एमसीसी पारित : गठबन्धनको ‘संकट’ माओवादीमा सर्‍याे

विशेष सम्बोधन गर्दै प्रचण्ड

काठमाडौँ । अन्ततः अमेरिकी सहायता परियोजना एमसीसी नेपालको संसद्‌बाट पारित भएकाे छ । १२ बुँदे ‘व्याख्यात्मक घोषणा’ सहित नेपालले स्वीकारेको एमसीसी फागुन १५ गते नेपालको संसद्‌बाट पारित भएको हाे ।

नेपालले सम्झौतामा हस्ताक्षर गरेको ४ वर्ष ६ महिना र दर्ता भएको २ वर्ष ८ महिनापछि एमसीसी संसद्‌बाट पारित भएकाे हाे । सम्झौतामा हस्ताक्षर गर्दा ०७४ भदौ २९ गते र पारित हुँदा ०७८ फागुन १५ गते दुवै पटक नेपालको प्रधान मन्त्रीमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा छन् भने हस्ताक्षर गर्दा अर्थमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की थिए, पारित हुँदा जनार्दन शर्मा ।

यो बीचमा एमसीसीकै कारण सत्ता गठबन्धन झन्‌झनै फुट्यो । सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेस जसरी भएपनि एमसीसी पारित हुनुपर्छ भन्ने धारणा राख्थ्यो भने सत्ता साझेदार दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादीसँगै संसद्‌मा एक सिट भएको राष्ट्रिय जनमोर्चा त्यसको खिलाफमा थिए । यसकै कारण गठबन्धन फुटिहाल्न मात्रै सकेन । फुटकाे डिलमा पुगि नै सकेकाे थियाे ।

प्रधान मन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष दल एमालेको साथसमेत खोजे । वार्ता मात्रै दर्जनौं पटक गरे भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई झस्काउनकै लागि भएपनि प्रधान मन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगकाे वार्तालाई जारी राखे ।

त्यसमा प्रचण्डले समेत प्रधान मन्त्री देउवालाई नै तर्साउने रणनीतिअनुसार ओलीसँग वार्ता गर्न भ्याए । उता ओलीको शर्त र माग भने खास फेरिँदैन थियो । साउन २३ यताका सबै संसद् बैठक अवरुद्ध गर्दै आएको एमाले सजिलै प्रधान मन्त्री देउवा र प्रचण्डको प्रस्तावमा मान्न तयार थिएन । त्यसो त एमसीसीमा आफ्नो कदमलाई साथ दिन प्रस्ताव गर्दै ओलीसमक्ष पुगेका प्रधान मन्त्री देउवा र प्रचण्डसँग खास उपलब्धिमूलक वार्ता भने भएन, ओलीले आफ्नो अडान कहिल्यै छाडेनन् ।

यसपछि गठबन्धनभित्रै समाधान खोज्न थालेका दलहरूले अन्ततः व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने उपाय निकाले र सोहीअनुसार एमसीसी पारित भयो । यसपछि गठबन्धन अब सुरक्षित ठाउँमा आएको छ । नेताहरूले अब यही पाँचदलीय गठबन्धनले तीन तहको निर्वाचन गराउने दाबी गर्दै आएका छन् । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भनेका छन्— ‘अब गठबन्धन जाेगियाे । यसमा हामी खुसी छाैँ । एमसीसी जसरी भएपछि टुङ्ग्यायाैँ । अब याे सरकारले चुनाव गराउँछ र नयाँ जनादेशबाट देश सञ्चालन हुन्छ ।’

तर, गठबन्धनको संकट टरेपनि एमसीसीविरोधी दल माओवादीमा केन्द्रमा भने असन्तुष्टि चुलिन थालेको छ । माओवादीका शीर्षस्थ नेताहरूले नै असन्तुष्टि पोखेका छन् । एमसीसी पारित हुनासाथ नेता नारायणकाजी श्रेष्ठले आफ्नो आधिकारिक फेसबूक ह्यान्डलमार्फत भने— ‘अन्ततः व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसीसी सम्झौता संसद्‌बाट अनुमोदन गराइ छाडे । आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रूपमा लिनेछन् । सम्पूर्ण देशभक्त शक्तिहरू एकताबद्ध होऔं र नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राखौँ ।’

उसो त केन्द्रीय कार्यालयको विस्तारित बैठकमा पार्टी अध्यक्ष प्रचण्डले ‘व्याख्यात्मक घोषणा’सहित पारित गर्ने प्रस्ताव गर्दा नै ५ नेताहरूले मौखिक आपत्ति जनाएका थिए । नेता श्रेष्ठसँगै प्रमुख सचेतक देवप्रसाद गुरुङ, पूर्वस्थायी समिति सदस्यहरू गिरिराजमणि पोखरेल, कृष्णबहादुर महरा र लीलामणि पोखरेलले मौखिक रूपमा गम्भीर असहमति जनाए । प्रचण्डकाे प्रस्तावमा उनीहरूकाे भनाइ थियाे— ‘माओवादी कुनै निजी क्लब हाेइन, यसले जनताकाे हितमा काम गर्नुपर्छ । माओवादी केन्द्रले लिने निर्णय जनता, संविधान र देशकाे पक्षमा हुनुपर्छ ।’

कतिपय माओवादी नेताहरूले संसद्‌मै पनि एमसीसी पारित भइनहाल्नुपर्ने बताउँदथे । यद्यपि एमसीसी पारित भयो । यसपछि माओवादी भातृ संगठनदेखि सिङ्गो कार्यकर्ता जगत्‌मा पनि असन्तुष्टि चुलिँदो छ ।

यसपछि प्रचण्डले विशेष सम्बोधन गर्ने भएका छन् । उनकाे निजी सचिवालयका सदस्य रमेश मल्लकाअनुसार प्रचण्डले सम्भव रहेसम्म सोमबार अपराह्न र नभए मंगलबार बिहानसम्ममा विशेष सम्बोधन गर्ने छन् । उनले भनेका छन्, ‘एमसीसी संसद्‌बाट पारित हुँदासम्म के कसरी अगाडि बढियो, ती सबैको एउटा समग्र समीक्षा पनि अध्यक्ष कमरेडको सम्बोधनमार्फत हुनेछ । अनि अर्को त असन्तुष्टि कमरेडहरूको सन्दर्भमा पनि केही भन्नुहोला ।’

विस्तारित बैठकमा प्रचण्डकाे ‘व्याख्यात्मक घाेषणा’काे प्रस्तावमा आपत्ति जनाउनेमध्येका एक नेताले मकालुखबरसँग भनेका छन्— ‘हुन त एमसीसीकाे संसदीय अनुमाेदन एउटा अवस्था हाे । तर, हाम्राे पार्टीले यसकाे दीर्घकालीन पक्षबारे साेचेन कि जस्ताे लाग्छ । हामीले त्यसै भनेका हाैँ । हुनलाई त व्याख्यात्मक घाेषणा भनिएकाे छ । यसले पनि खास काम गर्छ कि गर्दैन हेराैँला ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *