रूपक अंलकारको महाकाव्य ‘विश्रान्त’ सार्वजनिक
काठमाडौँ । कवि तथा लेखक रूपक अलंकारको नवीनत्तम महाकाव्य ‘विश्रान्त’ सार्वजनिक भएको छ । शनिबार एक कार्यक्रमका बीच नेपाल प्रज्ञाप्रतिष्ठानमा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत प्रसाद उपाध्याय, समालोचक प्रा. डा. रामप्रसाद ज्ञवाली, महेश पौड्याल, शैलेन्द्र अधिकारीले उक्त कृतिको सार्वजनिक गरेका हुन् ।
फुटकर कविता र निबन्ध लेख्ने अंलकारले पहिलो कृतिका रूपमा महाकाव्य ल्याएका हुन् ।
सदस्य सचिव उपाध्यायले नेपालका राजनितिक नेतृत्वमा देखिएको व्यक्तिवादको चरित्रलई कृतिले प्रश्न मात्र गरेको छैन, काव्यिक तरिकाले झापड हानेको बताए ।
विचार र कला सौन्दर्यको हिसाबले कृति अब्बल रहेको उनले बताए । समालोचक डा. ज्ञवालीले महाकाव्यले नेपालको पछिल्लो २५ वर्षमा भएको राजनितिक परिवर्तनमा एक व्यक्तिले गरेको संघर्षलाई बृहत् रूपमा प्रस्तुत गरेको बताए ।
पुस्तकमा रहेको मुख्य पात्रले भोगेको जीवन चरित्र अहिलेको राजनितिक नेतृत्वको प्रतिविम्ब रहेको ज्ञवालीले प्रकाश पारे । ज्ञवालीले भने, ‘समाजले साहित्यलाई अनुत्पादक ठानेपनि यस कृतिले नेपाली समाजले भोगेको राजनितिक संघर्षमा एक व्यक्तिको राजनितिक आरोह-अवरोहमार्फत् समाजको चित्रण गरेको छ ।’
अहिले लेखकहरू साहित्य र समाजका लागि नभइ आफूलाई स्थापित गर्न लागि परिरहेको गम्भीर आरोप लगाए । यसैबिच अलंकारले ल्याएको उक्त कृतिले समाजले नै फरक सिराबाट सोच्न बाध्य बनाउने ठोकुवा गरे ।
यस्तै, समालोचक पौड्यालले सुदूर गाउँबाट अवसरका लागि आएको एक पात्रले गर्ने क्रान्ति र त्यो क्रान्तिको मिलन बिन्दुमा पुग्दा के प्राप्त गर्छ भन्ने प्रश्न कृतिले उठाएको बताए ।
नयाँ समाजको परिकल्पनामा क्रान्तिमा होमिएको एक व्यक्ति क्रान्ति असफल हुदाँ कि साधु बन्ने कि आत्महत्या गर्ने भन्दै यस कृतिमा मुख्य पात्र साधु रहेको स्पष्ट पारे । ‘समग्रममा भन्दा यस कृति साधुले सुनाएको वृतान्त नै महाकाव्यको मुख्यविन्दु हो’, पौड्यालले भने ।
पछिल्लो समयमा आएका महाकाव्य भन्दा यस महाकाव्यमा फरकपन रहेको उनले बताए । ‘यस महाकाव्यमा परम्परागत शैलीलाई पनि छोडेको छैन भने नयाँ प्रयोग पनि गरिएको छ’, पौड्यालले भने, ‘यस्तो भन्दै गर्दा कृति त्रुटिरहित भने छैन । कृतिले प्रश्न मात्र गरेको छ । जवाफको खोजी भने गरेको छैन ।’
अर्का लेखक तथा समालोचक अधिकारीले महाकाव्यको महत्व साहित्यमा व्यापक रहेपनि यसलाई पढ्ने पाठकको कमी किन भइरहेको भन्ने खोजी गर्नेपर्ने धारणा व्यक्त गरे । ‘नेपालका विश्वविद्यालयमा एकाध महाकाव्यको मात्र पढाई हुन्छ । जसले गर्दा हामीले महाकाव्यको महत्वलाई बढोत्तरी गर्न सकेका छैनौँ’, अधिकारीले भने, ‘महाकाव्य पढ्ने पाठकको वृद्धि गर्न यस कृति सफल हुनेमा म विश्वस्त छु ।’
महाकाव्यलाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो । पुस्तकको मूल्य ३ सय ७५ राखिएको छ ।