गठबन्धन टुटे विचराहरू धुलोपिठो हुन्छन् : ओली
पोखरा । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधान मन्त्री केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धन टुटे निर्वाचनमा धुलोपिठो हुने बताएका छन् । पोखरामा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘यो गठबन्धन टुट्दैन र टुट्न हुँदैन । यो टुट्यो भने विचराहरू धुलोपिठो हुन्छन् ।’
उनले स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई उठ्नै नसक्ने गरी पछार्ने चेतावनी दिए । ‘हामी लड्न बोलाउँदा वान वाई वान होइन पाँचै दल आउ भनेर बोलाउँछौं । पाँचै दल एकैचोटी आउ । वैशाख ३१ गतेको चुनाव सार्न अनेक तिकडम गरिरहेका छन्,’ उनले थपे ।
‘प्रधानन्यायाधीशमाथि महाअभियोग लगाएका छन् । अनि टुट्छ गठबन्धन् ? यिनको हुती छ गठबन्धन टुटाएर एक्लै लड्ने ? एकपल्ट हामी त्यहाँ सात दिन नउठ्ने गरी पछार्छौं । यिनीहरूको जस्तो सडकमा ढुंगा हानेर हैन, जनताको पवित्र मतबाट ।’
अध्यक्ष ओलीले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खरो विरोध गरे । चिनियाँ कथामा पुतलीले मान्छेको सपना देखेको र पछि फेरि मान्छे भएपछि आफू अलमलिएको कहानी सुनाउँदै उनले प्रचण्डको चरित्र पनि छुट्याउन नसकिने बताए । ‘सेप्टेम्बर २९ तारिखमा शेरबहादुर देउवासँग मिलेर प्रचण्डले ४–५ महिनामा एमसीसी पास गर्छु भनेर संयुक्त पत्र पठाएका छन् । अस्ति फेरि एमसीसी पास नगर्ने भनेका छन्,’ उनी भन्छन्, ‘यो मान्छे हो कि पुतली हो रु कुन सहि हो, कुन गलत हो ?’
उनले एमसीसी पास गर्नका लागि सरकारसँगै पर्याप्त मत रहेको भन्दै एमाले पन्छिन खोजेजस्तो गरेका छन् । उनले भने, ‘सरकारसँग १ सय ६५ मत छ । एमसीसीको बारेमा हामीले चिन्ता लिनुपर्दैन । नेकपा एमाले देश र जनताको हितभन्दा बाहिर, कसैका धाक धम्कीका पछि लाग्दैन । देशको हितका पक्षमा के छ भन्ने कुरा छुट्याउन सक्छ ।’ ओलीले एमसीसी ल्याउनेहरूले नै अहिले सडकमा बबण्डर गरिरहेको आरोप लगाएका छन् ।