महेन्द्रनगरमा लिङ्देनले भने- देश शक्तिराष्ट्रको प्रतिस्पर्धास्थल बन्ने खतरा छ
कञ्चनपुर । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले केही राजनीतिक दल र नेताहरूले वैदेशिक मामिलालाई हलुका र आलोकाँचो ढंगबाट अघि बढाउँदा मुलुक शक्तिराष्ट्रको रणनीतिक प्रतिस्पर्धात्मक स्थल बन्न पुगेका बताएका छन् ।
प्रमुख दलका नेताहरूले अन्तर्राष्ट्रिय सम्बन्धलाई सत्ताको जोडघटाऊका आधारमा व्यवहार गर्दा मुलुकको राष्ट्रियतामाथि नै आँच आउन पुगेको लिङ्देनले बताए ।
मंगलबार महेन्द्रनगरमा आयोजित राप्रपाको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने, ‘नेताहरूले केटाकेटी व्यवहार देखाउँदा नेपालको विश्वसनीयता कमजोर हुन पुगेको छ ।’ अध्यक्ष लिङ्देनले व्याख्यात्मक टिप्पणी भन्दै संसदबाट एमसीसी अनुमोदन गर्नु जनतालाई मूर्ख बनाउने काम मात्रै भएको बताए । ‘कांग्रेस, एमाले र माओवादी केन्द्रको सत्ताको दाउपेच मात्रै फरक हो, नीति, विचार र शैलीमा अलग दल छैनन्- लिङ्देनले भने ।’
अध्यक्ष लिङ्देनले वैदेशिक सम्बन्धलाई सत्तामा पुग्ने भर्याङका रुपमा प्रयोग गर्दा आजको अवस्था आएको र जनतामा कतिपय आशंका पैदा भएको लिङ्देनले बताए । एमसीसी जस्तो संवेदनशील विषयमा बिहान, दिउँसो र साँझ अलग अलग धारणा दिने राजनीतिक दल र नेताहरू पनि भए, यो अस्थिर, अपरिपक्व र पराधीन मानसिकता हो- लिङ्देनले भने । ठूला राजनीतिक दलको आलोचनामा अधिकांश समय खर्चिएका लिङ्देनले भने- ‘३१ वर्षदेखि प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका नाममा ब्रम्हलुट चलिरहेको छ, लुटतन्त्रमा राजनीतिक नेतृत्वको संलग्नता र संरक्षण रहेको छ, अब लुटतन्त्रको विकल्प खोज्नुपर्ने बेला आएको छ ।’
अध्यक्ष लिङ्देनले राप्रपा देशको भरपर्दो शक्तिको रुपमा उदाउदै गएको दाबी गर्दै जनताको साथ राप्रपाले पाउने बताए । आमसभालाई राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री डा. धवल शमशेर राणा लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।
सोमबार कैलालीको सुक्खडमा र मंगलबार कञ्चनपुरको महेन्द्रनगरमा राप्रपाको सभा भएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले दुईवटा सभाहरुमा विभिन्न दल परित्याग गरी सुदूरपश्चिम क्षेत्रका १,७०० जना भन्दा बढी राप्रपामा प्रवेश गरेको दाबी गरेका छन् ।