हुम्लामा जसपाका एक हजार बढी नेता-कार्यकर्ता माओवादीमा समाहित
सुर्खेत । हुम्लामा नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) बीच एकता भएको छ । आइतबार हुम्लाको सिमकोटमा भएको समायोजन घोषणा कार्यक्रमबाट यी दुई पार्टीबीच एकता भएको हो ।
माओवादी केन्द्र कर्णाली प्रदेश कमिटि अध्यक्ष विमला केसीले जसपाका स्थानीयदेखि केन्द्रीय स्तरसम्मका सदस्यहरूगरी एक हजार एकसय नेता तथा कार्यक्रता माओवादी पार्टीमा समयोजन भएको जानकारी दिइन् ।
अध्यक्ष केसीका अनुसार जसपाका विरजङ्ग शाहीसहित ४ जना केन्द्रीय सदस्य , १५ जना प्रदेश सदस्य, ८३ जना जिल्ला कमिटी सदस्य र जिल्लाभित्रका सबै स्थानीय तह अन्तर्गतका समिति सदस्यसहित पार्टी संरचनाका सदस्य गरि जम्मा एक हजार एकसय कार्यकर्ताहरु माओवादी केन्द्र मा समायोजन भएका छन् ।
यस्तै, विरजङ्ग शाहीको नेतृत्वमा रहेको जसपाको टोलीलाई एक कार्यक्रमसहित स्वागत गरिएको माओवादी कर्णाली प्रदेशले जनाएको छ । पूर्व माओवादीमै रहेका जसपाका नेता कार्यक्रताले गहिरो समीक्षा सहित महत्वपूर्ण निर्णय लिएर माओवादीमा समायोजन भएको बताइएको छ ।
पार्टी समायोजन पछि पार्टीलाई एकताबद्ध गर्दै समाजवादको आधार निर्माण गर्ने, पार्टी निर्माण गर्न विगतबाट शिक्षा लिएर वर्तमानमा पार्टी भित्र देखिने स्वार्थगत गुटहरूलाई निषेध गर्ने र पार्टीलाई संस्थागत विधीका आधारमा चलाउने जस्ता कुरामा उनिहरूले प्रतिबद्धता जाहेर समेत गरेको माओवादीले जनाएको छ ।