सुगम जिल्लाको काकाकुल बस्ती : घरघरै पुगेको छ पाइप तर आउँदैन पानी
विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर २ रचना टोलका चन्द्र मंगललाई चैत-वैशाख लागेपछि पानी कहाँबाट ल्याएर पिउने भन्ने चिन्ता हुन्छ । भान्सामा नभई नहुने पानीको समस्या हुँदा उनी सखारै उठेर खोल्सी चहार्न पुग्छन् ।
पानीको अभावका कारण ठूलो समस्या झेलेका उनले जसरी भएपनि गाउँमा पानी पुर्याउने बारेमा पटकपटक वडामा पुगेका छन् । समस्या सुनाउँदा-सुनाउँदा उनी हैरान भइसकेका छन् । यो समस्या वडा नम्बर २ को समग्रको समस्या हो । माथिल्लो टोलमा मात्र हैन वडाको दक्षिणी क्षेत्रमा पनि पानीको समस्या रहेको उनको भनाइ छ । ‘खोल्सीबाट ल्यााएको पानी कहिले पाइपमा आउँछ कहिले आउँदैन, आएको पानीलाई मिलाएर खान्छौँ’, उनले भने, ‘पानी आयो भने त मिलाएर खाने हो, पानी नै नआउँदा त खोल्सी नै चहार्न पुग्नु पर्छ ।’
पानीको समस्या विशेषगरी चैत-वैशाखमा हुने गरेको उनको भनाइ छ । ‘फागुन लागेपछि मुहान सुक्न थाल्छ’, उनले भने, ‘पानीको अभावले निक्कै ठूलो समस्या दिएको छ ।’
पानी पर्यो भने त ठिकै हो हैन भने लगाएको बालीनाली पनि मर्ने गरेको उनको भनाइ छ । ‘अहिले मकै छरिएको छ, आकाशे पानी पर्यो भने बच्यो नत्र बचेन’, उनले भने, ‘बालीनाली बचाउनै चर्को हुन्छ ।’
वडा नम्बर २ का अधिकांंश बस्तीका सर्वसाधारणको घरमा पानीका ट्याङ्कीहरू छन् । पाइप पनि घरैपिच्छे पुगेका छन् । बाहिरबाट देख्दा सबैको घरमा पानी पुगेको जस्तो देखिन्छ तर त्यो भित्रको बाध्यता र विवशता फरक छ । गाउँमा पानिको चरम अभाव हुन थालेपछि गाउँलेहरू आफैँ मिले पाइप किने पानीको मुहान खोजी गर्न थाले त्यो मुहानसम्म पाइप पुर्याए र घरघर सम्म आफ्नै लगानीमा ल्याएपनि ।
त्यसरी ल्याएको पानीका मुहानहरू पछिल्लो केही वर्षदेखि सुक्न थालेका छन् । पानी भएको मुहानमा पनि थोरै मात्र पानी हुने गरेको मिक्लाजुङ २ साखरेका पूर्णकुमार राईले बताए । ‘पानी नभएको बेला नुनसरीको कुलो, रचना खोल्सी, खरखोलामा पानी पानी खोज्न जानुपर्छ, उनले भने, ‘हामीले पानीको माग गरेर वडा र पानीकासम्म भन्दा पनि पानीको समस्या उस्तै छ ।’
साविकको टाँडी गाविसको ६-७ र १ वटा वडा मिलेर बनेको २ नम्बर वडा हो । यी तीनवटै वडा त्यो बेला पनि पानीको समस्यामा थिए र अहिले पनि उस्तै समस्या झेल्दै आएको उनको राईको भनाइ छ । कुवापानी –चुली पोखरी सिमले बतासे खानेपानी आयोजना ध्वासे खानेपानी भनेर सञ्चालनमा थियो । २०६३ सालमा शुरू भएको ध्वासेको मुहान सुकेपछि अहिले समस्या छ । २०६३ सालमा करिब ८० घरले यो पानी खान्थे तर पछि त्यसको मुहान सुक्यो, ध्वासेको मुहानबाट निस्किएको पानी अहिले १३ घरले मात्र प्रयोय गर्छन् । राईका अनुसार मुलमा नै पर्याप्त पानी छैन । ‘२०६३ सालसम्म वडाका हरेक खोल्सीका मुहानमा पर्याप्त पानी हुन्थ्यो’, राई भन्छन्, ‘अहिले आउँदा मूल पनि सक्दै गयो, जनसंख्या पनि बढ्यो त्यसको असर अहिले काकाकुल हुनु परेको छ ।’
गाउँलेको प्रयास
मिक्लाजुंगको वडा नम्बर २ मा खानेपनाी समस्या ठूलो समस्याको रूपमा रहेको छ । यो वडा सिंगो खानेपानीको समस्यामा छ । खानेपानीको दुखले गर्दा हरेक खोल्सीबाट खानेपानीको खोजी स्थानीयले गरे । सामुदायिक वनका खोल्सीमा स्थानीयले सामुहिक लगानी पनी गरे । टोलै पिच्छेका व्यक्तिका लगानीले प्यास मेटाउने प्रयास हुँदाहुँदै पनि मुहानै सक्ने समस्या भएपछि पानीको दुःख झनै बढ्दैगयो ।
७५ घरले बाँसघरे खानेपानी प्रयोग गर्दा १३ घरले फेदापे थोपा सिचाई पानी खान्छन् । त्यही गाउँमा अर्को समुदायले २०४७ सालमा बनेको खानेपानी आयोजनाबाट निस्किएको पानी ९० घरले प्रयोग गर्छन । दिबु खानेपानी १६ घरले खाने गरेका छन् भने त्यहीँ नजिकैको खोल्सीबाट निस्किएको चिउरेनी खोल्सीको पानी १४ घरले प्रयोग गर्छन् । रचना झोडा खानेपानी ६० घरले खाने गरेको वडा-वडा अध्यक्ष गौरीप्रसाद राई बताउँछन् । तल्लो रचना लामपातो खानेपानी ४५ घरले खाने गरेको उनको भनाइ छ ।
पानीका मुहान खोज्दै
यी भनिएका मुुहानको पानी अहिले सुकेर कहिले आउँछ कहिले आउँदैन । पानीको समस्या समाधान गर्नका लागि लावाखोलालाई मुल बनाएर देउलिंगे भुल्के खानेपानी आयोजनको १० करोड डीपीआर तयार भएर सर्भेको काम भइरहेको गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले बताए ।
मुहान सुकेर खानेपानीको अभाव हुन थालेपनि पालिकालेमात्र समस्याको समाधान निकाल्न नसक्ने भएपनि संघीय सरकारसँग समन्वय भएको अध्यक्ष आचार्यले जानकारी दिए । विगत ८ वर्षदेखि बन्दै आएको लावाखोला खानेपानी आयोजना पनि बीचमा नै अलपत्र जस्तो अवस्थामा पुगेको छ ।
८ वर्षमा यो आयोजनाको पानी बाँसबिरे भञ्ज्याङसम्म मात्र आएको अध्यक्ष आचार्यको भनाइ छ । लागत यकिन नभएकोे यो आयोजनाकै लागि यो वर्षपनि करिब ५० लाख मात्र आएको छ । ‘पहिला खोल्सीका पानीहरू प्रयोग गर्ने स्थानीयका समस्या पानीको स्राेत नै सुकेपछि शुरू भएको हो’, पालिका अध्यक्ष आचार्यले भने, ‘डिपबोरिङ गाड्ने बारेमा पनि सर्भेको काम भइरहेको छ ।’
वडा नम्बर २ मा बन्दैगरेको १० बेड अस्पतालको आसपासमा डिप बोरिङको माध्यामबाट पानीको श्रोत पहिाचनको काम पनि भईरहेको आचार्यले बताए । ‘अस्पताललाई पनि दिगो पानीको व्यवस्थापन गर्नु पर्नेछ, अहिले नै समाधानको प्रयास गर्नु पर्छ’, उनले भने, ‘डिप बोरिङको लागि प्रतिसेकेण्ड २० लिटर पानी आउन सक्नेगरी डीपीआर सर्भेको काम भइरहेको हो ।’