पत्रकारकाे न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न सिफारिस
काठमाडाैँ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले पत्रकारको न्यूनतम तलबवृद्धिको सिफारिससहितको श्रमजीवी पत्रकार कर्मचारी एवं कामदारको पारिश्रमिक पुनरावलोकन सिफारिस प्रतिवेदन २०७८ सरकारलाई बुझाएको छ ।
बुधबार सिंहदरबारमा समितिका अध्यक्ष राजेन्द्र अर्यालले सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई प्रतिवेदन बुझाउदै राष्ट्रिय मिडियाका लागि श्रमजिवी पत्रकारको न्यूनतम तलबमापन वृद्धि गर्न सिफारिस गरेको हो ।
प्रतिवेदनमा श्रमजीवी पत्रकार कर्मचारी एवं कामदारको न्यूनतम पारिश्रमिक २५ प्रतिशतका दरले वृद्धिका लागि सिफारिस गरिएको छ । हाल न्यूनतम तलब २४ हजार ३ सय ७५ रहेकोमा अब ३० हजार ४ सय ६८ रुपैयाँ बनाउन सिफारिस गरिएको छ ।
त्यस्तै, स्ट्रिन्जरको सवालमा राष्ट्रिय मिडिया र प्रादेशिक मिडियामा कार्यरत पत्रकार, कर्मचारी र कामदारका लागि २५ प्रतिशत र दुगर्म क्षेत्रका स्ट्रिन्जरलाई थप २० प्रतिशत वृद्धिको सिफारिस गरिएको छ ।
त्यसैगरी समितिले सवै सञ्चारमाध्यमको वर्गीकरण गरी वर्गीकरणका आधारमा न्यूनतम पारिश्रमिक तोक्न र कार्यान्वयन गर्न पनि सिफारिस गरेको छ । प्रतिवेदन बुझ्दै सञ्चारमन्त्री कार्कीले समितिको प्रतिवेदनको अध्ययन गर्ने र सरकारले आवश्यक निर्णय गर्ने बताए ।
त्यस्तै, समितिलाई साधन स्रोत सम्पन्न बनाई कार्याधिकार क्षेत्र बढाउनुका साथै समितिको नाम परिवर्तन गरि पारिश्रमिक निर्धारण तथा अनुगमन बोर्ड बनाउन पनि सिफारिस गरेको छ ।