‘अल रोड्स लिड नर्थ’ ले केलाउँछ नेपाल-चीन अन्तर्सम्बन्ध

अमिशराज मुल्मीको पुस्तक ‘अल रोड्स लिड नर्थ : चाइना, नेपाल एन्ड द कन्टेस्ट फर द हिमालयज’ एउटा यस्तो प्राज्ञिक किताब हो जसलाई सजिलै पढ्न सकिन्छ । यसले नेपालका विभिन्न मानिसहरूस‌गको अन्तर्वार्तामा आधारित भएर पछिल्लो तीन शताब्दीमा नेपाल-चीन सम्बन्धको यात्रालाई पाठकसमक्ष जीवन्त रूपमा प्रस्तुत गर्दछ । पुस्तकमा नेपाली र तिब्बतीहरूको वैवाहिक सम्बन्धबाट जन्मिएका सन्तानहरू, व्यापारीहरू, चिनियाँ ग्राहकहरूलाई सेवा गर्ने कुकहरू र वरिष्ठ राजनीतिज्ञसहित विविध पृष्ठभूमिका मानिसहरूको आवाज समेटिएको छ । यति भनिरहँदा, पुस्तक भने गहिरो अध्ययन र अनुभवमा दरिलो रूपमा आधारित छ । मुल्मीले जानी आएको इतिहासलाई नयाँ जीवन दिएकाले यो पुस्तक यति धेरै मूल्यवान् भएको छ ।

‘बोर्डरल्यान्ड्स’ शीर्षक दिइएको पहिलो खण्डले १८औँ र १९औँ इस्वी शताब्दीमा नेपाल र तिब्बतबीच आवतजावत गर्ने व्यापारीहरूको कथा भन्छ । यो खण्डमा नेपाल र चीनबीच १८औँ शताब्दीमा भएको युद्ध र हाल नेपाल-चीन सिमानामा रहेको लिमीमा बस्ने मानिसहरूको अनुभवबारे बताइएको छ । यहाँ भनिएका धेरै कुराहरू तिब्बतमा वर्चस्व जमाउने नेपाली महत्वकाङ्क्षा वरपर घुमेका देखिन्छन् ।

पुस्तकमा मुल्मीले नेपाल र चीनबीचको सम्बन्धमा शक्ति सन्तुलन कसरी परिवर्तन भएको छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् । तिब्बतमा नेपाली व्यापारीहरूको हालीमुहाली (उनीहरूले नेपाल राज्यलाई मात्र कर तिर्थे) र नेपाली सेनाले चिनियाँ सेनालाई हराएका घटनाहरू आजको वास्तविकता भन्दा निकै पर देखिन्छन् ।

नेपालको उत्तरपश्चिमी कुनामा रहेको लिमीबारेको अध्यायले अवस्था कसरी परिवर्तन भएको छ भनेर छर्लङ्ग पारेको छ । मुल्मी भन्छन्, नेपालका अरू हिमाली सीमा क्षेत्रहरूमा जस्तै लिमीमा सडक त आयो तर त्यो सडक चीनतर्फबाट आएको छ । सन् १७९२मा अर्को नाका रसुवामा चीनको चिङ वंशको सेनाले शान्तिका लागि याचना गरेको थियो । वार्ताका लागि गोर्खाली (नेपाली) जर्नेलहरू चिनियाँ सिविरमा पुग्दा त्यहाँ खाने कुराको अभाव देखेर चकित भएका थिए । आज आएर सीमापारि गएर ठूला पसल तथा मेलाहरूमा सस्तोमा सामान किन्ने पालो नेपालीहरूको आएको छ ।

रेलवेका कुरा

‘अल रोड्स लिड नर्थ’काे दोस्रो र तेस्रो खण्ड चीन र नेपालबीचको आर्थिक सम्बन्धमा केन्द्रित छन् । यी खण्डमा नेपाल र चीनबीचको व्यापारको इतिहास, कम्युनिस्ट विचारधाराको निर्यात, प्रत्यक्ष वैदेशिक लगानी, पर्यटन र शिक्षाबारे समेत कुरा गरिएको छ । पुस्तकको धेरैजसो भागमा एउटा कुरा धेरै पटक उल्लेख गरिएको छ । त्यो हो नेपाल र चीनलाई जोड्ने रेलको सपना ।

नेपाली राजनीतिज्ञहरूको यस्तो सपनाले धेरै कुरातर्फ इङ्गित गर्दछ : चीनले तिब्बतमा रेल ल्याउन देखाएको प्राविधिक शक्तिको वा वाही; एउटा भूपरिवेष्टित देशको बाहिरी विश्‍वसित जोडिने आकाङ्क्षा; नेपाली राजनीतिज्ञहरूले देखाउँदै आएको विकासको सपना र यस्तो सपना साकार पार्न चिनियाँ पुँजीमाथिको निर्भरता । रेलवेको विषय छुँदा दुई वटा थप मुद्दाहरू उजागर हुन्छन् ।

मुल्मी तीमध्ये एउटा मुद्दालाई हल्का रूपमा सम्बोधन गर्छन् भने अर्कोबारे आश्चर्यजनक रूपमा मौन रहन्छन् ।

पहिलो मुद्दा हो रेलवेजस्तो ठूलो परियोजनाले कमजाेर भूबनोट भएको हिमाली क्षेत्रको वातावरणमा पार्ने असर । पहिरोका कारण मानिसहरू मर्ने देशहरूकाे सूचीमा नेपाल अग्र स्थानमा रहेको छ । धेरैजसो पहिरोहरू वातावरण मूल्याङ्कन नगरी हिमाली क्षेत्रमा बन्ने सडकहरूका कारण जाने गरेका छन् । ससाना परियोजनाहरूका कारण नै जटिलताहरूको सिर्जना भएको छ भने रेलवेजस्तो भीमकाय परियोजना कार्यान्वयन गर्नु अझै ठूलो चुनौती हुनेछ । त्यस्तै, चीन-नेपाल सीमामा लोपोन्मुख जनावरहरूका अ‌ंगप्रत्यंग गैरकानुनी रूपमा ओसारपसार हुने गरेको छ । त्यस्तै नेपालबाट जाने यार्सागुम्बाको आपूर्ति घट्दो क्रममा छ । नयाँ पूर्वधारका कारण मानिसहरू सीमा वारपार गर्दै गर्दा  यस्तो अवस्थामा पारिस्थितिक प्रणालीमा पर्ने असरलाई व्यवस्थापन गर्न नेपालले सकेन भने यसले दुई देशबीचको सम्बन्धमा असर पर्न सक्दछ ।

मुल्मीले नजरअन्दाज गरेका अर्को विषय हो : सन् २०१५मा जारी भएको नेपालको संघीय संविधान । यो संविधानले प्रदेशहरूलाई नयाँ अधिकार दिएका कारणले संघीय सरकारले एकलौटी ढङ्गले निर्णय लिन पाउँदैन । यो व्यवस्थाले के असर पार्ला भन्ने कुराको लेखाजोखा अझै पनि गरिँदै छ ।

मुल्मीका अनुसार, चीनले नेपालसित कुरा गर्न एकद्वार नीति अपनाएको छ । राजतन्त्रसित कुरा गर्दा उसले माओवादी लडाकुहरूलाई ‘डाँकु’ भनेर भन्थ्यो तर सन् २००६मा युद्ध अन्त्य भएर उनीहरू राजनीतिको मूलधारमा आएपछि चीनको भनाइमा परिवर्तन आएको छ । त्यति बेलादेखि सत्ताधारी दलमा विखण्डन नाओस् भनेर चीनले भूमिका खेल्ने गरेको छ । तर संविधानले प्रदेशहरूलाई दिएको शक्तिका कारण यो मुद्दा पनि जटिल हुने देखिन्छ ।

बेइजिङको चाहना काठमाडौँसित मात्र सम्पर्क राख्नु होला, तर काठमाडौँ मात्रै नेपाल होइन । यसका कारण (विशेष गरी वातावरणसित सम्बन्धित मुद्दाहरूबारे) उत्तरदायित्वमा पार्ने असरबारे नेपालले चाँडै नै सोच्नुपर्दछ । अहिले नै नेपाल नदीहरूको बाँडफाँडको विषय कसरी सुल्झाउने भनेर अप्ठ्यारोमा परेको छ भने विभिन्न प्रदेशहरू भएर गुड्ने रेलसँग सम्बन्धित विषयहरूको व्यवस्थापन कसरी गर्ला?

नेपाल-चीन सम्बन्ध जसरी अघि बढे पनि चीन नेपालमा संलग्न हुनेछ । मुल्मीको कथा यस्ता दुई देशहरूका बारेमा हो जो पहिले एक अर्कासित थोरै जोडिएका थिए तर अहिले आएर अङ्कमाल गर्ने स्थितिमा पुगेका छन् । अबको बाटो अगाडि मात्र छ र त्यसमा सँगै हिँड्नुपर्नेछ । तर मुल्मीले पुस्तकको अन्त्यमा भनेअनुसार ‘कसरी’ भन्ने कुरामा चाहिँ नेपालले निर्णय गर्नुपर्नेछ ।

(द थर्ड पोलमा प्रकाशित यो आलेख क्रिएटिभ कमन्स लाइसेन्सअन्तर्गत पुन: प्रकाशित ।)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *