भ्रष्टाचार आरोप लागेपछि उपमेयरसहित जनप्रतिनिधि र कर्मचारी निलम्बित
पोखरा । केही महिना अघिदेखि भएको एउटा अनुसन्धानले बागलुङ नगरपालिकाका उपमेयर, वडाध्यक्षसहित कर्मचारीहरूलाई आर्थिक अनियमितताको आरोप लगाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यहाँको बसपार्क निर्माणमा भ्रष्टाचार भएको पुष्टि गर्दै उनीहरू विरुद्ध विशेष अदालतका मुद्दा दर्ता गरेको हाे ।
मुद्दा दर्ता भएपछि छानबिनका लागि सहज बनाउन आरोपित जनप्रतिनिधि र कर्मचारी निलम्बनमा परेका छन् । उपप्रमुख सुरेन्द्र खड्कासहित तत्कालीन डिभिजन इन्जिनियर दयाराम पौडेल, इन्जिनियर मनोज शर्मा र सबइन्जिनियर घनश्याम रिजाल, वडा नंं ४ का अध्यक्ष ध्रुवबहादुर केसी निलम्बनमा परेका हुन् । निलम्बनमा परेका जनप्रतिनिधि र कर्मचारीको कोठा अघिको नेमप्लेट हटाइएको छ भने उनीहरूले प्रयोग गर्ने गाडी समेत फिर्ता मागिएको छ ।
राज्यको सबै सम्पत्ति फिर्ता लिइएको मेयर जनकराज पौडेलले जानकारी दिए । ‘आरोप लागिसकेपछि छानबिन र अनुसन्धान हुनुपर्छ । त्यसकै सहजताका लागि कानुन अनुसार नै निलम्बन गरिएको हो,’ उनले भने, ‘तर यही केसले नगरपालिकाका कामहरूमा ह्याम्पर भएको छ । नत्र कार्यकाल सकिन लाग्यो खासै समस्या छैन ।’ उनकै अध्यक्षतामा बसेको आकस्मिक बैठकले अख्तियारको मुद्दाबारे छलफल गरेको थियो । उपमेयरकै संयोजकत्वमा अनुगमन समिति, न्यायिक समिति हुने भएकोले बाधा अड्काउ फुकाउका लागि कानुनविद् सँग छलफल गर्ने पौडेलको भनाई छ ।
बागलुङ बसपार्क निर्माणको क्रममा कामै नभएकोमा भएको भन्दै बढी भुक्तानी दिएको आरोप उनीहरूलाई छ । उपभोक्ता समितिलाई पनि अनुसन्धानमा हालिएको छ । अध्यक्ष सुवासकुमार राजभण्डारी, सचिव गुणनिधि शर्मा र कोषाध्यक्ष भीमकुमारी आचार्यलाई मुद्दा परेको हो ।