आयोगमा दर्ता हुने दलको संख्या १०९ पुग्याे
काठमाडाैँ । निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १०९ पुगेको छ ।
आयोगले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगमा थप तीन दल दर्ता भएको र हालसम्म दर्ता हुने राजनीतिक दलहरूको संख्या १०९ पुगेको जानकारी दिएको हो ।
त्यस्तै, स्थानीय तह निर्वाचन प्रयोजनका लागी सूचना प्रकाशित भए बमोजिम हालसम्म विभिन्न १० वटा दल राजनीतिक दलहरूले निर्वाचनमा भाग लिनका लागि निवेदन दिएको आयोगका सहप्रवक्ता सूर्य प्रसाद अर्यालले जानकारी दिए । त्यस्तै, मतदाता नामावली अद्यावधिकको विषय राजपत्रमा प्रकाशन गर्ने प्रयोजनका लागि कानून मन्त्रालयमा सूचना सम्पादनका लागि पठाइएको उनले बताए ।
मतदाता नामावली अद्यावधिक कार्य अन्तर्गत कुनै मतदाताले नामावली भएको आफ्नो विवरणमा त्रुटि सच्चाउन चाहे निवेदन दिन सकिने व्यवस्था गरिएको समेत उनले बताएका छन् । त्यस्तै, आयोगले मतदाता परिचयपत्र हराए वडा कार्यालयको सिफारिससहित सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिएर परिचय उपलब्ध गराउने व्यवस्था पनि गरिएको अर्यालले बताए ।
आयोगले प्रतिपर्धात्मक तवरले निर्वाचन सामाग्रीको खरिद गर्न २३ प्रकारका निर्वाचन सामाग्रीहरूको खरिदका लागि बोलपत्रसम्बन्धी सूचना प्रकाशन गरिएको पनि जानकारी दिएको छ ।