सन्दर्भ : ११२औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

वैज्ञानिक युगले मागेको स्वरुपमा आन्दोलन तय गरौँ

आज ११२औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस २०७८ मनाउँदै गर्दा आजको यो विशेष दिनको अवसरमा सम्पूर्ण मातृशक्तिको तर्फबाट सम्पूर्ण न्यायप्रेमी श्रमजीवी मातृशक्ति र सहयोगी उत्प्रेरक पुरुष मित्रहरु प्रति हार्दिक मङ्गलमय शुभकामना साट्न चाहन्छु ।

सामाजिक न्याय र लैङ्गिक समानताको लागि अनवरत आन्दोलनमा समर्पित ज्ञातअज्ञात बिराङ्गना आमा दिदीबहिनी र सहकर्मी साथीहरूप्रति उच्च सम्मानसहित निरन्तर सहकार्यको प्रतिबद्धता जाहेर गर्दछु । यस क्रममा केही आफ्नै जीवनका भोगाइअनुसार अनुभवका कुरा केही भावनात्मक कुरा, केही अग्रजबाट सुने सुनाएका कुराहरू लिएर यहाँहरू सामु शब्दमार्फत उपस्थित हुने जमर्को गर्दै आजको दिनको महत्त्व र सान्दर्भिकताबारे चर्चा गर्न चाहन्छु ।

मार्च ८ को संसारभरका महिलाहरू विभिन्न कार्यक्रमको आयोजना गर्दै व्यक्तिगत र संस्थागत रूपमा यो दिवस मनाउँदैछन् । नेपालमा पनि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ११२ वर्षदेखि हरेक वर्ष विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदै आएको अनुभव छ । आजको दिनको ऐतिहासिक सान्दर्भिकताको पृष्ठभूमिमा उभिएर चर्चा गर्दा मानव समाजको विकासक्रमसँग समाजमा फस्टाउँदै गएका अन्याय अत्याचार र विभेदकताविरुद्ध संसारभरका सचेत महिलाहरू सङ्गठित रूपमा पहिलो र दोस्रो विश्व युद्धताकादेखि नै सामाजिक न्याय र लैङ्गिक समानताको निम्ति ठूला–ठूला आन्दोलनहरु सम्पन्न गरेका इतिहास हाम्रो सामु प्रस्ट छ ।

द्वन्द्वात्मक भौतिकवादको नियमअनुसार शोषक र शोषित वर्गको उत्पत्ति हुनु र शोषणविरुद्ध शोषितहरू आफ्नो अधिकार संरक्षणको लागि सङ्घर्षबाट अधिकार स्थापित भएका घटनाहरू अग्रजहरूका भनाई र विभिन्न लिखित ऐतिहासिक दस्ताबेजबाट जानकारी पाउन सकेका छौँ । पहिलो र दोस्रो विश्वयुद्धमा १६ वर्ष उमेर पुगेका युवाहरूलाई युद्धमा होमिनु पर्ने बाध्यताले महिला र बाल बालिकामा नकारात्मक असर पार्‍यो । जुन विश्वयुद्धले जापानको हिरोसिमा नागासाकीमा २–३ लाख नागरिक हताहत भएका थिए । विश्वयुद्धमा आफन्त गुमाएका महिलाहरू महिलाहरू जीविकोपार्जनका लागि ठूला–ठूला कारखानामा १६–१८ घण्टा काममा जोतिन पर्ने बाध्यता सृजना भयो ।

कारखानाहरूमा काम गर्ने महिलाहरूमाथि श्रम, समय र ज्यालालगायतका मामलामा विभेद हुन थालेपछि महिला कामदारहरू पनि ट्रेड युनियनमा सामेल हुन र समान कामको समान ज्याला सहितको अन्य महत्त्वपूर्ण मागसहित सङ्गठित रूपमा आन्दोलन शुरु हुन थाल्यो । ठूला–ठूला कपडा कारखानामा काम गर्ने मजदुर महिलाहरूले समान कामको समान ज्यालासहित विश्वयुद्धको अन्त्य र विश्व शान्तिको स्थापनाको माग सहित श्रमिक महिला सडकमा उत्रिएका थिए । एक पछि अर्को आन्दोलनको घोषणा र उपलब्धिहरूको सकारात्मक सन्देश अरु देशहरूमा पनि पुग्न थाल्यो र सन्सारभरिका महिलाहरूमा आन्दोलनमा होमिए । ४–५ जना समाजवादी महिलाहरूले शुरु गरेको आन्दोलनले एकपछि अर्को उपलब्धि हासिल गर्दै अमेरिका, युरोप र दक्षिण एसियाका जस्ता ठूला–ठूला देशका ठूला–ठूला शहरहरुमा कारखानामा काम गर्ने महिलाहरूका बिचमा ८ मार्चकै दिन पुग्न सफल भए ।

शुरुको बैठक ८ मार्चकै दिन आयोजना गरिएको थियो । आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने र आन्दोलनको उपलब्धि हासिल गरेको दिन पनि ८ मार्चकै दिन परेको थियो । उक्त आन्दोलनले विश्वयुद्धलाई रोक्न ठूलो योगदान पुर्‍याएको थियो । अमेरिकाका महिलाहरूले मताधिकारको माग राख्दै आन्दोलन शुरु गरेका थिए । महिलाहरूको कामको घण्टा तोकिनुपर्ने लगायत आर्थिक, सामाजिक राजनैतिक, सांस्कृतिक अधिकारको माग अगाडि सार्दै  समाजवादी विचार बोकेका महिलाहरूले  जनसङ्ख्याको आधाभन्दा बढी भाग ओगटेका महिलाहरूको समान अधिकारको मागसहित १७ देशका महिलाहरूको उपस्थितिमा कोपन हेगनमा अन्तर्राष्ट्रिय श्रमिक महिलाहरूको भेला सम्पन्न भएको थियो । क्लाराजेट्किनको प्रस्तावअनुसार ८ मार्चको दिनलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने निर्णय भयो र सो निर्णय संयुक्त राष्ट्रसंघको महासभामा १९१० मार्च ८ का दिन प्रस्ताव दर्ता भएको र महासभाको बैठकबाट स्वीकृत भएपछि सन १९११ मार्च ८ देखि हरेक वर्षको ८  मार्चका दिन महिला आन्दोलनको ऐतिहासिक उपलब्धि प्राप्त गरेको दिनको सम्झना स्वरूप मनाउन थालिएको हो ।

आजको दिनको यो महत्त्वपूर्ण ऐतिहासिक दिनमा उभिएर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहँदा नेपाली श्रमिक महिलाहरूको अवस्थामा के कस्ता परिवर्तन आए । के हुनु पर्थ्यो रु भन्ने हेक्का महिला आन्दोलनभित्र श्रमिक महिलाहरूको सवालले प्राथमिकता पाउन नसकेको तितो अनुभव व्यक्त गर्न बाध्य छु म । नेपालको राजनीतिक आन्दोलनमार्फत महिला अधिकारको सन्दर्भले विश्व चकित पार्ने उपलब्धि हासिल गरेको देखिन्छ भनेर चर्चा गर्न कन्जुस्याइँ गर्न पनि अवस्था त छैन तर, पनि महिला आन्दोलन व्यवहारमा के छ भन्ने नमिठो अनुभूति हरेक वर्षको ८ मार्चमा आइरहन्छ । उच्च ओहदामा पुगेका महिला नेताहरू प्रतिको व्यवहारले सोच्न बाध्य बनाएकै छ । अझै पनि हाम्रासामु आन्दोलनको उपलब्धि बमोजिम गरिएका व्यवस्थाले स्थापित गराइएका पदहरूमा पुगेका महिला नेताहरूलाई योग्यता, क्षमता र योगदानको आधारमा सामाजिक स्वीकारोक्ति नपाउँदा मन खिन्न हुनु स्वाभाविकै होला सायद । केही व्यवहारिक स्वीकारोक्तिबाहेक सन्तोषजनक उपलब्धिलाई संस्थागत गर्दै सम्पूर्ण क्षेत्रका महिलाहरू पूर्णमानव भएको अनुभूति गर्न पाउने अवस्थाको लागि थुप्रै सङ्घर्ष गर्नुपर्ने काम बाँकी नै छ ।

चर्चा गर्न लायक गौरवपूर्ण इतिहास आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रूपमा गरिएको महिला आन्दोलनको सन्देश बोकेर व्यवहारिक रूपमा धरातलमा पुग्नुपर्ने काम बाकी नै छ । आन्दोलन श्रोत साधनले भरिपूर्णताबाट सम्पन्न भएका इतिहास छैनन् आफ्नो आवश्यकता र आफ्नै बुतामा उभिएर लोभ र मोहबाट मुक्त भई महिलाहरूमा रहेको अन्तर्निहित अपार क्षमता उजागर गर्न थुप्रै सवालहरूमा व्यापक छलफल गरिनुपर्ने आजको आवश्यकता हो । वैज्ञानिक युगले मागेकै स्वरुपमा आन्दोलनको स्वरूप तय गर्न आवश्यक छ । यो वर्षको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसबाट ‘महिला हुनुमा गौरव गर्दै युगले सृजना गरेको अवसर उपयोगमा महिला स्वयममा रहेको अन्तर्निहित सृजनशीलताको सम्मान गर्ने स्वविवेकी र स्वाभिमानी महिला नेताले राष्ट्रको हरेक निकायमा जनसङ्ख्याको आधारमा नेतृत्व गर्न सकेको अवस्था निर्माण गर्न सकियोस् । हामी सबैलाई करोडौँ, अरबाैँ शुभकामना

  • क्रियाशील महिला नेतृ पौडेल राष्ट्रिय किसान आयोगका सदस्य तथा प्रवक्तासमेत हुन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *