पोखरामा यौनधन्दा : अनलाइनबाट खाेजिन्छ ग्राहक, प्रहरी अनुसन्धानमा

पोखरा । फागुन १४ गते मध्यराती कास्की प्रहरीको १ सय नम्बरमा एउटा घण्टी बज्यो । उठाउँदा एक महिला चिच्याएर बोलिन् र प्रहरीसँग सहयोग मागिन् । वास्तवमा उनी नाबालिका रहेछिन् । आफूलाई जवरजस्ती यौन व्यवसायमा लगाएको सूचना उनले प्रहरीलाई दिईन् र प्रहरी तत्कालै घटनास्थल तर्फ लाग्यो ।

त्यसअघि नै प्रहरीलाई जबरजस्ती बालिकाहरूलाई यौन व्यवसायमा लगाउने गरेको सूचना आएको थियो । प्रहरी अनुसन्धानमै थियो । लेकसाइडमा फ्ल्याट भाडामा लिएर यौन व्यवसाय चलाएको भन्ने सूचनाको अपरेसनमा रहेको प्रहरीले अनुसन्धान गर्दै गर्दा बालिका सम्पर्कमा आएपछि झनै सजिलो भयो ।

‘एक बालिका सम्पर्कमा आउनुभयो । उहाँले नै सूचना दिएपछि हामीलाई सहज भएको हो,’ कास्की प्रहरीका इन्स्पेकटर मुकेश पोखरेलले भने, ‘त्यसपछि आरोपीहरू खोज्न थाल्यौँ ।’ यौन व्यवसायमा लगाउने पूजा थापामगर र विशाल योगीलाई प्रहरीले जरेबर स्थित फ्ल्याटबाट समातेको हो । उनीहरूसँगै काम गर्ने नारायण पोखरेल भने प्रहरी आएको थाहा पाएपछि भागेका थिए ।

उनलाई रातभरी खोजेर पोखराबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ । ‘पूजा र नारायणले केटीहरूको फोटो पठाएर बार्गेनिङ गर्ने गरेको छ । ग्राहकले छानेपछि रेट फिक्स हुने रहेछ,’ ईन्स्पेक्टर पोखरेल भन्छन्, ‘त्यसपछि विशालले ग्राहकले खोजेको ठाउँमा पठाउने गरेको छ । उसले ग्राहकको घर र कोठामै पुर्याउने गरेको भेटियो । होम डेलिभरी सुविधा रहेछ ।’

उक्त अपरेसनको नेतृत्व उनैले गरेका थिए । यस्तो काममा संलग्न तीनवटा समूह रहेको भेटिएको छ । एउटा समूह यसअघि नै कारबाहीमा छ भने एउटा समूह अहिले पक्राउ परेको छ । उनका अनुसार किशोरीको उमेर अनुसार मूल्य फरक राखिएको थियो ।

‘१८ वर्षभन्दा कम उमेरका लागि १८ हजारसम्म लिने गरेको छ । हामीकहाँ ३ वटा जाहेरी छ । १७ वर्षको एउटाले १७ हजारमा पठाएको भेटियो । २४ वर्षकी अर्की महिलालाई १५ हजार रहेछ,’ उनले अघि भने, ‘उमेर हेरेर १४ देखि १७ हजारमा बार्गेनिङ भएको भेटियो ।’ प्रहरीका अनुसार यस्ता ग्राहकहरू पोखरा घुम्न आउने पर्यटकहरू बढी छन् ।

‘पोखरा घुम्न आउनेहरू नै धेरै छन् । पोखराका मान्छे थोरै छन् । म्याक्सिमम घुम्न आएकाहरू छन्,’ पोखरेलले थपे, ‘जाहेरीवाला पीडितसँग कुरा गर्दा एउटाले ७ महिना, अर्कोले ३ महिना र अर्कोले ३ हप्तादेखि काममा लागेको भन्नुभयो । पहिले वेटरको काम भनेर राख्ने र महिनावारी हुँदा समेत ग्राहकसँग सुत्न लगाएपछि सहन नसकेर प्रहरीकोमा आइपुग्नुभएको थाहा पायौँ ।’

९ महिना पहिले पनि पोखराकै २२ नम्बर स्ट्रिटबाट एक महिला पक्राउ परेकी थिइन् । उनी अहिले कैद सजाएँ भोगिरहेकी छिन् । ‘यो कार्यमा संलग्न किशोरीहरू पोखराका हैनन् । गाउँबाट ल्याएका छन् । पर्वत, स्याङजा, सिन्धुपाल्चोकबाट ल्याईएका छन्,’ प्रहरी भन्छ, ‘उनीहरूको शैक्षिक योग्यता साधारण लेखपढ मात्रै छ । आर्थिक अवस्था कमजोर भएकोले उनीहरूलाई ललाईफकाई गरेर ल्याएको छ । सुरुमा भनेकै काम गराईएको छ पछि जबरजस्ती यौनमा फसाईएको छ ।’

पछिल्लो समय जबरजस्ती यौन व्यवसायमा लगाउनेहरू पक्राउ पर्ने क्रम बढेको छ । खाजा पसल सञ्चालन गरेर पनि यौन व्यवसाय चलाएको भेटिएको प्रहरीले जनाएको छ ।

उनीहरूले अनलाईन मार्फत बार्गेनिङ गर्ने र कारबाट डेलिभरी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेकाहरूलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कास्की जिल्ला अदालतबाट ८ दिन म्याद थप गरी अनुसन्धान अघि बढाईएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *