फास्टट्र्याक ठेक्का प्रक्रियाको विवरण पेश गर्न सरकारलाई संसदीय समितिकाे निर्देशन

काठमाडाैँ । संसदीय समितिले काठमाडौँ–तराई मधेश द्रुतमार्ग आयोजनाको प्याकेज नम्बर ४ र ५ को ठेक्का प्रक्रियाको यथार्थ विवरण पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले आयोजनाको प्याकेज नम्बर ४ र ५ को ठेक्का प्रक्रिया पूर्व तयारीको कार्य सम्पन्न नगरी शुरू गरेको र कानुन सम्मत नभएको भनी प्रश्न उठेको भन्दै यसको यथार्थविवरण सात दिनभित्र समितिमा पेश गर्न रक्षा मन्त्रालय र आयोजनालाई निर्देशन दिएको हो ।

त्यस्तै, बैठकले फाल्गुन २६ र २७ गते काठमाडौँ–तराई मधेश द्रुतमार्ग आयोजनाको स्थलगत अवलोकन गर्ने निर्णय पनि गरेको समिति सभापति कल्याणी खड्काले जानकारी दिए । बैठकले आयोजना अध्ययन गठित उपसमितिको म्याद दुई महिनाका लाथि थप गर्ने निर्णय गरेको उनले बताए ।

बैठकमा आयोजनाका निर्देशक प्रविधिक सहायक रथी विकास पोखरेलले खोकनामा भएको जग्गा समस्या समाधानको प्रयास भइरहेको बताए । उनले आयोजनामा देखिएका अन्य समस्या समाधानका लागि मातहतका मन्त्रालयसँग समन्वय भइरहेको जानकारी दिए ।

त्यस्तै, समिति सदस्यहरूले आयोजनामा देखिएका समस्याहरूलाई समाधान गर्दै तोकिएको समयमा नै सम्पन्न गर्नुपर्ने धारणा राखेका थिए । २०८१ को पुस महिनासम्ममा आयोजनाको निर्माण सक्ने तयारी सेनाको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *