बक्सिङ कीर्तिमानी खेलाडी सम्मानित
काठमाडाैँ । दक्षिण एशियाली मुलुकहरूको १३ औं साफ खेलकूदमा बक्सिङ खेलमम नेपालको तर्फबाट सहभागी भई विभिन्न पदक जित्न सफल खेलाडी तथा अफिसर्स टिमलाई एक कार्यक्रमका बीच कीर्तिपुरमा सम्मान गरिएको छ ।
मार्शल आर्ट अर्गनाईजेन नेपालको आयोजनामा फागुन २१ गते शनिवार कीर्तिपुर ४ स्थित सिम क्षेत्रको ‘विथ लोकल्स’ नेपाल फार्म हाउसमा भएको आत्मरक्षा प्रशिक्षण कार्यक्रममा बक्सिङ खेलका कीर्तिमानी खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले सम्मान नगद पुरस्कारका साथै सम्मान-पत्र हस्तान्तरण गरे ।
सम्मानित हुने खेलाडी तथा कोचहरूमा बक्सिङ खेलमा लामो समयसम्म कोच भई योगदान पुर्याएका कीर्तिपुर ७ का कोच उमेश कटुवाललाई नगद पुरस्कार ५० हजार र सम्मान-पत्र, साफमा संवरण पदक विजेता मीना गुरूङ र भूपेन्द्र थापालाई नगद पुरस्कार ५ हजारसहित सम्मान-पत्र, रजत पदक पदक बिजेता खेलाडीहरू ललिता महर्जन, माला राई, संगीता सुनार, पुनम रावल, गणेश प्रशान्त, आशिष दवाडी र कास्य पदक बिजेता सुशील थापा, तेजबहादुर देवान, पूर्ण राई, विकास लामा, अर्जुन सेभु, चन्द्रकला थापा र अफिसियल टिमका नेपाल चिफ कोच प्रकाश थापा मगर, डम्बर दत्त भट्ट, प्रवीण तुलाधर, दीपक महर्जन, किशोर लिम्बू र म्यानेजर टिमका प्रेम फौजु र प्रमिला राई सम्मानित भएका थिए ।
मार्शल आर्ट अर्गनाईजेन नेपालका अध्यक्ष तथा नेपाल उसु संघका उपाध्यक्ष राजीव महर्जनको सभापतित्वमा भएको कार्यक्रमका संयोजक सुदीप महर्जन रहेका थिए भने विशिष्ट अतिथि नगरपालिकाकी उपप्रमुख सरस्वती रिजाल खड्का, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले र उपाध्यक्ष अर्जुनबहादुर केसीको उपस्थिति रहेको थियो । आत्मरक्षा प्रशिक्षणमा कीर्तिपुर नगरपालिकाका १० वडा र विद्यालयका गरी सय जना महिला तथा छात्राहरूको सहभागिता रहेको थियो ।