धन्यवाद दिनुपर्ने सर्जकलाई धम्की किन कमरेडहरू ?
काठमाडौँ । ‘सत्य’ तितो हुन्छ, फलत: यसलाई पचाउन गाह्रो हुन्छ ! प्रकाश सपूतको ‘पिर’ पछि सामाजिक सञ्जालमा बहस छेड्ने कमरेडहरू यही बताउँदै छन्, यही प्रमाणित गर्न खोज्दैछन् ।
सपूतले प्रतिकात्मक रूपमा ‘सत्य’ देखाउन खोजेका मात्रै छैनन्, धेरै हदसम्म देखाएकै पनि छन् । उनले सिर्जनामार्फत यस्तो ‘तिर’ हानेका छन्, जसले माओवादी सशस्त्र विद्रोह र खासगरी त्यसलाई नै सर्वस्व ठानेर लडेकाहरूमध्ये धेरैको अवस्थाबारे जानकार नभएका वा बुझ पचाइरहेका कमरेडहरू पुर्लुक्कै भएका छन् । जाे जाे घाइते भए, उनीहरू ‘पिर’का लायकहरू हुन् ! उनीहरू घाइते हुनैपर्ने मान्छेहरू हुन् र भइरहने पनि छन् । उनीहरू चाहन्छन्— हराउन थालेको ‘सत्य’ अब पुनः कसैले नदेखाओस्, नहेरुँ त्यसलाई, नसम्झाओस् काेही ! यथास्थितिकाे राजनीतिक भाष र संसदीय राजनीतिमै अभ्यस्त भएका कमरेडहरू अब विगतलाई सम्झिएर आफ्नो ‘मूड’ खराब गर्न चाहँदैनन् ।
बुद्धिमानीहरू धम्की दिँदैनन्, बरु त्यसमाथि विश्लेषण/विवेचना गर्छन्, निष्कर्ष निकाल्छन् र त्यहीअनुरूप बदलिन्छन् ।
सशस्त्र विद्रोहमा घाइते भएका, जिउमा गोली बोकेर बाँचिरहेका, आफ्नो परिवारबाट छुट्टिएका, आफ्नाहरू गुमाएका, सेना समायोजनमा अयोग्य ठहरिएकादेखि गीतले देखाएझैँ परिवार छाडेर परदेसिएपछि उतै बेपत्ता भएकाहरूबारे सोच्दै नसोचुँ त कमरेड ? तर, कमरेड ! विगतलाई भुल्न हुँदैन र स्वार्थी बन्नु हँदैन भनेर तपाईंहरू नै बारम्बार फलाकिरहनु हुन्छ, तपाईंहरु नै पटकपटक भन्नुहुन्छ— जनयुद्धको धङधङीबाट माओवादीबाट मुक्त हुनै हुँदैन, आफ्नो धरातल भुल्न हुँदै हुँदैन भनेर । उसो भए यो गीतमा देखाएको जस्तै हालतमा बाँच्न अभिशप्त ती विद्रोही, जनमुक्ति सेनाहरूबारे किन नसोच्ने कमरेड ? उनीहरूकाे धरातललाई किन बिर्सिने ?
हिजोको विद्रोही माओवादी यसबीचमा पटक-पटक सरकारको नेतृत्वमा पुग्यो । सुप्रिमो प्रचण्ड आफैँ दुईपटक प्रधान मन्त्री बने, तर माओवादीले संसदीय गणितको खेल मात्रै खेल्यो । सरकारमा हुँदा पनि हिजाेका ती आफ्ना सहयाेद्धाबारे केही साेच्याे ? प्रश्न त जहाँबाट पनि जसरी पनि उठाउन सकिन्छ कमरेड । कुरै मात्रै गर्ने हाे भने त कमरेड उहिल्यै आकाश खसिसक्थ्याे । माओवादी सरकारकाे नेतृत्वमा पुग्दा संक्रमणकालीन न्यायबारे के बाेल्याे ? के गर्याे ? उसलाई त बेपत्ता र घाइतेहरूको जानकारीसमेत छैन भन्ने गुनासो अब गुनासो मात्रै रहेन कमरेड, यथार्थ बनिसक्याे । सशस्त्र विद्रोहका घाइते, अपाङ्गता भएकाहरूको कारुणिक स्वर नेतृत्वले नसुनेको भन्ने कुरा बेठिक हो र कमरेड ? सपूतको गीतको सार यही होइन र ? सपूतले गीतको तेस्रो अन्तरामा देखाएझैँ नेतृत्व सहयोद्धाको समस्यालाई ‘फालेर हिँड्छ’ होइन र कमरेड ?
गीतमा देखिने अर्काे दृश्य, जसले कमरेडहरूलाई खुत्रुक्कै पार्याे ! एक विद्रोही महिला ‘देहव्यापार’मा लागेको दृश्य । यसलाई ‘प्रतिकात्मक आयाम’बाट बुझ्दा कसकाे के बिग्रन्छ ? यसरी पनि बुझ्न सकिँदैन र कमरेड ? हिजो व्यवस्था परिवर्तनका लागि आफ्नो ज्यान माया मारेर बन्दुक बोकेका महिला विद्रोहीहरू ‘देहव्यापार’ गर्नेसम्मको बाध्यताबाट पिरोलिएका छन् । अथवा भनौँ न— उनीहरू ‘देहव्यापार’सम्मको स्तरको दुःखजिलो गर्न बाध्य छन् । गीत वा भिडियोलाई प्रतिकात्मक मान्दा के भयाे ? यसलाई माओवादीमा लागेका विद्रोही महिलाहरू ‘देहव्यापार’ मा मात्रै लागेका छन् भनेर आफैँ कुव्याख्या किन गर्ने ?
गीतमा प्रयोग भएको ‘ऐय्या…’ शब्दको आफ्नै सौन्दर्य छ । ‘एैय्या, एैय्या…’ शब्दले दुखाइरहन्छ ! आज पनि हजारौं विद्रोहीहरू यसै भनेर बाँच्न विवश छैनन् र कमरेड ? त्याे फरक कुरा हाेला कि, कति सुनिएला त कति नसुनिएला । तर, उनीहरू आज पनि ‘ऐय्या’ भनेर त्यही विगतलाई सम्झन र सम्झिरहन बाध्य छैनन् र ? त्यो कारुणिक दुखाइमा मल्हम लागाउन अहिलेसम्म आफ्नो पार्टीले र पार्टी नै सामेल सरकारहरुले के के गरे त ? फेरि दाेहाेर्याउँछु— कुरै मात्रै गर्ने हाे भने त कमरेड उहिल्यै आकाश खसिसक्थ्याे ।
सिर्जनाका विषयमा धम्की दिनु वा रोक्नु भन्ने कुरा त कमरेड, कमजोरहरूले वा कायरहरूले गर्ने कुरा हो । अक्सर बुद्धिमानीहरू धम्की दिँदैनन्, बरु त्यसमाथि विश्लेषण र विवेचना गर्छन्, निष्कर्ष निकाल्छन् र त्यहीअनुरूप बदलिन्छन् । गल्ती वा कमजोरी औंल्याइदिएकाेमा धन्यवाद दिन्छन् । कमरेड धम्कीले विगत छोपिँदैन, सत्य ढाकिँदैन ।
तपाईंहरूले बिर्सिसकेकाे/भुलिसकेको एउटा सत्यलाई उजागर गरिदिएको र सच्चिने मौका दिएकोमा धन्यवाद पो दिनुपर्ने देखिन्छ पिरका सर्जकलाई । कमरेड ! त्यसैले एउटा सिर्जनासँग डराउने र सर्जकलाई धम्क्याउने होइन, बरु ‘पिर’ ले सम्झाइदिएको/देखाइदिएको बाटोतर्फ हिँड्नुस्/लम्किनुस् । के थाहा यो गीतले गर्दा भोट घट्ला कि भन्ने जुन डर तपाईंहरूमा देखिएको छ नि, सच्चिनुभयो भने यसले अझ भोट बढाउने अवसर पो दिन्छ कि ?