महिला विश्वकप: बंगलादेशमाथि न्युजिल्यान्डको ९ विकेटको जित
काठमाडौँ । आईसीसी महिला विश्वकपमा आयोजक न्युजिल्यान्डले पहिलो जित हात पारेको छ । आफ्नो दोस्रो खेलमा बंगलादेशलाई ९ विकेटले हराउँदै न्युजिल्यान्डले प्रतियोगितामा पहिलो जित निकाल्यो । बंगलादेश भने लगातार दोस्रो खेलमा पराजित भयो ।
वर्षाका कारण २७ ओभरमा घटाइएको खेलमा पहिलो ब्याटिङ गरेको बंगलादेशले ८ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो । जवाफमा न्युजिल्यान्डले ४२ बल बाँकी हुँदै १ विकेट गुमाएर जित निकाल्यो ।
टस हारेर पहिलो ब्याटिङ गरेको बंगलादेशका लागि ओपनर फरगना हकले सर्वाधिक ५२ र अर्की ओपनर समिमा सुल्तानले ३३ रन बनाइन् । त्यस्तै कप्तान निगर सुल्तानको ११ र सोभना मोस्टरीको १३ रन थप दोहोरो स्कोरका रुपमा रह्यो । अन्य कुनैपनि ब्याटरले दोहोरो अंक छुन सकेनन् । न्युजिल्यान्डका लागि एमी सटरथ्वाइटले ३ विकेट लिइन ।
१ सय ४१ रनको लक्ष्य पाएको न्युजिल्यान्डले २० ओभरमा नै १ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । कप्तान सोफाइन डेभिन १४ रनमानै आउट भएपनि त्यसपछि सुजाई बटेस र एमिलिया केरले दोस्रो विकेटका लागि १०८ रनको अविजित साझेदारी गर्दै टीमको पहिलो जित निश्चित गरे ।
प्लेयर अफ द म्याच घोषित बाटेस ७९ र केर ४७ रनमा नटआउट रहे । बंगलादेशका लागि एकमात्र विकेट सलमा खातुनले लिइन् ।
प्रतियोगितामा घरेलु टोलि न्युजिल्यान्ड आफ्नो पहिलो खेलमा वेस्टइन्डिजसँग ३ विकेटले पराजित भएको थियो । बंगलादेश भने यसअघि दक्षिण अफ्रिकासँग ३२ रनले पराजित भएको थियो ।