तिय संस्थाहरूसँग सहजीकरणको भूमिका)
– ढाका उत्पादनको एकीकृत बजार ।
– फुस्रे- साँगुरीगढी (पुरानो र ऐतिहासिक बाटो) मर्मत गरी ट्रेकिङ रुटको विकास र नेशनल म्यापका लागि पहल ।
– मन्दिर वा घण्टाघर परिसरमा व्यवसायिक रूपमा स्थानीय पोशाक लगाउने व्यवस्था ।
– स्थानीय कोसेली वा चिनोको ब्राण्डिङ र उत्पादनमा निम्न वर्गको सहभागिता ।
– हात्तीसार र इन्जिनियरिङ क्याम्पसमा सँग्राहलय निर्माण । (शैक्षिक भ्रमणमा टेवा पु¥याउन)
– धरानको सुनचाँदी पर्यटकका लागि आकर्षण गराउने ।
– सांस्कृतिक पोशाकको व्यवस्था । (कार्यालय, विद्यालय)
– वर्षभरी प्रत्येक महिना उत्सवको क्यालेण्डर निर्माण ।
– सप्तरंगी पार्क तयार ।
– तारा स्मृति पार्क तयार ।
– सँग्राहलयको निर्माणमा पहलकदमी ।
– विजयपुरको जंगलमा मिनि चिडियाखानाको अवधारणा ।
– धरानबाहिर धरान उत्सवको आयोजना ।
– मुख्य सडकमा नो- पार्किङ ।
– धरान उत्तरको जंगललाई फूल फुल्ने जंगलमा रूपान्तरण ।
– तारहरूको भूमिगतकरण ।
पुर्वाधारका यस्ता थुप्रै कामहरू छन् जुन कार्यहरू तत्काल र दीर्घकालको आवश्यकताअनुसार हुनु पर्दछ । र, अर्काे कुरा सबै पुर्वाधारहरू स्थानीय निकायले र सरकारले मात्र पनि निर्माण गर्न सम्भव हुदैन । यसैले नगरले उपल्लो तहस’ग समन्वय गरेर नीजि क्षेत्रलाई नगरले अघि बढाएको प्रोजेक्टहरूमा साझेदारी गराउने कार्यको थालनीमा पहल गर्नुपर्ने देखिन्छ । यसले हाम्रा योजनाहरू चा’डै सम्पन्न हुन्छन्, साथै व्यवसायिक रूपमा अघि बढ्छ । जसले गर्दा नगरको आम्दानी बढ्नमा थप मद्दत पुग्दछ । नगरको आम्दानी बढ्नु भनेकै नगरवासीका लागि स्वतः फाइदा हो । नगरको विकास निर्माणहरू चाँडै पूरा हुन्छन् ।
निष्कर्ष
धरान प्रदेश १ काे सबैभन्दा धेरै पर्यटकीय आधार र गतिविधि भएको क्षेत्र हो । धार्मिक, पर्या पर्यटन, साहसिक र सांस्कृतिक गतिविधि, आधुनिक सहरी परिवेश, पहुँचका दृष्टिकोणले पनि धरान पर्यटनको आधारक्षेत्र बन्न सक्ने देखिन्छ । तर कस्तुरीले आफ्नो विनाको सुगन्धको पहिचान गर्न नसके झैँ हामी पनि रुमलिरहेका छौँ । हामीले आफ्नो आधारहरूलाई चिन्न सकेनौँ । अर्कोतर्फ धरानले कहिले आफ्नो प्रचार धरान बाहिर गर्न सकेको छैन । चारकोसेको घेरा बाहिर धरानले आफ्नो प्रचार गर्ने प्रयास नगर्नु नै धरानको पर्यटन र आफ्नो नकारात्मक छविलाई उजिल्याउन नसक्नु हो । विगतको धराने सिर्जनशिलता, बौद्धिकता र राष्ट्रिय उपस्थितिको छवि क्रमिक रूपमा घट्दो देखिन्छ । विकासका मुद्दामा सधै विरोध र फरक धारणा आइरहने कारण पनि धरानको छवि ह्रासोन्मुख हुँदै गएको छ । यी सबै कुराहरू चिरेर धरानले एकीकृत विकासको सामूहिक अवधारण ल्याउन जरुरी भएको छ । सामूहिक र एकीकृत धारणालाई कार्यान्वयन गर्ने सन्दर्भमा सबै धरानवासी एक भएको खण्डमा धरान यो प्रदेशको सबैभन्दा समुन्नत र समृद्ध शहर बन्नेछ ।
(१२१ औँ धरान स्थापना दिवसको अवसरमा प्रस्तुत कार्यपत्रको सम्पादित अंश ।)