मैदानमा पाकिस्तानी कप्तान मारुफको मातृत्व

काठमाडौँ । भारतीय राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरूले पाकिस्तानको राष्ट्रिय महिला क्रिकेट टिमकि कप्तान विस्माह मारुफ र उनकी छोरीसँग सेल्फि खिचिरहेको तस्वीर सामाजिक सञ्जालमा चर्चामा छ । गएको आइतबार पाकिस्तानलाई हराएका भारतीय खेलाडीले मारुफ र उनकी छोरी फातिमासँग सेल्फी खिच्दै संसारभरका लागि महत्वपूर्ण सन्देश दिए । त्यो सन्देश क्रिकेट र भारत पाकिस्तान सम्बन्धका लागि मात्र होइन आमा बनेपछि मैदानमा फर्किने हिम्मतका लागि पनि अर्थपूर्ण छ । यसैकारण अहिले पाकिस्तानी यी कप्तान विश्वभरिबाटै स्याब्बासी र हौसला पाइरहेकि छन् ।

विश्वभरि अन्तराष्ट्रिय महिला दिवस मनाउँदै गर्दा यो तस्वीर र यसको सन्देश झनै अर्थपूर्ण र सार्थक मान्न सकिन्छ ।

महिला विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा पाकिस्तान भारतसँग १०७ रनले पराजित भयो । पाकिस्तान पराजित भएपनि पाकिस्तानी कप्तान विस्माह मारुफ भने चर्चामा छिन् । ३० वर्षिय मारुफले आमा बनेपछि पाकिस्तानको राष्ट्रिय टीममा पुनरागमन गरेकी हुन् । त्यसपछि उनले आफ्नो मातृत्व र खेललाई सँगै दौडाउने प्रयास गरिरहेकी छन् । खेल र मातृत्वको उनको यहि नमुना कर्मका कारण उनको प्रंशसा र चर्चा चौतर्फी भैरहेको छ ।

मारुफ मातृत्व सँगै देशका लागि कर्तव्य निर्वाह गर्न मैदानमा उत्रिएकी ‘कान्छी’ आमा हुन् । गत अगस्टमा आमा बनेकी उनी आमा बनेपछि पुन: क्रिकेटमा फर्कने पहिलो पाकिस्तानी क्रिकेटर समेत हुन् ।

उनी १२ महिनासम्म बिदा मै बस्न पनि पाउँथिन् । तर उनले त्यो बिदा बस्न पाउने सुविधालाई वेवास्ता गर्दै विश्वकपबाट पुन क्रिकेटमा फर्किने निर्णय गरिन् । उनले छोरीको हेरचाहका लागि एक जना अतिरिक्त सहयोगी राख्न पाउँछिन् । उनको खर्च भने उनले र पाकिस्तान क्रिकेट बोर्डले संयुक्त रूपमा ब्यहोर्नुपर्नेछ ।

६ मार्चमा न्युजिल्यान्डको माउन्ट माउगानुईमा भएको खेलपछि भारतीय खेलाडीले मारुफ र उनकी सानी छोरी फातिमासँग खुशी साटासाट गरे । उनीहरूले फातिमासँग साटेको खुसी समेटिएको भिडियो सामाजिक सञ्जालमा चर्चामा छ । भारतीय खेलाडीहरू ऋचा घोष, हरमनप्रित कौर, शैफाली वर्मा, स्मृति मन्धना लगायतले मारुफ फातिमासँग समय बिताएका थिए ।

भारतीय महिला क्रिकेटका हरेकजसो सदस्यले फातिमासँग तस्बिर खिच्दै एक नयाँ सन्देश प्रवाह गरे । प्रतिद्वन्द्विताको भावना केवल खेल अवधिभर मात्र रहने कुरा पनि पुष्टि गरे ।

भारत र पाकिस्तानको खेललाई दुई देशको सम्बन्धका रूपमा पनि हेर्ने गरिन्छ । राजनीतिक रूपमा राम्रो सम्बन्ध बनाउन नसकेका यी दुई देशको खेल र कलाकारिता क्षेत्रले भने एक अर्कालाई कुनै न कुनै रूपमा जोड्दै पनि ल्याएको छ । यो घटना पनि त्यस्तै मध्येको एक कडी बन्न पुगेको छ । भारतीय खेलाडीहरूले पाकिस्तानी खेलाडीकी छोरीसँग साटिरहेको स्नेह र देखाएको सामिप्यता यी दुई देशको सम्बन्ध र खेलमात्र भन्दा पनि माथि पुगेको टिप्पणीहरू सामाजिक सञ्जालमा भइरहेका छन् ।

यो तस्वीर हेर्ने जो कोहीले यसको महसुस पनि गर्न सकिहाल्छ । अहिले दुबै देशमा खेलाडीको यो भावनाको खुलेर प्रशंसा भइरहेको छ । भारतीय खेलाडीले मारुफको यो प्रयासको सहराना गरेका छन् । विश्वचर्चित क्रिकेटरहरूले पनि मारुफको प्रंशसामा ट्विटहरू गरिरहेका छन् ।

भारतीय खेलाडीहरू मारुफ र उनकी छोरीसँग सेल्फि लिइरहेका तस्वीर अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले पनि सेयर गरेको छ । आईसीसीले यसलाई भारत पाकिस्तानको खेल कल्चर र भावनाका रूपमा लिएको छ ।

उनको पुनरागमनले पाकिस्तानकै छवीमा सकारात्मक असर पारेको छ । पाकिस्तानले एक आमालाई जसरी न्युजिल्यान्डमा बच्चासहित विश्वकपका लागि मैदान पठाउने स्वीकृति दियो त्यसलाई धेरै नै महत्वपूर्ण मानिएको छ ।

अस्ट्रेलियाविरुद्वको अर्धशतक छोरीको नाममा
भारतविरुद्व उल्लेख्य प्रदर्शन गर्न नसकेकी मारुफले आफ्नो दोस्रो खेलमा मंगलबार अस्ट्रेलियासँग ७८ रन बनाइन् । उनले जब ५० रन पूरा गरिन् छोरीतर्फ फर्किएर ब्याट उठाइन् र आफ्नो अर्धशतक छोरीलाई समर्पण गरिन् ।

एक आमा पुन मैदानमा फर्किनु आफैँमा ठूलो कुरा हो आफ्नो फर्मपनि सँगै फर्काउनु अझ ठूलो र चुनौतीपूर्ण कुरा हो । २०१९ को विश्वकप पछि पहिलोपटक मैदान फर्किदै गर्दा पनि उनले आफ्नो ब्याटिङ पावरलाई निरन्तरता त दिइन् नै साथमा विश्वलाई छोराछोरीका लागि कहिलेपनि मातृत्व खोस्नु हुन्न भन्ने अह्म सन्देश समेत दिन सफल भइन् । विश्वभरका महिलाका लागि प्रेरणाको पुञ्ज बनेकी उनी आमा भइसकेपछि मैदानमा फर्किन हिच्किचाउने खेलाडीका लागि त एक उदाहरण र हौसला पनि हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *